१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

असिनाले किबी क्षति भएपछि राहत खोज्दै किसान

करिब १ हजार ६ सय रोपनीमा लगाइएको बाली नोक्सान
विप्लव भट्टराई

इलाम — किबी उत्पादनका लागि अग्रणी इलामका किसान असिनाले बगान नष्ट भएपछि समस्यामा परेका छन् । गत वैशाखमा नै आएको असिनाका कारण किबीमा नराम्रो क्षति भएपछि कृषकले राहतको माग गरेका छन् । कृषि ज्ञान केन्द्रले क्षतिको यकिन विवरण निकालेर सम्बन्धित निकायमा राहतका लागि पठाए पनि हालसम्म कुनै कारबाही हुन सकेको छैन । 

असिनाले किबी क्षति भएपछि राहत खोज्दै किसान

२० वर्षयताकै ठूलो असिनापानीले किबीसहित अलैंचीमा पनि क्षति पुर्‍याएको छ । जस्ताको छानो छेड्ने गरी आएको असिनाले लटरम्म फलेको किबी सखाप भएको छ । ‘किबीको बोट वयस्क भएर फूल र चिचिला मज्जा लागेका बेला असिनाले नराम्ररी प्रभाव पार्‍यो,’ सन्दकपुर ५ तालगाउँका कृषक गोपाल खतिवडाले भने, ‘यो पटकको उत्पादनमा ९० प्रतिशतभन्दा धेरै क्षति भएको छ भने आगामी ३ वर्षको उत्पादनमा यसको असर रहन्छ ।’

सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरका केही क्षेत्रमा असिनाको व्यापक असर देखिएको छ । धेरै किबी उत्पादन हुने सन्दकपुरको तालगाउँ क्षेत्रका किसानले लाखौं मूल्य बराबरको उत्पादन नष्ट भएको बताए ।

तालगाउँ क्षेत्रमा मात्रै वार्षिक एक लाख किलोभन्दा धेरै किबी उत्पादन हुने गरेको छ । तर असिनाले सबै बगानमा क्षति पुर्‍याएकाले लगानी नै जोखिममा परेको किसानको भनाइ छ । पटक/पटक बाली विमाका लागि पहल गर्दा पनि गर्न नसक्दा बगान नष्ट हुँदा रित्तो हात बस्नुपर्ने अवस्था आएको अगुवा कृषक तारामणि खतिवडाले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र इलामले असिनाको क्षतिबारे तथ्यांक संकलन गरेको छ । जिल्लाका करिब एक हजार ६ सय रोपनी क्षेत्रमा लगाइएको किबी बालीमा क्षति भएको र सोही अनुरूप राहतका लागि केन्द्रमा प्रस्ताव गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । असिनाले ६ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान छ । २०६४ सालमा इलाम किबी खेती सुरु भएर कृषक व्यावसायिक रूपमा लागेका हुन् ।

पछिल्लो सयक कृषकले गुणस्तरीय उत्पादनमा जोड दिइरहे तापनि प्राकृतिक प्रकोप, दक्ष प्राविधिकको अभाव जस्ता समस्या खेप्नु परेको छ । यहाँका कृषकले व्यावसायिक रूपमा बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

प्रकाशित : असार १२, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?