कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

राहत माग्दै किसान

आनन्द गौतम

ताप्लेजुङ — गत वैशाख ३ को साँझ परेको असिनापानीले गहुँ, जौलगायत हिउँदे बाली नष्ट गरिदियो । पकेट क्षेत्रको आलुसमेत बीउ नै नरहने गरी सखाप भयो ।

राहत माग्दै किसान

जीविकोपार्जन होला भनेर लगाएको बाली मासिएपछि फुङलिङ नगरपालिका–९ हाङदेवाका किसान क्षतिपूर्ति माग गर्दै नगरपालिका कार्यालय धाउन थालेका छन् । पीडित किसान पासाङरिता शेर्पाले भने, ‘जौ, गहुँको त परेन, कम्तीमा आलुको बीउसम्मको व्यवस्था हुने गरी क्षतिपूर्ति सरकारले देओस् भनेका हौं ।’ असिनापानीले ६० किसानको १ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको शेर्पा बताउँछन् ।

उनका अनुसार अब अर्को बाली लगाउनुको विकल्प छैन । हुर्किंदै गरेको आलु, जौ र गहुँ बालीको डाँठ नै भाँचिदिएकाले बोट सप्रिएर फसल उत्पादन हुने सम्भावना नरहेको अर्का किसान कृक्या शेर्पा बताउँछन् । अघिल्ला वर्षहरूमा पनि असिना परेको तर यसरी क्षति नपुर्‍याएको उनको भनाइ छ । असिनाले ७ सय रोपनीमा लगाएको बालीमा क्षति गरेको उनको दाबी छ ।

पासाङ फुटी शेर्पाका अनुसार यहाँका किसानले एक रोपनीमा ३५ मनसम्म आलु फलाएका छन् । गत वर्षसम्म यहाँका किसानले कृषि बिमा गरेका थिए । ‘यो वर्षचाहिँ कसैले पनि गरेका थिएनन्, यही वर्ष असिनाले सखाप बनायो,’ पासाङरिताले भने । फुङलिङ नगरपालिकाले यहाँको २ हजार रोपनी क्षेत्रलाई आलुको पकेट क्षेत्र घोषणा गरेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख दीपक भण्डारीले किसानलाई क्षतिपूर्ति दिने विषयमा छलफल भइरहेको बताए ।


प्रकाशित : वैशाख १५, २०७८ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?