कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन क्षेत्रको लगानी जोखिममा

करोडौं खर्चेर थालिएका पूर्वाधार अलपत्र
विप्लव भट्टराई

इलाम — इलामका डम्बर खड्काले पर्यटकीय स्थल कन्याममा आकर्षक रिसोर्ट बनाउन कस्सिए । ५५ रोपनी जमिन खरिद गरेर उनले होटल, क्यासिनो, सपिङ मल, बुद्धको विशाल मूर्ति स्थापनासहित आकर्षक पार्क र मिनी रेल सञ्चालन गरेर देशविदेशवाट आउने पर्यटकको बसाइलाई लम्ब्याउने उनको लक्ष्य छ ।

पर्यटन क्षेत्रको लगानी जोखिममा

करिब डेढ अर्ब रुपैयाँको लगानीमा संरचना निर्माण गर्न बैंकहरूसँग मिलेर लगानीको व्यवस्था मिलाइसकेका खड्का कोभिड–१९ कारण अहिले अन्योलमा छन् । ‘अघिल्लो वर्षकै कोभिडले काममा प्रभाव पार्‍यो,’ उनले भने, ‘यो पटक झन् जटिल अवस्था आएपछि त लगानी कसरी गर्नु भन्ने लाग्न थालेको छ ।’ उनले योजनाको डिटेल इस्टिमेट र मास्टर प्लान सबै बनाइसकेका छन् । पूर्वाधारका काम गर्न रड, सिमेन्ट, गिट्टी, बालुवालगायतका निर्माण सामग्री पनि जम्मा गरिरहेका खड्काले अहिले काम अघि बढाउन भने सकेका छैनन् ।

कन्यामदेखि फिक्कल जाने मेची राजमार्गनजिकै उनले यो संरचना निर्माण थालेका हुन् । भवनका लागि कतिपय घडेरी पनि उनले तयारी गरिसकेका छन् । ‘त्यत्तिकै बसौं अहिलेसम्म गरेको लगानीको चिन्ता, काम अघि बढाऊँ कोभिडको बढ्दो त्रास,’ उनी भन्छन् । मेची राजमार्गसँग जोडिएको क्षेत्र, नजिकैको कन्याम चिया बगान, हिमशृंखलासहित तराईका भूभाग र सीमापारि भारतको मिरिक, दार्जिलिङ र जिल्लाका अनेकन् स्थान देख्न सकिने भूभाग भएकाले सहज अवस्था हुँदा उत्कृष्ट गन्तव्य हुने निष्कर्षमा पुगेर खड्काले यस्तो योजना बनाएका हुन् ।

उनको योजनाअनुसार सबै संरचना निर्माण भएपछि ५ हजार जनाले घुमघामसहितका सुविधा लिने र सयौंले रोजगारी पाउनेछन् । पर्यटनवाट दिगो रूपमा आम्दानी लिँदै रोजगारी सिर्जनामा लागेका यहाँका धेरै उद्यमी कोभिडले दोधारमा छन् ।

लामो समयदेखि इलाम बसपार्कमा घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका विजय राईलाई पनि कोभिडका कारण उत्पन्न परिस्थितिले नराम्ररी प्रभावित पारेको छ । करिब ४ करोड रुपैयाँ खर्चेर उनले आकर्षक सभाहलसहित होटल सञ्चालनमा ल्याउनासाथ दोस्रो लहरको कोभिडको मार खेप्नु पर्‍यो । राम्रो सेवा सुविधा दिँदै कामदारहरूको पनि व्यवस्था गरेर होटलको उद्घाटन गरेलगत्तै बन्द गर्नुपर्दा बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ । ‘समग्र व्यवसायीहरूको लगानी सुरक्षित गर्न सरकारले कृषिलगायत क्षेत्रमा गरेझैं अनुदानका कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘यो सँगै सहुलियत कर्जा प्रदान गर्दै सरकारले ल्याएको १० दिनको कर्मचारी घुमघाम गर्नुपर्ने कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।’

अघिल्लो वर्षको लामो सन्नाटापछि गएको दसैंदेखि कन्याम र अन्तुमा पर्यटक आउन सुरु गरेका थिए । बैंकको किस्तासमेत तिर्न हम्मे परेको गुनासो गर्ने व्यवसायीले छोटो समयमा नै राम्रो पुनरागमन गरे पनि दोस्रो लहरको कोरोना महामारीसँगैको निषेधाज्ञाले आवागमन फेरि ठप्प हुँदा नोक्सानी बेहोर्नुपर्ने अवस्था आएको हो ।

‘कोसेली घर सब्जी बिक्री गरेरै दैनिक एक लाख रुपैयाँसम्मको कारोबार हुन्थ्यो,’ कन्यामछेउ हर्कटेकी व्यवसायी हेमु भुजेलले भनिन्, ‘गएको शनिबारदेखि आन्तरिक पर्यटक कम आउन थालेपछि कारोबार ह्वात्तै घटेको छ । पूर्वको पाथीभरादेखि फिक्कल क्षेत्रमा २ सय धेरै कोसेली घर सब्जी पसल छन् । घुमघामका लागि आउने पर्यटकले चिया, छुर्पी, ललिपप, सागसब्जीलगायत खरिद गरेर लैजाने गर्छन् । यसको प्रत्यक्ष फाइदा ग्रामीण क्षेत्रका उद्यमी र कृषकसम्मलाई पुग्ने गरेको छ ।

कन्यामका झन्डै एक सय घोडा व्यवसायी, अन्तुलगायतका दर्जनौं होमस्टे पनि पर्यटक आवागमन न्यून हुँदै जाँदा प्रत्यक्ष मारमा परेका छन् ।तर कोरोनाका कारण पर्यटक नै नआउँदा भने सबैलाई समस्या हुने गरेको छ । सूर्योदय उद्योग वाणिज्य महासचिव तथा होटल व्यवसायी महासंघ १ नं. प्रदेशका सहकोषाध्यक्ष राजन प्रधान यही अवस्था रहिरह्यो भने व्यवसायी पलायन हुनुको विकल्प नरहेको बताउँछन् । ‘अघिल्लो वर्ष पनि राज्य तहबाट राहत महसुस हुने गरी छुट पाइएन,’ उनले थपे, ‘यो पटक पनि व्यवसायीका लागि ठोस कार्यक्रम नआए पुनः व्यवसाय सञ्चालनमा ल्याउनै हम्मे पर्छ ।’

जिल्लामा ४ सय ५० वटा होटल रहेको तथ्यांक छ । यी होटलमा २ हजार ३ सय जनाले रोजगारी पाएका छन् । ‘यही अवस्था रहेमा ठूलो मात्रामा बेरोजगारीको समस्या निम्तिनेछ,’ होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले भने । जिल्लामा गत वर्ष प्रतिमहिना ७२ करोड रुपैयाँ घाटा भएको संघको तथ्यांक छ । जिल्लामा ३ लाखदेखि ५ लाख रुपैयासम्मको लगानीका २ सय वटा, १० देखि २० लाख रुपैयासम्म लगानीका १ सय ९० वटा र १ करोड देखि १० करोड रुपैयाँसम्म लगानीका ६० वटा होटल छन् ।

प्रकाशित : असार ४, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?