१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

नयाँ वर्षमा चौंरी महोत्सव, पर्यटकलाई गोठस्टे

महोत्सवमा आउने पर्यटकलाई गोठमा खानपान र बासको व्यवस्था
आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको फालेलुङ गाउँपालिका–४ का चन्द्रलाल नेपाल फालोट पुगेका छन् । ३२ वटा चौंरी पाल्दै आएका उनी आफ्नो पूरै गोठ लिएर यतिबेला चौंरी महोत्सवमा सहभागी हुन पुगेका छन् ।

नयाँ वर्षमा चौंरी महोत्सव, पर्यटकलाई गोठस्टे

दुई दिनअघि चोयाबलबाट चौंरी धपाउँदै उकालो लागेका उनले करिब ३६ सय मिटर उचाइमा आफ्नो गोठ बनाइसकेका छन् । चारवटा चौंरी प्रतिस्पर्धामा सहभागी गराउने र बाँकी गोठमा छोड्ने उनको तयारी छ ।

फालेलुङकै जंगबहादुर राईले पनि फालोटको गोठमा आफ्ना चौंरी छिराइसकेका छन् । आइतबारै तेम्बे झाँडीबाट हिँडाएको गोठ मंगलबार दिउँसो फालोट पुगेको हो । ३३ सय मिटर उचाइमा रहेको चौरमा पाल टाँगेर गोठ बनाएका राई अबको एक साता चौंरीसहित त्यहीँ बस्छन् । ३६ वटा चौंरी पालेका उनले सबै चौंरी प्रतिस्पर्धामा सहभागी गराउने योजना बनाएका छन् ।

चन्द्रलाल र जंगबहादुरको जस्तै यतिबेला ताप्लेजुङ सिदिङवाका भीम भण्डारी, रत्न लिम्बू, पाँचथरको याङवरक गाउँपालिकाका किपा भोटिया, गिरिधारी रिजाल, नगेन्द्र रिमाल, रमेश, टीकाराम नेपालले पनि आ–आफ्ना चौंरी गोठ फालोटको डाँडामा उकालिसकेका छन् । नयाँ वर्षको पहिलो दिन चल्ने महोत्सवमा गोठसहित चौंरीहरू सहभागी गराइन्छ । स्वस्थ चौंरी र व्यवस्थित गोठलाई विज्ञले अवलोकन गरेपछि उत्कृष्ट छनोट गरिन्छ र किसानलाई पुरस्कृत गरिन्छ ।

यहाँ प्रत्येक नयाँ वर्षको पहिलो दिन चौंरी महोत्सव हुने गरेको छ । महोत्सवमा सहभागीले चौंरी, चरन क्षेत्र, वातावरण नियाल्नुका साथै यसको प्रवर्द्धनका लागि हुने छलफलमा सहभागिता जनाउँछन् । पशु विज्ञ र लामो समयदेखि चौंरी पालेका किसानहरूबीच विज्ञता र अनुभव आदानप्रदान पनि हुने गरेको छ । यो वर्षको महोत्सवमा तीन सय चौंरी सहभागी गराउने तयारी आयोजकको छ ।

महोत्सव एक दिन मात्रै भए पनि गोठ भने यहाँ एक साता बस्ने चौंरीपालक बताउँछन् । भारतको पश्चिम बंगालको सिक्किम राज्यसँग जोडिएको पाँचथरको फालेलुङ, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकासँग पनि जोडिएको छ । यी क्षेत्रको मुख्य आम्दानी चौंरी पालन नै हो ।

‘किसानलाई प्रोत्साहित गर्न र चौंरी पालनका विषयमा सम्बन्धित व्यक्तिहरूबाट समस्या, समाधान आदानप्रदान गर्न महोत्सव आयोजना गरिएको आयोजक बताउँछन् । मूल आयोजक समितिका सचिव सुनील बान्तवा हिमाली क्षेत्रको पहिचानका रूपमा रहेको चौंरीको प्रवर्द्धन र पर्यटक आकर्षित गर्नु मुख्य उद्देश्य भएको बताउँछन् ।

‘ताप्लेजुङ र पाँचथरका सयौं मान्छे आउँछन्,’ बान्तवाले भने, ‘सञ्चारका माध्यमबाट चौंरीका विषयमा देश–विदेशमा पनि सन्देश प्रवाह हुन्छ ।’ महोत्सवले ताप्लेजुङ र पाँचथरका चौंरीपालक किसानमा एकअर्काप्रति सहयोग, अनुभव आदानप्रदान गराउन पनि महत्त्वपूर्ण हुने उनको अनुभव छ ।

महोत्सव विगत चार वर्षदेखि चल्दै आएको छ । यसमा गाउँपालिकाले पनि सहयोग गरेको छ । महोत्सवमा आउने पर्यटकलाई ‘गोठस्टे’ (गोठमा खानपान र बासको व्यवस्था) मा राख्ने गरिएको छ । बस्तीविहीन ठाउँमा महोत्सव हुने भएकाले पाहुनालाई गोठमै राखिन्छ । एउटा गोठमा कम्तीमा ८/१० जना बस्न मिल्छ । पर्यटकले खानपिन आफू बसेको गोठमै पाउने बान्तवा बताउँछन् ।

यो वर्ष महोत्सव स्थलसम्मै सडक पुगेकाले पर्यटक बढ्नेमा आयोजक विश्वस्त छ । महोत्सव स्थल ३६ सय मिटर उचाइमा भएकाले न्यानो कपडा लगाएर जानुपर्ने सुझाव आयोजकको छ ।

चौंरी पालन लोप हुँदै गएका बेला हुने यस्ता महोत्सवले किसानको मनोबल बढाउने स्थानीय किपा भोटिया बताउँछन् । ‘अर्को वर्षको महोत्सवमा मेरो गोठ, चौंरी उत्कृष्ट बनाउँछु भन्ने हुन्छ । गोठ छोड्न पनि मन नलाग्दो रहेछ’ किपाले भने ।

गाउँपालिका, कञ्चनजंघा पर्यापर्यटन संस्था, दीपज्योति युवा क्लब, कञ्चनजंघा चौंरी पालन संरक्षण संस्थाले आयोजना गरेको महोत्सवमा कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहल नेपाल सहआयोजक छन् । यसपटक २१ वटा चौंरी गोठ भेला हुने बान्तवाले बताए । महोत्सव अवलोकनमा आउनेले चौंरीको दूधबाट बनाइएका परिकारहरू चाख्न पाउने छन् । चौंरी र भेडाको ऊनबाट बनेका वस्तुहरू र लेकाली क्षेत्रमा पाइने जडीबुटी स्टलका रूपमा राख्ने आयोजकले बताए ।

प्रकाशित : वैशाख १, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?