कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै सकिएन गौरवको सडक आयोजना

कोरोना महामारी र स्रोतको अभावले काम गर्न कठिनाइ भएको गुनासो
देवनारायण साह

मोरङ — प्रदेश १ सरकारको एक मात्र गौरवको आयोजना विराटचोक–पुष्पलालचोक ४ लेन सडक आयोजना अझै पूरा हुन सकेको छैन । २२ किलोमिटर लामो उक्त सडक आयोजना गत आर्थिक वर्षको असार मसान्तसम्ममा सक्नुपर्ने थियो । मुख्यमन्त्री शेरधन राईले उक्त आयोजना समयमै पूरा गर्ने उद्घोष गरेका थिए ।

अझै सकिएन गौरवको सडक आयोजना

भौतिक पूर्वाधार विकास कार्यालय विराटनगरले दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी तीनवटा प्याकेजमा कुल १ अर्ब ७६ करोड १ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । विराटचोकदेखि नेताचोकसम्म १० किलो मिटर सडक निर्माणका लागि ६८ करोड ६६ लाख र नेताचोकदेखि मिलनचोकसम्मको १० किलोमिटर सडक निर्माणका लागि ६९ करोडमा श्रेष्ठ/रमण/एपेक्स जेभीले ठेक्का लिएको छ ।

हालसम्ममा विराटचोकदेखि नेताचोकसम्मको भौतिक प्रगति ६० र आर्थिक प्रगति ४७ दशमलव ३१ प्रतिशत भएको भौतिक पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजनराज रेड्डीले बताए । उनले नेताचोकदेखि मिलनचोकसम्ममा भौतिक प्रगति ८० र आर्थिक प्रगति ८३ दशमलव ६८ प्रतिशत भएको बताए । दुवै सडक खण्डको काम गत आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

यस्तै, मिलनचोकदेखि पुष्पलालचोकसम्म २ किलोमिटर सडक र केसलिया खोलामा पुल निर्माणका लागि लामा/बानियाँ जेभी कन्स्ट्रक्सनलाई ३८ करोड ३५ लाख रुपैयाँमा निर्माणका लागि ठेक्का दिएको छ तर त्यसको ३० प्रतिशत भौतिक र २५.५६ प्रतिशत आर्थिक प्रगति भएको रेड्डीले बताए । लामा/बानियाँ जेभीको काम गर्ने समय अझै एक वर्ष बाँकी छ । रेड्डीले विराटचोक–नेताचोक र नेताचोक–मिलनचोकको दुवै प्याकेजको सडक निर्माणका लागि पुस मसान्तसम्म ६ महिना म्याद थप गरिएको बताए ।

‘गत वर्ष नै पहिलो र दोस्रो प्याकेजको काम सम्पन्न गर्ने योजना भएको तर कोरोना महामारी र स्रोतको अभावले काम गर्न सुरुमा कठिनाइ भएकाले समयमा पूरा गर्न सकेनौं,’ उनले भने, ‘अहिले म्याद थप गरिएको ६ महिनाभित्र काम सम्पन्न गरेर पहिलो र दोस्रो प्याकेजको सडकको वैशाख १ गते उद्घाटन गर्ने योजनाका साथ काम अघि बढाएका छौं ।’ विराटचोक–नेताचोक सडक खण्डको आयोजना प्रमुख युवराज विष्टले गत वर्ष प्रदेश सरकारले समयमा बजेटको सुनिश्चितता गर्न नसकेकाले काम सम्पन्न गर्न समस्या भएको बताए । उनले यस वर्ष पुस मसान्तसम्ममा जसरी पनि सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाएको बताए ।

तीन वटै प्याकेजमा विद्युत् पोल सार्ने काम अन्तिम चरणमा पुगेको छ भने पहिलो र दोस्रो प्याकेजमा नाला निर्माणको काम सकिएको प्रमुख रेड्डीले बताए । पहिलो प्याकेजमा सब बेस राखेर कालोपत्र गर्ने र दोस्रो प्याकेजमा पहिलो लेयर कालोपत्र सकेर अब दोस्रो लेयर कालोपत्र गर्न मात्रै बाँकी रहेकाले यस वर्ष काम सक्न कुनै समस्या नहुने उनले बताए । मिलनचोक–पुष्पलालचोकसम्मको तेस्रो प्याकेजमा सडक निर्माणको काम चालु आर्थिक वर्षमा सक्ने र कुनै प्राविधिक कठिनाइ नआए पुलको कामसमेत पूरा गर्ने लक्ष्यका साथ काम अघि बढाएको उनले बताए ।

बजेट अभावमा समयमा काम पूरा हुन नसकेको उक्त आयोजनाको कुल १ अर्ब ७६ करोड १ लाखमध्ये हालसम्ममा १ अर्ब ३३ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ । चालु आर्थिक वर्षमा काम पूरा गर्न ७५ करोड ६८ लाख बजेट आवश्यक भएको तर प्रदेश सरकारले २० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको भौतिक पूर्वाधार विकास कार्यालयको तथ्यांकले जनाएको छ । त्यसैले यस वर्ष पनि बजेट अभावमा काम पूरा नहुने आशंका बढेको हो । भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख रेड्डीले तत्काल सरकारले २० करोड बजेट विनियोजन गरे पनि संघीय सरकारबाट ससर्त अनुदान थप भएर आउने भएकाले काम पूरा गर्न बजेट अभाव नहुने दाबी गरे ।

प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद पौडेलले अहिले २० करोड मात्रै बजेट विनियोजन गरिए पनि काम सम्पन्न भएपछि बजेट अभाव हुन नदिने प्रदेश सरकारको नीति रहेको बताए । उनले प्रदेशमा खर्च हुन नसक्ने बजेट र आर्थिक वर्षको अन्त्यमा संघीय सरकारबाट ससर्त अनुदान थप ल्याएर बजेट अभाव हुन नदिने परिकल्पना गरिएको बताए ।

प्रकाशित : श्रावण १४, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?