कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा बजेटमाथि छलफल सुरू

देवनारायण साह

मोरङ — प्रदेश १ का आर्थिक मामिला तथा योजनना मन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमाथि सोमबारबाट छलफल सुरु भएको छ । छलफलमा सत्तारुढ र विपक्षी दलका प्रदेशसभा सदस्यहरुले कोभिडले थलापरेका आर्थिक क्षेत्रको पुनरुत्थानका लागि बजेट विनियोजन नगरेको भन्दै आलोचना गरेका छन् ।

प्रदेश १ मा बजेटमाथि छलफल सुरू

सत्तारुढ दल एमालेका प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले कोरोना केन्द्रित भनिए पनि फजुल खर्चमा बजेट बढी विनियोजन भएको टिप्पणी गरेका छन् । ‘सवारी साधन खरिद तथा मेसिनरी औजारमा ८२ करोड ४० लाख ९६ हजार र गाडी खरिदमा मात्रै २९ करोड ७० लाख बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिदमा १ करोड ४५ लाख ८० हजार र तालिम गोष्ठीमा मात्रै ३६ करोड ५६ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।’

अनुगमन मूल्यांकनमा ११ करोड, विविधअन्तर्गत मनोरञ्जन, प्रदर्शन, चियापान, भोजमा ८ करोड ७९ लाख ६५ हजार र सांस्कृतिक पूजापाठ, यज्ञमा ३१ करोड ९२ लाख ३० हजार बजेट विनियोजन गरेर फजुल खर्च बढाएको भन्दै राईले टिप्पणी गरे । ‘विकास निर्माणमा कूल बजेट १० अर्ब मात्रै विनियोजन गरेर बाँकी बजेट यी यस्तै फजुल खर्चमा बजेट विनियोजन गरिनु उचित होइन,’ उनले भने, ‘मन्त्रीले नभई कर्मचारीले बजेट लेखेकोले यस्तो अवस्था सिर्जना भएको हो ।’

सत्तारुढ दलकै प्रदेशसभा सदस्य लक्षमण तिवारीले ठोस उपलब्धी हुने योजनाभन्दा साना र टुक्रे योजनामा बजेट छरेको टिप्पणी गरेका छन् । ‘सरकारले कर्मचारी र पदाधिकारीको भत्ता काटेको छ तर पूजापाठ, भोजभतेर, मनोरञ्जनका लागि करोडौंको बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘कानुनमा भएको व्यवस्था विपरित प्रदेशसभामा बिदाका दिन पनि खटिने कर्मचारीको र प्रदेशसभाको समितिको बैठक भत्ता काटिनु उपयुक्त होइन ।’ चालू आर्थिक वर्षमा ३० करोडको औषधि खरिद गरेको सरकारले आउँदो आर्थिक वर्षका लागि ७ करोड बजेट विनियोजन गरेर स्वास्थ्य क्षेत्र केन्द्रित बजेट ल्याएको कसरी भन्न मिल्ने भन्दै तिवारीले प्रतिप्रश्न गरे ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले आय स्रोतको सुनिश्चितता बिना बजेट निर्माण, कार्यान्वयनको आधारै तयार नगरी बजेट विनियोजन, आवश्यकता र प्राथमिकतालाई ख्यालै नगरी दबाबमा बजेट ल्याएकोले प्रतिफल प्राप्त नहुने टिप्पणी गरेका छन् ।

विपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक पुनरुत्थानका निम्ति एक रुपैयाँ पनि प्रदेश सरकारले विनियोजन नगरेको टिप्पणी गरेका छन् । ‘कूल जीडीपीको १९ प्रतिशत हिस्सा राख्ने लघु तथा साना उद्योग सञ्चालनका लागि बजेट विनियोज नहुनु दुःखद हो,’ उनले भने, ‘४६ खर्बको जीडीपी रहेको अवस्थामा आर्थिक पुनरुत्थानमा बजेट विनियोजन नगरेको अवस्थामा ३ दशमलव ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हास्यास्पद भएको मन्त्री ज्यूलाई सच्याउन आग्रह छ ।’

स्वास्थ्य क्षेत्रमा असाध्यै न्यून बजेट विनियोज गरिनुका साथै कोभिड १९ रोकथाम र नियन्त्रणका लागि कुनै कार्यक्रम नै नभएको उनले टिप्पणी गरे । ‘एउटा गरिबलाई कोभिड लाग्यो भने कसले उपचार गरिदिने त्यसका लागि खै बजेट ?,’ उनले भने, ‘प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकता नभइ भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।’ शिक्षातर्फ आधारभूत तहहरुको स्तरोन्नतिका लागि सरकारको ध्यान गएको बजेट नदेखिएको भन्दै उनले टिप्पणी गरे ।

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

प्रकाशित : असार ७, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?