वनको डढेलो बस्तीमा सल्किँदा धनकुटामा २ घर जले- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनको डढेलो बस्तीमा सल्किँदा धनकुटामा २ घर जले

रमेशचन्द्र अधिकारी

धनकुटा — सामुदायिक वनमा लागेको डढेलो बस्तीमा  सल्किँदा धनकुटाको सहिदभूमि गाउँपालिका–१ जगदेउ बस्तीमा दुई घर जलेका छन् ।

आइतबार अपरान्हदेखि लागेको डढेलो साँझ बस्तीमा सल्किएको प्रहरीले जनाएको छ। त्रिवेणी सामुदायिक वनबाट सुरु भएको डढेलो जगदेउ गाउँमा पस्दा स्थानीय नरबहादुर बोगटी र राजबहादुर बोगटीको घर जलेको प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैशवालले जानकारी दिए । दुवै घर पूर्ण रुपमा नष्ट भएका छन ।

त्रिवेणी सामुदायिक वनको डढेलो अहिले नजिकको खैरेनी सामुदायिक वनमा समेत सल्किएको छ । आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासी खटिएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए । आगलागीका कारण आधा दर्जन घरपालुवा पशु मरेका छन् ।

डढेलोका कारण दुई दिनको अवधिमा धनकुटा जिल्लामा चार घर गोठमा क्षति पुगेको छ । यसैबीच, गएराति धनकुटा बजारसँगै रहेको सल्लेरी वनमा समेत डढेलो लागेको छ । त्यहाँको डढेलो दमकलसहित सुरक्षाकर्मीले निभाएका छन् । उता, सदरमुकाम नजिकको चुलीवन र रानीवनमा लागेको डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । त्यहाँ ५ वटा दमकलसहित सुरक्षाकर्मी डढेलो नियन्त्रणमा खटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए । डढेलोले चुलीवन र रानीवनमा हालसम्म ४७ हेक्टर वनमा क्षति पुर्‍याएको छ । जिल्लाभर ४० वटा सामुदायिक वनको ५ सय हेक्टर वन डढेलोको चपेटामा परिसकेको छ ।


प्रकाशित : चैत्र २३, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

गौतम बुद्ध रंगशालालाई ऐक्यबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ —  विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आह्वान गरेका छन् ।

कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ । क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।

रंगशाला निर्माण महाअभियानअन्तर्गत खेलकुद समितिका संयोजक ओलम्पियन तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टसहितका विभिन्न खेलका खेलाडीहरूले खेलाडीहरूको मन्दिर निर्माण भइरहेकाले सबैको सहयोगको अपिल गरेका हुन् । आइतबार विज्ञप्ति जारी गरी उनीहरूले रंगशाला निर्माण खेलाडीहरूको सपना रहेको र भविष्यमा देशकै ठूलो खेलकुद संरचना बन्ने विश्वास गरिएको छ ।

‘महाअभियानमा जोडिन पाउँदा हामी खेलाडीलाई गर्व महसुस हुन्छ । खेलाडीको मन्दिर निर्माणमा हामी खेलाडी सधैं साथमा छौं । यो संरचना कुनै व्यक्तिविशेषको नभई देशको सान राख्ने खेलाडीका लागि भएकाले देश/विदेशमा रहने सबै नेपालीलाई सहयोगको आग्रह छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : चैत्र २३, २०७७ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×