कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हलेसीगढी क्षेत्रको वन मासेर खेल मैदान बनाउने विरुद्ध अख्तियारमा उजुरी

डम्बरसिं राई

खोटाङ — ऐतिहासिक हलेसीगढी क्षेत्र र त्यहाँको सरकारी जंगल मासेर खेल मैदान बनाउन थालेको भन्दै सोमबार अख्तियार आयोगमा उजुरी परेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटडाडाँस्थित हलेसीगढी क्षेत्रमा पर्ने सरकारी वन विनास गरी खेल मैदान बनाउन थालिएको भन्दै उजुरी परेको हो ।

हलेसीगढी क्षेत्रको वन मासेर खेल मैदान बनाउने विरुद्ध अख्तियारमा उजुरी

साविक दुर्छिम गाविस–१ कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना एक पैसा एक दाम क्षेत्रफलको सरकारी जङ्गलमा भएको करिब एक सय भन्दा बढी रुख काटिएको उजुरीमा उल्लेख छ ।

यसबाहेक ऐतिहासिक हलेसीगढीको पुरातात्विक महत्व हराउने, पर्यटकीय आकर्षणमा हराउने, वन विनासले वातावरण प्रदूषण हुने गरी खेल मैदानका लागि हलेसीगढी क्षेत्रको सरकारी वन एक्साभेटरले भत्काउँन थालिएकाले यसमा संलग्नलाई कारबाही हुनु पर्ने भन्दै अख्तियार आयोगमा उजुरी दिनु परेको स्थानीय इच्छाराम राईले बताए ।

उजुरीमा हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारी र खेल मैदान निर्माण उपभोक्ता समिति अध्यक्ष विक्रम राईलाई विपक्षी बनाइएको छ।

नगरपालिकाका वैशाख १९ गतेको बैठकले उक्त क्षेत्रमा खेल मैदान बनाउने निर्णय गरेको थियो । त्यसै आधारमा हलेसी तुवाचुङ नगरपालिका–५ का विक्रम राई अध्यक्ष रहेको खेल मैदान निर्माण उपभोक्ता समिति गठन गरी आइतबारदेखि एक्साभेटरले भत्काउन थालिएको थियो ।

उक्त क्षेत्रमा खेल मैदान बनाउने नगरपालिकाको निर्णय लगत्तै स्थानीयले डिभिजन वन कार्यालय खोटाङ र वन तथा भूसंरक्षण विभाग बबरमहल, काठमाडौंमा उजुरी दिए पनि त्यसलाई बेवास्ता गरिएकाले अख्तियारमा उजुरी दिइएको राईले बताए ।

प्रकाशित : असार १४, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?