कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोलु प्रसारण लाइन विस्तारमा अवरोध

दुई दिनयता कटारी बजार र यातायात बन्द, घटनास्थलमा प्रदर्शन
प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप
डिल्लीराम खतिवडा

उदयपुर — दुई सातायता सुरक्षाकर्मी र कटारी नगरपालिका–४ मरुवाका स्थानीयबीच पटक–पटक झडप हुँदै आएको छ । सुरक्षाकर्मी परिचालन गरेर सोलु करिडोर प्रसारण लाइन विस्तार गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि झडप हुँदै आएको हो । मरुवावासीले विभिन्न माग राख्दै प्रसारण लाइन विस्तारमा अवरोध गर्दै आएका हुन् । 

सोलु प्रसारण लाइन विस्तारमा अवरोध

स्थानीयले प्रसारण लाइन विस्तारको एलाइमेन्ट परिर्वतन, क्षतिपूर्तिलगायत माग राख्दै आएका थिए । तर माग पूरा नगरी सुरक्षाकर्मी परिचालन गरेर विस्तारको काम अगाघि बढाइएपछि स्थानीय बासिन्दा दुई दिनयता सडकमा उत्रिएका छन् । राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना कटारी नगरपालिका हुँदै विस्तार गरिँदै छ । ३ वर्षयता स्थानीयको अवरोधका कारण रोकिएको प्रसारण लाइन विस्तारको काम सुरक्षाकर्मी परिचालन गरी केही दिनयता सुरु गरिएको हो ।

स्थानीयले प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याउँदै आएका थिए । जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटाउन सुरक्षाकर्मी परिचालन गरी काम अघि बढाएको हो । सुरक्षाकर्मी राखेर टावर निर्माण अगाडि बढेपछि विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच विवाद भएको सोलु करिडोर विवाद समाधान पहल समिति संयोजक केपी बरालले बताए । गृह तथा ऊर्जा मन्त्रालयमा पछिल्लोपटक गएको प्रतिनिधिमण्डललाई विवाद समाधान गर्ने बताइको थियो । तर सुरक्षाकर्मीले स्थानीयको आग्रहविपरीत काम अघि बढाएको भन्दै दुई दिनयता कटारी बजार, यतायात बन्द गर्ने तथा घटनास्थलमै गएर विरोध गर्ने गरिरहेको संयोजक बरालले बताए ।

मरुवामा सोलु करिडोरको विवाद समाधानका लागि पटक–पटक मन्त्रालयसम्म डेलिगेसन गए पनि अझै समस्या समाधान हुन सकेको छैन । लामो समयको विवादपछि मरुवा माविमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरी टावर गाड्ने क्रम जारी छ । मुआब्जा विवाद समाधान नभई प्रहरीले स्थानीयको धान खेत फाँडेर टावर गाड्ने काम अघि बढाएको छ । ‘मरुवावासीको अवमूल्यन गरियो,’ कांग्रेस कटारी नगर समिति सभापति गोपी पराजुलीले भने, ‘समस्या समाधान नगरी सरकार जबरजस्ती गरिरहेको छ ।’ आयोजनापीडित स्थानीयलाई उचित क्षतिपूर्ति दिएर सहमतिबाटै काम अगाडि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले बताए ।

प्रसारण लाइन विस्तार हुने क्षेत्रमा स्थानीयलाई मुअब्जा दिनका लागि मुअब्जा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले वताए । ‘मुअब्जा दिने व्यावस्था गरी काम अगाडि बढाइएको हो,’ प्रमुख जिल्ला अधिकारी सेढाईंले भने, ‘तर पनि स्थानीयले अवरोध गरेकाले सुरक्षकर्मी परिचालन गरेर काम बढाइएको हो ।’ त्यहाँका स्थानीयलाई कानुनले तोकिएभन्दा बढी जग्गाको मूल्यांकन गरी मुअब्जा दिने निर्णय भएको उनले बताए ।

प्रसारण लाइन विस्तारको ९८ प्रतिशत काम सकिएको छ । कटारी क्षेत्रमा निर्माण गरिने १० वटा टावरमध्ये ६ वटा निर्माण सम्पन्न भइसकेको र ४ वटा खेतमा पर्ने भएकाले गाड्ने क्रममा स्थानीयले अवरोध गरेका हुन् । प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलु खोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युत्मध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । स्थानीयको अवरोधपछि सोलु करिडोरको छैटौंपटक म्याद थप गरिएको हो । अहिलेसम्म प्रसारण लाइनको ३ सय २ वटा टावर निर्माण गर्नुपर्ने भए पनि २ सय ९८ वटा मात्रै निर्माण सम्पन्न भएको छ ।

सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको आयोजनामा स्थानीयको अवरोधपछि छैटौंपटक पुनः म्याद थप गरिएको हो । २०७२ चैतमा भारतीय मोहन इनर्जी कम्पनीसँग विद्युत् प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो ।

प्रकाशित : श्रावण १९, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?