बिर्तामोडमा ५० बेडको आइसोलेसन

काठमाडौँ — कोरोना संक्रमण बढेसँगै झापाका केही पालिकाले आइसोलेसन निर्माण तीव्र पारेका छन् ।

बिर्तामोड नगरपालिकाले ५० बेडको आइसोलेसन कक्ष तयार पारेको छ । मेची आँखा अस्पताल परिसरमा आइसोलेसन तयार पारिएको नगरका स्वास्थ्यकर्मी कृष्ण काफ्लेले जनाए । शुक्रबारबाट आइसोलेसन सञ्चालनमा ल्याइने उनको भनाइ छ । ‘सबै तयारी पूरा भयो, अब सञ्चालन गर्न मात्रै बाँकी छ,’ काफ्लेले भने ।
उनका अनुसार आइसोलेसन सेन्टरमा भर्ना हुने बिरामीलाई अक्सिजनसमेत उपलब्ध गराइनेछ । गम्भीर खालका बिरामीलाई भने सूचीकृत अस्पतालमा रेफर गरिने जनाइएको छ ।
झापामा बुधबार मात्रै ७ जना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या पनि ९ सय नाघेको छ ।
प्रकाशित : वैशाख २३, २०७८ ०९:३९