कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा सहयोग जुटाएर अक्सिजन बैंक स्थापना

अर्जुन राजवंशी

बिर्तामोड — झापामा सहयोग जुटाएर अक्सिजन सिलिन्डर बैंक स्थापना गरिएको छ । पाँच सय वटा सिलिन्डरसहितको अक्सिजन बैंक बुधबारदेखि सञ्चालनमा आएको हो । कोभिड संक्रमितलाई अक्सिजन अभाव हुन नदिन जेठ १ देखि जिल्लामा सिलिन्डर सहयोग अभियान सुरु भएको थियो । जिल्लास्थित ‘एकका लागि एक’ अभियानले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियान सुरु गरेको थियो ।

झापामा सहयोग जुटाएर अक्सिजन बैंक स्थापना

अभियानअन्तर्गत बुधबारसम्म एक हजार २५ वटा सिलिन्डर बापतको सहयोग रकम संकलन भएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । सोमध्ये तत्काललाई ५ सय वटा सिलिन्डर खरिद गरेको उनले बताए । ४० लिटर क्षमताका सिलिन्डर चीनबाट खरिद गरी ल्याइएका हुन् ।

अभियानमा प्रतिसिलिन्डर १५ हजार रुपैयाँका दरले सहयोग रकम जुटाइएको छ । अभियानमा सबैभन्दा धेरै सहारा नेपाल साकोस तथा अन्तर्राष्ट्रिय झापाली समाजले एक/एक सय वटा सिलिन्डर सहयोग गरेका छन् । अक्सिजन बैंकबाट सर्वसाधारणले नगद ८ सय रुपैयाँमा एउटा सिलिन्डर प्राप्त गर्न सक्ने बैंक सञ्चालन समितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिए । ‘हामीले अक्सिजन रिफिल गरेको र ढुवानी खर्च मात्र लिइरहेका छौं,’ उनले भने,‘सामान्य प्रक्रिया पुरा गरेपछि कोभिड मात्र नभई अक्सिजन आवश्यक हुने सबै किसिमका विरामीले सिलिन्डर प्राप्त गर्न सक्छन् ।’ अक्सिजन सिलिन्डर वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन कार्यविधि निर्माणको काम भइरहेको उनले बताए ।

अभियानले प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका आइसोलेसन सेन्टर र डाक्टरको पुर्जा एवं समन्वयमा अक्सिजन सिलिन्डर कोभिड तथा नन–कोभिड विरामीलाई वितरण गरिरहेको संयोजक गिरीले बताए । अभियानले ठूलो मात्रामा सिलिन्डर खरिद गरी ल्याएपछि जिल्लामा अक्सिजन अभावको सम्भावना तत्काललाई टरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको भनाइ छ । ‘अस्पतालहरुसँग केही सिलिन्डर छन् । उद्योगी व्यापारीले पनि सिलिन्डर चलाउन दिएका छन् । अभियानले पनि खरिद गरेर ल्याएको छ । यसले तत्काललाई झापामा अक्सिजन सिलिन्डरको अभाव नहुने अवस्था छ,’ उनले भने ।

प्रजिअ तिमिल्सिनाले जिल्लामा तत्काललाई सिलिन्डर पर्याप्त भएपनि अक्सिजन प्लान्टको अभाव रहेको बताए । ‘झापाको लागि अक्सिजन रिफिल गर्न सिलिन्डर सुनसरी पठाउनुपर्ने बाध्यता छ । यसैगरी अभियानले अक्सिजन प्लान्ट स्थापना गर्न सके जिल्लाबासीलाई ठूलो राहत हुने थियो,’ उनले भने ।

कोरोना सुरु भएपछि अघिल्लो वर्ष ०७६ चैतदेखि जिल्लामा ‘एकका लागि एक अभियान’ सुरु भएको थियो । लकडाउनमा परेका अतिविपन्न परिवारलाई खाद्यन्न सहयोग गर्ने उद्देश्यले खान पुग्ने एक परिवारले खान नपाएका एक परिवारलाई सहयोग गरौं भन्दै अभियान सुरु भएको थियो । अभियानले गत वर्ष जिल्लाका करिब ५ हजार परिवारलाई खाद्यन्न प्याकेज, क्वारेन्टाइन, होल्डिङ र अलपत्र परेका मजदुरलाई १० हजार छाक खाना खुवाएको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । त्यससँगै अभियानले गत वर्ष नै एक करोडभन्दा बढी रकम खर्चिएर जिल्लामा पीसीआर परीक्षण प्रयोगशाला (ल्याब) स्थापना गरेको थियो ।

प्रकाशित : जेष्ठ २६, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?