कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछामासु र मदिरारहित सिंगो गाउँ

विप्लव भट्टराई

इलाम — मठमन्दिर र धार्मिक स्थलमा बलि चढाउने र घरमा लगेर मासु नखाने मान्छे कमै हुन्छन् । तर पशुबलि मात्र हैन मादक पदार्थ सेवन पनि सिंगो गाउँमै बर्जित छ भन्ने सुन्दा जोकोहीलाई पनि अचम्म लाग्ला । 

माछामासु र मदिरारहित सिंगो गाउँ

घरैपिच्छे तीनवटा बाँसका लिंगामा राता र सेता रङका ध्वाजा राखिएको, साथमा सूर्य अंकित अर्को ध्वजा पनि छ । यस्ता ध्वजा एक घरमा मात्र हैन बस्तीका १५ सय घरधुरीमा देखिन्छ । घरैपिच्छे आँगनमा चिटिक्कको जग्गे पनि भेटिन्छ ।

पूर्वी नेपालको इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिकामा पर्ने लारुम्बा गाउँको फरक चिनारी हो यो । वर्षौंदेखि माङसेबुङले बनाएको यो पहिचानलाई यहाँका गाउँलेले अझै कायम राख्न सकेका छन् । जहाँ मासु, मदिरासहित सुर्तीजन्य पदार्थको सेवन गर्नसमेत पाइँदैन । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्मथलो रहेको यो क्षेत्रले लामो समयदेखि अहिंसा र सदाचारको सन्देश फैलाइरहेको छ ।

जहाँ बाहिरबाट जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेध गरिएको स्थानीयहरूको भनाइ छ । किराँत लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर) ले छानेको ठाउँ भएको विश्वाससहित माङसेबुङ करिब दुई दशकअघि नै धार्मिक केन्द्रका रूपमा विकास हुँदै गएको हो ।

इलाम सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिममा रहेको यस गाउँमा धार्मिक आस्थाकै कारण किराँत धर्मावलम्बीहरूको बाक्लो उपस्थिति भएको हो ।

‘यो क्षेत्रलाई काटमार र मदिरा निषेधित बनाउने अभियानमा युवाहरूको भूमिका पनि उल्लेख्य छ,’ स्थानीय सुमन लावती भन्छन्, ‘धार्मिक अभियानमा लागेकासँगै अरूले पनि यो कार्यलाई अनुसरण गर्दै गएकाले यो बाटोमा जाने नयाँ पुस्ताको संख्या ठूलो छ ।’

यहाँबाट प्रसारण हुने माङसेबुङ एफएम तथा पत्रपत्रिका र अनलाइनमा पनि मदिरा र मासुजन्य पदार्थको विज्ञापन हुँदैन । ‘हामीले सञ्चारमाध्यम चलाउन अप्ठेरो परे पनि यो विषयलाई प्राथमिकता दिएनौं,’ सञ्चारकर्मीसमेत रहेका लावतीले भने ।

किराँत धर्मगुरु आत्मनन्द लिङ्देनको बसोबास रहेको यो क्षेत्र पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । यहाँ आयोजना हुने धार्मिक, सांस्कृतिक, खेलकुद र साहित्यलगायत गतिविधिमा देशविदेशबाट उपस्थित हुने क्रम बढेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?