कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कबुलियती वनको विरोधमा प्रदर्शन

नगरपालिका तोडफोड, अश्रुग्यास र हवाई फायर 
६ प्रहरी घाइते, ६ प्रदर्शनकारी नियन्त्रणमा 
डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको बेलका नगरपालिका कार्यालयमा तोडफोड भएको छ । सर्वसाधारण बसोबास गर्दै आएको जग्गालाई कबुलियती वन बनाउन सिफारिस गरेको भन्दै बेलका नगरपालिका–३ कोसी टप्पु क्षेत्रका बासिन्दाले बुधबार नगरपालिका तोडफोड गरेका हुन् ।

कबुलियती वन बनाएको विषयमा छलफल गर्न करिब ३ सयको संख्यामा नगरपालिका आएका सर्वसाधारण तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ । तोडफोडमा उत्रिएका सर्वसाधारणले नगरपालिकाको एउटा जिपको सिसा फुटाएका छन् । नगरपालिका भवन पनि तोडफोड गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए । स्थिति नियन्त्रणमा लिने क्रममा प्ररीले ८ राउन्ड हवाई फायर, ६ सेल अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ ।

के हो विवाद ?

सरकारले बेलका नगरपालिका–३ कोसीटप्पु क्षेत्रको जग्गा कबुलियती वनका रूपमा दिएको थियो । पर्यटन, उद्योग सञ्चालनका लागि दुई निजी कम्पनीलाई ३० वर्षका लागि कबुलियती वनका रूपमा दिएको हो । सर्वसाधारण बसोबास गर्दै आएको टप्पु क्षेत्रको जग्गा कबुलियती वन बनाउन दिएको हो । वर्षौंदेखि सर्वसाधारणले भोगचलन गर्दै आएको जग्गा कबुलियती वन बनाउन दिएकोमा स्थानीयले विरोध गरेका छन् । मन्त्रिपरिषद्को २०७८ जेठ ६ गतेको निर्णयले टप्पु क्षेत्रको १ सय ७६ दशमलव २३ हेक्टर जग्गा कबुलियत वन बनाउन दिइएको हो ।

पर्यटन उद्योग सञ्चालन गर्ने गरी वार्षिक रूपमा तोकिएको दस्तुर तिर्ने गरी बराह हर्बल एन्ड एग्रो प्रालि सुनसरी र सेफवे टेक्नोलोजी प्रालि ललितपुरलाई ३० वर्षका लागि दिइएको हो । कबुलियती वन बनाउन दिएको जग्गामा पूर्वमा पौरखी सामुदायिक वन, पश्चिममा एबीसी टप्पु जाने बाटो, उत्तरमा रामपुर जाने बाटो र दक्षिणमा गिदेरी दोभान जाने बाटो चार किल्ला उल्लेख गरिएको छ । कबुलियती वन बनाएबापत ती दुई कम्पनीले सरकारलाई करिब ९ लाख ६९ हजार २ सय ६५ रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ । यसमा प्रतिवर्ष १० प्रतिशतका दरले वृद्धि हुँदै जाने सम्झौतामा छ ।

कबुलियती वन बनाउन दिएको चार किल्लाभित्र ४–५ सय परिवारको बसोबास रहेको स्थानीय प्रकाश बुढाथोकीले बताए । ‘सरकारले दिएअनुसार कबुलियती वन बनाइए करिब ५ सय घर परिवारको उठिबास हुन्छ,’ उनले भने । उक्त जग्गा सुनसरी र उदयपुर दुई जिल्लाको विवादित जग्गा हो । यो क्षेत्र कुन जिल्लाको हो भन्ने विवाद रहेको त्यहाँको सिर्जना टोल विकास संस्थाका अध्यक्ष प्रदिप थापाले बताए । ‘उदयपुर कि सुनसरी भन्ने विवाद नै टुंगिएको छैन,’ थापाले भने, ‘अहिले सर्वसाधारण बसोबास गर्दै आएको जग्गा कबुलियत वन बनाउन दिइएको छ ।’

वर्षौंदेखि सर्वसाधारण बसोबास गरेको जग्गा कबुलियती वनमा परिणत गरेर बस्ती उठाउन खोजेको स्थानीयको आरोप छ । वन बनाउन बेलका नगरपालिकाले सिफारिस दिएर सहयोगी भूमिका खेलेको स्थानीयले बताए । कोसी टप्पु क्षेत्रमा बाढी पीडित, सुकुम्बासी र बसाइँसराइ गरेर आएका सर्वसाधारण बसोबास गरेको छ । अहिले उक्त क्षेत्रमा बसोबास गर्नेलाई व्यवस्थित गर्ने भनेर भूमि आयोगले काम समेत गरिरहेको टोल विकास संस्थाका अध्यक्ष थापाले बताए ।

कबुलियती वन बनाउन बेलका नगरपालिका र ३ नम्बर वडा कार्यालयले सिफारिस गरेको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले बताए । पर्ती, ऐलानी, नदी उकास, ससान बुट्यान भएको वन क्षेत्रको जग्गालाई कबुलियत वन बनाउन सिफारिस माग गरिएअनुसार नगरपालिकाले सिफारिस दिएको सहायक वन अधिकृत साहले बताए नगरपालिका प्रमुख दुर्गाकुमार थापाले विज्ञप्तिमार्फत नगरपालिकाको १, २, ३, ८ र ९ को दक्षिणी सिमानामा रहेको समथर भूमिलाई कबुलियत वन बनाउन सिफारिस नगरेको बताएका छन् । नगरपालिकाले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी भूमिहीन किसानलाई जग्गाको मालिक बनाउने अभियानलाई सार्थक बनाउन जग्गाको लगत संकलन गरी नापी भइरहेको र चाँडै जनतालाई जग्गा धनीपुर्जा दिइने उनले जनाएका छन् ।

नदी उकास जग्गा, सरकारी वन संरक्षण गर्न हेतुले सरकारी नियमबमोजिम सरकारी वन क्षेत्र कबुलित वनका लागि सिफारिस गरेको सहायक वन अधिकृत साहले बताए ।

प्रकाशित : असार २२, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?