कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन नगर्न सरकार पुनर्गठन : शेखर कोइराला

विराटनगर — कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन नगराउन सरकार पुनर्गठन गरेको आरोप लगाएका छन् । कोइराला निवासमा पत्रकारसँगको कुराकानीमा उनले कामचलाउ सरकारले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार पुनर्गठन गरेर गलत नजिर कायम गरेको बताए । 

निर्वाचन नगर्न सरकार पुनर्गठन : शेखर कोइराला

‘निर्वाचनको मिति घोषणा गरिसकेपछि सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्नु संविधान र लोकतन्त्रको बर्खिलाप हो,’ उनले भने, ‘अहिले सरकार विघटन भइसकेको र विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा ओलीजीले आफूलाई बचाउन मात्रै सरकार पुनर्गठन गरेको हो या निर्वाचन नगर्नलाई यो बुझ्नु आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले आफैं चाहेर वा कोरोना महामारीले अहिले तोकेको मितिमा चुनाव नहुने प्रस्ट रहेको उनले बताए । ‘ओलीजीको नेतृत्वमा हुने निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनै सक्दैन,’ उनले भने, ‘ओलीजी तानाशाह अधिनायकवादको हिसाबले हिँडिरहनुभएको छ ।’

पछिल्लो तीन वर्षको अवधिमा तीन पटक कम्बोडिया गइसकेका प्रधानमन्त्री ओलीले कम्बोडियन शैलीमा देशलाई लग्न खोजिरहेको कोइरालाको भनाइ छ । अर्को विपक्षीलाई सखाप पारेर बंगलादेशी शैलीमा पनि जाने प्रधानमन्त्रीको योजना रहेको उनले बताए । ‘ओलीजी प्रधानमन्त्री भएपछि सत्ताकब्जा गर्ने हिसाबले अघि बढ्नुभयो र सुरुमा सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो हातमा लिनुभयो,’ कोइरालाले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र न्यायालयलाई प्रभावमा पारेर ओलीजी सधैं सरकारमा बसिरहन खोजिरहनु भएको छ र त्यसमा संविधानका संरक्षक राष्ट्रपतिजीको सहयोग मुलुककै लागि दुर्भाग्य हो ।’

कांग्रेसको कमजोरीले ओली यो अवस्थासम्म आइपुगेको कोइरालाको भनाइ थियो । ‘प्रधानमन्त्री भएपछि अधिकारहरू आफू मातहत ल्याउने क्रममा कांग्रेस मौन बस्नु नै ठूलो भूल हो,’ उनले भने, ‘त्यतिबेला कांग्रेस सडकमा आएर सदन चल्न नदिएको भए ओलीजी तानाशाही र अधिनायकवादी बन्न सक्नु हुन्नथियो ।’

ओलीलाई यो अवस्थासम्म आउनुमा कांग्रेसको हात छ र यसमा कुनै शंका नभएको कोइरालाले स्विकारे । उनले कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेकै कारण यस्तो भएको स्विकारे । ‘निर्वाचन समयमा नभए र संसद् पुनःस्थापना पनि नभए ओलीलाई सत्ताच्युत गर्नका लागि पुनः आन्दोलनमा जानुको विकल्प रहँदैन,’ उनले भने, ‘३० वर्षे पञ्चायत शासन ढाल्नका लागि लडिरहयौं । त्यहीअनुसार संघर्ष गरिरहनुपर्छ, हतोत्साहित हुनुहुँदैन । तर सही बाटोमा हिँड्नुपर्‍यो ।’ सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा कुनै दुई मत नभएको कोइरालाले विश्वास व्यक्त गरे ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?