कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधारशिविरमा चहलपहल

बहराइनका राजकुमारको टोलीले सगरमाथा आरोहण गर्न आधारशिविरमा
कुम्भराज राई

ओखलढुंगा — वसन्तकालीन आरोहणका लागि सगरमाथा आधारशिविरमा चहलपहल बढेको छ । आरोहणका लागि टेन्ट राख्ने काम सुरु भइसकेको छ भने अधिकांश टोली लुक्लातर्फ लागिसकेका छन् ।

आधारशिविरमा चहलपहल

कोभिड–१९ का कारण गत वर्ष सगरमाथा आरोहण स्थगित भएको थियो । यस वर्ष कोभिडको चुनौतीकै बीच आरोहण हुन लागेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का सात जना आइसफल डाक्टरले खुम्बु आइसफलमा बाटो बनाएर भर्‍याङ टाँग्ने काम सकेका छन् । उनीहरूले दोस्रो शिविर (क्याम्प टु) सम्मको बाटो बनाउने काम धमाधम गरिरहेको एसपीसीसीले जनाएको छ । क्याम्प टु समुद्री सतहदेखि ६ हजार ४ सय मिटरको उचाइमा पर्छ । केही दिनमै क्याम्प टुसम्म बाटो खोल्ने काम सम्पन्न हुनेछ ।

क्याम्प टुदेखि माथि शिखरसम्म डोरी टाँग्ने काम आरोही शेर्पाहरूले गर्छन् । गत शुक्रबारसम्म पर्यटन विभागमा सगरमाथा आरोहणका लागि २४ समूहले अनुमति लिएका छन् । जसमा २ सय ४४ जना आरोही छन् । अनुमति लिने नेपाली आरोही दुई समूहमा पाँच जना रहेको पर्यटन विभाग पर्वतारोहण शाखाकी प्रमुख मीरा आचार्यले बताइन् । अझै आरोहण अनुमतिका लागि केही समूह आउन सक्ने अनुमान छ ।

सन् २०१९ मा ४४ समूहका ३ सय ८१ जना आरोही र ६ सय ४२ जना आरोहीका सहयोगीले अनुमति लिएका थिए । त्यसमध्ये २ सय ८० आरोही र ३ सय ६४ जना सहयोगीले सगरमाथाको सफल आरोहण गरेका थिए । आठ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।

कामीरिता २५ औं पटक आरोहण गर्दै

गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा बढी २४ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता शेर्पा २५ औं पटकको आरोहणका लागि आधारशिविर पुगिसकेका छन् । शुक्रबार उनले सगरमाथा आधारशिविर पुगेको जानकारी फेसबुकमा गराएका छन् ।

सेभेन समिट प्रालिमा आरोहीको सहयोगीका रूपमा काम गर्दै आएका कामीरिताको यस वर्षको आरोहणलाई विश्वभरका सञ्चारमाध्यम र साहसिक पर्यटन क्षेत्रले महत्त्वका साथ हेरेका छन् । सेभेन समिटकै आरोहण दलबाट यस वर्ष बहराइनका राजकुमारको टोलीले सगरमाथा आरोहण गर्ने भएका छन् । उनको टोली पनि आधारशिविर पुगिसकेको छ । यस वर्ष पहिलो पटक मधेसको प्रतिनिधित्व गर्दै जनकपुरका पान पसले युवा रञ्जितकुमार साह सगरमाथा आरोहणका लागि जाँदै छन् ।

११ महिना पान पसल गरेर १ महिना साइकल यात्रामा निस्कने गरेका साहले दुई वर्षअघि आमादब्लम हिमालको आरोहण गरेका थिए । ह्याप्पी फिट कम्पनीको आरोहण दलमा आबद्ध भई उनी सगरमाथा आरोहणका लागि जान लागेका हुन् । यही साताभित्र साह सगरमाथा आधारशिविरतर्फ लाग्ने कम्पनीका प्रमुख ङिमादेन्डी शेर्पाले बताए । सन् २०१४ मा हिमपहिरो, सन् २०१५ मा भूकम्पले सगरमाथा आरोहण थलिएको थियो । त्यसपछिका तीन वर्षमा ब्युँतिन नपाउँदै कोभिड–१९ को मारमा पर्‍यो । यस वर्षदेखि पुनः ब्युँतिने आशा पर्यटन व्यवसायीले गरेका छन् ।

प्रकाशित : चैत्र ३१, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?