कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मोरङ कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

मोरङ

मोरङ — मोरङ कारागारका कैदीबन्दी हरेक रात सुत्न आलोपालो गर्छन् । एक जना कैदी बढीमा तीन–चार घण्टा सुतेपछि अर्कोलाई सुत्न पालो दिनुपर्ने बाध्यता छ । राति सुत्न पालो नपाउनेले बिहान र दिउँसो निद्रा पुर्‍याउनुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताएका छन् ।

शौचालय जान घण्टौं लाममा बस्नुपर्ने बाध्यता छ । मोरङ कारागारमा कैदी र थुनुवाको भीडले खुट्टा टेक्ने ठाउँसमेत नभएको उनीहरूको गुनासो छ । यहाँको पुरुष विभागमा २ सय ५० जना कैदी अटाउने क्षमता छ । तर बिहीबारसम्ममा ८ सय ८९ छन् । महिलातर्फ ५० जना राख्न सक्ने क्षमता छ । त्यहाँ पनि ६९ जना छन् । निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार मोरङ कारागारमा पुरुष र महिला गरी जम्मा ३ सय कैदी बन्दी राख्न सक्ने क्षमता भए पनि ९ सय ६० कैदी र थुनुवा छन् । क्षमताभन्दा तीनगुणा बढी कैदी र थुनुवा कोचेर राख्न परेकै कारण उनीहरूमा सुत्न पालो गर्नुपर्ने र शौच गर्न घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ ।

पुरुष कारागारमा जम्मा १७ वटा कोठा छन् । त्यसमध्ये मुस्किलले ४० जना अटाउने एउटा कोठामा १ सय १२ जना राखिएको छ । पोखरेलका अनुसार कोठा नम्बर एकमा ४ जना, दुईमा २५ जना, तिनमा ९१, चारमा ९६ पाँचमा ३३ जना राखिएको छ । महिलातर्फ तीनवटा कोठा छन् । कोठा एकमा २६, दुईमा २७ र तिनमा १८ जनालाई राखिएको छ । दुई नाबालक बालबालिका पनि छन् । कारागार सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीका अनुसार हरेक कैदी र थुनुवाले प्रत्येक रात तकिया र बिछ्यौना च्यापेर सुत्न पालो पर्खनुपर्ने अवस्था छ ।

कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणीका छन् जसमा एक महिलासहित २ सय ८९ थुनुवा र कैदी छन् । कर्तव्य ज्यानमा २१ महिलासहित १ सय ३२, लागूऔषधमा ५ महिलासहित २ सय, चोरीमा ४०, हातहतियार तथा खरखजनामा ११, ज्यान मार्ने उद्योगमा २ महिलासहित ३२, बहुविवाहमा ५ महिलासहित १४, मानव बेचबिखनमा १२ महिलासहित २७ जना र सवारीमा ४६ जना कैदीबन्दी छन् । कारागारमा उपसचिव प्रमुख भए पनि एक वर्षदेखि उपसचिव कृष्ण शर्मा कार्यालय आएका छैनन् । त्यसैगरी शाखा प्रमुख दुई वर्षदेखि हाजिर भएका छैनन् ।

निमित्त जेलर पोखरेलका अनुसार कारागारमा एक स्वास्थ्यकर्मीको दरबन्दी भए पनि दुई वर्षदेखि स्वास्थ्यकर्मी नहुँदा बिरामी हुने कैदीबन्दीको स्वास्थ्य परीक्षणका लागि दिनहुँ कोसी अस्पताल लैजानुपर्ने बाध्यता छ ।

प्रकाशित : श्रावण १, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?