कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हन्डी’ खान भारतदेखि

पर्वत पोर्तेल

काँकडभिट्टा — माटोको साना घैंटा, माटाकै ढकनीले ढाकिएको छ । ढकनी खोल्दा मासुको बास्नाले मन नै हरर पार्छ । यो खान्कीको नाम ठाउँअनुसार फरक छ । झापामा यसलाई हन्डी भनिन्छ । खसीको मासुमा विभिन्न मसलाहरू मिलाएपछि हन्डीमा हालेर कोइला या आगोमा पकाइन्छ । करिब चार घण्टापछि यो खानयोग्य बन्छ । 

‘हन्डी’ खान भारतदेखि

सीमान्त सहर काकरभिट्टा होटलहरूको सहर पनि हो । यो सहरमा अनेकथरी होटल र रेस्टुरेन्टहरू छन् । होटलपिच्छे हरेक स्वाद पनि । तर, मेची जस्केलो रेस्टुरेन्ट एन्ड बारमा पाइने हन्डीको स्वाद भने अन्यको भन्दा बिलकुल भिन्न छ । हन्डीको स्वाद चाख्नकै लागि भारतबाट समेत खानाका पारखीहरू आउने गरेका छन् । ‘हाम्रो होटलको मुख्य विशेषता भनेकै हन्डीको स्वाद हो,’ होटल सञ्चालक अपेक्षा कार्कीले सुनाइन्, ‘यो भेगमा हन्डी पाइने होटल हाम्रो मात्रै हो ।’

भारत तथा आसपास जिल्लाका विभिन्न स्थानबाट आउने ग्राहकहरू हन्डीको स्वाद नचाखी फर्किंदैनन् । भारतको सिलिगुडीबाट आएका पर्यटक आकाश लिम्बूले सुनाए, ‘हामी छालासहितको खसीको मासुको हन्डी खान यहाँ आउँछौं ।’ भारतीय बजारमा छालासहितको खसीको मासु बिक्री वितरण गरिँदैन । तर, भारतमा बस्ने नेपालीभाषीहरूचैं छालासहितको खसीको मासुका पारखी हुन् । उनीहरू त्यही खानका लागि लामो बाटो तय गरेर आउँछन् । स्वाद चाखेर फर्किन्छन् ।

‘हाम्रो खानाको स्वाद ग्राहकले रुचाइदिनुभएको छ । सोचेभन्दा राम्रो माग छ,’ सञ्चालक कार्की भन्छिन्, ‘हन्डी पकाउन मसलादेखि समय र तापक्रममा समेत विशेष ध्यान दिनुपर्ने हुन्छ ।’ उनका अनुसार हन्डी पकाउनका लागि मात्रै अलग्गै कुक राखिएको छ ।

खसीको मासुको हन्डी यहाँको ‘मेन डिस’ हो । साइड डिसको रूपमा ग्राहकका इच्छाअनुसार प्लेन राइस, सादा रोटी, सलाद, चिउरा, भुजा दिइन्छ ।

एक प्लेट हन्डीलाई साढे ५ सय रुपैयाँ पर्छ । खसीको मासु मन पराउने पारखीका लागि हन्डीको स्वाद मन पर्न सक्ने उनको भनाइ छ । बंगुरको मासुमा समेत हन्डी उपलब्ध छ । सहारा नेपाल (साकोस) की कर्मचारी अपेक्षाले यही वैशाख १ गतेबाट मेची जस्केलो सञ्चालन सुरु गरेकी हुन् । विगतमा बाहुनडाँगीका पर्यटन अभियन्ता अर्जुन कार्कीले सञ्चालन गरेको यो रेस्टुरेन्ट नयाँ वर्षदेखि कार्कीकै छोरी अपेक्षाले सुरु गरेकी हुन् । ‘विगतको भन्दा धेरै कुरामा होटललाई एक्स्ट्रा बनाइएको छ,’ उनले सुनाइन्, ‘पहिला र अहिले स्वाददेखि रेस्टुरेन्टको डेकोरेसनमा समेत फरक छ ।’

करिब २५ लाख रुपैयाँको लगानीमा उनले रेस्टुरेन्ट सुरु गरेकी हुन् । उनले भनिन्, ‘रेस्टुरेन्ट शान्त वातावरणमा छ । पारिवारिक छ । खानपिनको स्वाद मिठो छ । कर्मचारीको व्यवहार विनम्र छ ।’ हरेक साता विभिन्न समूहको कन्सर्टहरू आयोजना गरिने योजना सुनाउँदै अपेक्षाले भनिन् ‘अब चाँडै ग्राहक महानुभावले गीत संगीतमा रमाउँदै खानपिनको स्वाद लिन पाउनुहुनेछ ।’

प्रकाशित : वैशाख ९, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?