आगलागीपीडितलाई बाढीको पनि चिन्ता- प्रदेश १ - कान्तिपुर समाचार

आगलागीपीडितलाई बाढीको पनि चिन्ता

भीरको फेदमा रहेको दोभान बजार बाढीसँगै आगलागीको जोखिममा
आनन्द गौतम

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका ३ दोभान बजारकी कल्पना तामाङलाई आगलागीपछि घर ठड्याउँदै गर्दा बर्खा कसरी काट्नुहोला भन्ने चिन्ता थियो । आगलागीको एक महिनापछि घर बनाउन थालेकी उनले सकेसम्म खोलाले असर नपुर्‍याउने गरी डिल उठाएर घर बनाइन् ।

दर्कने पानी परेर खोलो सुसाउन थालेपछि मन झसंग हुने गरेको छ । आगोको पीडाबाट तंग्रिन नपाउँदै बाढीको चिन्ताले पिरोल्ने गरेको हो । प्रदिप पोख्रेलको अवस्था पनि यस्तै छ । गत फागुन १८ गते बिहान लागेको आगोमा सारा सम्पत्ति गुमाएका उनले ऋण खोजेर टहरो ठड्याएका छन् । व्यापार गर्ने उद्देश्यले आगलागी भएकै ठाउँमा घर बनाएका उनलाई पनि वर्षे झरीले तर्साउने गरेको छ ।

फुङलिङ सदरमुकामदेखि १७ किलोमिटर दूरीमा रहेको दोभान बजार तमोर र मैवा नदीको बीचमा छ । यो ताप्लेजुङको निर्वाचन क्षेत्र १ र २ जोड्ने एक मात्र मुख्य बजार हो । यहाँ सदरमुकाम फुङलिङको जत्तिकै व्यापार हुने गरेको छ । नौवटा स्थानीय तह रहेको जिल्लाका आठराई त्रिवेणी, मेरिङदेन, मिक्वाखोला र मैवाखोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र हो । फुङलिङ नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दा पनि कारोबारका लागि यही पुग्छन् । तर यो बजार बाढी र आगलागीको जोखिममा छ । भीरको फेदमा रहेको बजारमा गत फागुन १८ गते आगलागी हुँदा ५० वटा घर जले । ४० करोड ५ लाख रुपैयाँ बराबरको क्षति भयो । २०७२ साल जेठमा आएको बाढीले बजारको तल्लो भाग बगाएर लग्यो । यहाँको चर्चित कान्छी रिसोर्टलगायत महँगा संरचना बगाइदियो । बजारका बासिन्दा फुङलिङ नगरपालिका तरेर कैयौं रात बिताए ।

बाढीपछि मैवाखोलालाई रोक्न तारजाली लगाएर सामान्य प्रयास गरिएको छ । ‘माथिबाट बाढी उर्लेर आएमा नभत्काउला भन्न सकिँदैन,’ मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यप्रसाद बराइली भन्छन्, ‘गाउँपालिकाको सानो बजेटले पार लाग्दैन, प्रदेश र केन्द्रसँग अनुरोधचाहिँ गरिरहेका छौं ।’ यहाँ जलउत्पन्न प्रकोप कार्यालयले तारजाली लगाउने ढुंगा भर्ने काम गर्दै आएको छ । यो नदी जलजले क्षेत्र भएर आउने गरेको छ ।

तमोर नदी तर्ने मोटरेबल पुल यहाँमात्रै भएकाले हरेक गाउँपालिका जाने सडक यहींबाट छुट्टिन्छ । खोलो उर्लेर आए मैवा मात्रै नभएर तमोरको पनि जोखिम छ । तर तमोरको तुलनामा मैवाखोलाको जोखिम बढी रहेको स्थानीय भोला पौडेल बताउँछन् ।

पीडिततलाई २१ लाख मेरिङदेन गाउँपालिका ३ दोभान बजारका अग्निपीडितलाई २१ लाख रुपैयाँ सहयोग गरिएको छ । ताप्लेजुङमा जन्मेर काठमाडौं बस्दै आएकाहरूले संकलन गरेको २१ लाख ४ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । संकलित रकम अग्निपीडितका सामुन्ने पूर्वमन्त्री योगेशकुमार भट्टराईले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेश चोङवाङलाई प्रदान गरे ।

भट्टराईको संयोजकत्वमा ‘दोभान बजार अग्निपीडित सहयोग समन्वय समिति गठन गरिएको थियो । सहयोग अभियानमा दोभान एकता समाज काठमाडौं, ओलाङचुङ समाज कल्याण परिवार, ताप्लेजुङ गुरुङ समाज काठमाडौं, अमर सेनेहाङ अमेरिका, मिस

मंगोल सिभिरा लामा, दावा शेर्पा र राजु साँबा इजरायललगायतले सहयोग गरेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवा बताउँछन् ।

प्रतिनिधिसभामा ताप्लेजुङबाट निर्वाचित भट्टराईले यसअघि व्यक्तिगत रूपमा ५ लाख रुपैयाँ प्रदान गरेका थिए । प्राप्त रकम क्षतिको वर्गीकरणका आधारमा पीडितलाई तत्कालै प्रदान गरिने गाउँपालिका अध्यक्ष चोङवाङले बताए । दोभानमा गत फागुन १८ गते बिहान आगलागी भएको थियो । आगलागीबाट ५० घर जलेको थियो भने ४० करोड ५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

प्रकाशित : असार २४, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

पाँचथरमा हत्याका अभियुक्त पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको फिदिम नगरपालिका ४ जोरसालका ७९ वर्षीय टेकबहादुर लिम्बुको हत्याका अभियुक्त पक्राउ परेका छन् । 

अभियुक्त फिदिम नगरपालिका २ पल्लोटारका ५९ वर्षीय जीवनारायण श्रेष्ठलाई प्रहरीले उनकै बासस्थानबाट पक्राउ गरेको हो । पाँचथरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाका अनुसार पक्राउपछि श्रेष्ठलाई बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

यान्त्रिक कार्यालय फिदिममा सुरक्षागार्डको रुपमा कार्यरत श्रेष्ठले धारिलो हतियार प्रहार गरी गत जेठ २९ गते लिम्बूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थापाले बताए । साँध सिमानाको विषयमा पटक/पटक विवाद हुने गरेका उनीहरुबीच घटना भएको दिन दिउँसो खेतमा ब्याड राख्ने क्रममा पानीको विषयमा विवाद भएको थियो ।

प्रकाशित : असार २३, २०७८ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×