धनकुटामा असार ३ गतेसम्म थपियो निषेधाज्ञा- प्रदेश १ - कान्तिपुर समाचार

धनकुटामा असार ३ गतेसम्म थपियो निषेधाज्ञा

रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाभर बुधबार मध्यरातिदेखि आगामी असार ३ गतेसम्मका लागि निषेधाज्ञाको समय लम्ब्याएको छ । कोरोना भाइरस संक्रमण समुदायस्तरमा तीव्र बन्दै गएपछि प्रशासनले गत वैशाख २० गतेदेखि निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ ।

जेठ २५ देखिको अवधि सकिएपछि पुनः बुधबार मध्यरातदेखि ८ दिनका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले निषेध आदेशको निर्णय गरेको दाहालले बताए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म खुला हुनेबाहेक अन्य सम्पूर्ण व्यवसाय तथा पसल, निजी, सार्वजनिक भाडाका सवारी साधनहरु बन्द रहने छ । दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री, फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेसका साधनलाई सञ्चालनमा दिइने जनाइएको छ । बैंक तथा वित्तीय संस्था आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान ८ देखि ११ बजेसम्म संचालन गरिने निर्णय गरिएको छ । यस्तै, बजार पसलको अवस्थाबारे उद्योग वाणिज्य संघ धनकुटाले निरन्तर अनुगमन गर्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमणबाट एकै परिवारका तीनजनाको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — कोरोना भाइरस संक्रमणका कारण धनकुटामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो । 

मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश श्रेष्ठकी ९४ वर्षिया आमा सौभाग्यदेवीको गत साता मृत्यु भएको थियो । यसअघि विश्वप्रकाशकी दिदी विजयाश्रीको पनि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनीहरु सबैको एक महिनाको अवधिमा मृत्यु भएको छ ।

मृतक विश्वप्रकाशको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ २५, २०७८ १५:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×