२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रदेश १ मा आर्थिक विधेयक सर्वसम्मतले पारित

देवनारायण साह

मोरङ — प्रदेश १ सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७८ समेत सर्वसम्मतले पारित भएको छ । 

प्रदेश १ मा आर्थिक विधेयक सर्वसम्मतले पारित

आर्थिक विधेयकको छलफलका क्रममा जनता समाजवादी पार्टीका नेता जयराम यादवले विधेयकमा कोभिड १९ ले प्रभावित उद्योगहरुका लागि विशेष छुटको व्यवस्था गरिनु राम्रो पक्ष भएको बताएका छन् ।

‘प्रदेशमा राजश्वको दायरा बढाउन नसकेकोले संघमा आश्रित बजेट प्रदेश सरकार ल्याउन बाध्य छ,’ उनले भने, ‘यो विधेयक गत, विगत वर्षकै कपी पेष्ट भएर आएको छ । कुनैपनि राजश्वको शिर्षक थपघट नगरी ल्याउनु उचित हो ?’

प्रदेश सरकारले कुन कुन करमा छुट भयो र कुनकुन शिर्षकमा थप गरियो भन्ने प्रदेशवासीको जिज्ञासाको यो विधेयकले जवाफ दिन नसकेको यादवको भनाइ थियो । कर तिर्न प्रदेशवासीलाई प्रोत्साहित गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याउन नसक्नु ठूलो कमजोरी भएको उनले बताए । प्रदेशलाई आत्मनिर्भर कसरी बनाउनेतर्फ प्रदेश सरकारलाई ध्यान पुर्‍याउन उनको आग्रह थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाङले यस प्रदेशको आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि करको दायरा बढाउनका लागि विज्ञसहितको राजश्व अध्ययन समिति गठन गर्ने व्यवस्था गरेको बताएका छन् । ‘प्रदेशलाई कर उठाउने दायरा सिमित छ,’ उनले भने, ‘त्यसमा पनि एकल र सझा अधिकार सूचीका कानूनहरु नबनिसकेकोले पनि करको दायरा बढाउन अप्ठयारो अवस्था निर्माण भएको छ ।’

‘४ अर्ब ९ करोड आन्तरिक स्रोतको अनुमानित लक्ष्य अगामी वर्षको बजेटमा रहेकोले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यसलाई बढाउनुको विकल्प छैन,’ उनले भने, ‘स्वायत र स्वतन्त्र हिसाबले चल्नु पर्नेमा पूरानो जिल्ला विकास समिति जस्तो अहिले प्रदेश सरकारहरुले संघले दिएको अनुदानलाई चालु र पूँजिगतमा बाँड्ने काम मात्रै गर्न बाध्य छ ।’

छलफलपछि मन्त्री आङ्बोहाङले प्रदेशसभामा आर्थिक विधेयक पारितका लागि गरेको प्रस्ताव सर्वसम्मतिले ध्वनी मतबाट पारित गरियो । प्रदेशसभाको अर्को बैठक आउँदो शुक्रबार अपरान्ह १२ बजे बस्नेछ ।

प्रकाशित : असार ९, २०७८ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?