कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगर र आसपास निषेधाज्ञा

भारतसँग जोडिएको सीमा नाकाबाट हुने आवागमन पूर्ण रुपमा बन्द गरिने

विराटनगर — कोरोना संक्रमणको दोस्रो चरणको संक्रमण बढिरहेको मोरङको केही क्षेत्रको हकमा जिल्ला प्रशासन कार्यालयले सात दिने निषेधाज्ञा जारी गरेको छ । 

महानगर र आसपास निषेधाज्ञा

शनिबार रातिदेखि महानगर विराटनगर, बूढीगंगा गाउँपालिका र जहदा गाउँपालिकाका सबै वडाहरू तथा कटहरी गाउँपालिकाको १ देखि ४ वडामा अत्यावश्यक कामबाहेकका आवागमनमा उक्त कार्यालयले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाबाट जारी उक्त आदेशमा भारतसँग जोडिएको सीमा नाकाबाट हुने आवागमनमा पूर्ण रूपमा बन्द गर्ने भनिएको छ । जिल्लाभर बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने जनाइएको छ ।

अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा सुरक्षा, स्वास्थ्य र यातायात मापदण्डको पालना गर्नुपर्छ । खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दुध र डेरीलगायतका अत्यावश्यक सामग्री आपूर्ति गर्ने व्यवसायहरू बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । निर्माण सामग्री पसल र ढुवानी बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा भनिएको छ । अत्यावश्यक वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरूलाई कानुनबमोजिम कारबाही हुने बताइएको छ ।

तरकारी मन्डी, होटेल, रेस्टुरेन्ट, सैलुन र इ–रिक्साको सञ्चालनमा रोक लगाइएको छ । होटल तथा रेस्टुरेन्टले अनलाइन अर्डरबाट होम डेलिभरि तथा ग्राहक स्वयं उपस्थित भएर प्याकिङ गरी लैजाने टेक अवे विधिलाई प्रयोग गरी सञ्चालन गर्न पाउनेछन् । होटलमा भेटघाट तथा जम्मा हुन नपाउने आदेशमा उल्लेख छ । दैनिक रूपमा गरिने पूजा, प्रार्थना बाहेकका धार्मिक तथा सांस्कृतिक कार्यहरू, मेला, चाडपर्व, जात्रा, हाटबजार, महोत्सव र भेला लगायतका सामूहिक गतिविधि गर्न नपाइने प्रशासनले भनेको छ ।

आदेश अनुसार विद्युत्, सञ्चार, खानेपानी, बैंक तथा वित्तीय संस्था, फोहोर मैला व्यवस्थापन, खाद्यान, तरकारी, फलफूल तथा पशु आहार, दाना, दूध, इन्धन सेवा, औषधि र एम्बुलेन्स सेवा तथा बिरामी बोकेको गाडी, शव बाहन र सरकारी नम्बर प्लेटका सवारीसाधन मात्र चल्न दिइनेछ । सबै सरकारी कार्यालय/संस्थानहरूले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी राखी अत्यावश्यक सेवा सञ्चालन तथा कार्यालयको आन्तरिक अभिलेख व्यवस्थापन लगायत प्रशासनिक कार्य मात्र गर्ने आदेशमा भनिएको छ ।

महानगर विराटनगर, बूढीगंगा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाको १ देखि ४ वडाहरू र भारत एवं छिमेकी सुनसरीसँग जोडिएको सीमामा संक्रमणको सघन विस्तार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?