२३ वर्षपछि पाथीभरामा केबलकारको सुरसार

२ अर्ब ५५ करोड लागतमा बन्ने केबलकारको काम दुई वर्षमा सक्ने लक्ष्य
आनन्द गौतम

ताप्लेजुङ — चर्चा सुरु भएको अढाइ दशकपछि पाथीभरामा केबलकार निर्माण थालिने भएको छ । कागजी प्रक्रिया पूरा भएकाले निर्माण सुरु गर्न लागिएको पाथीभरा देवी दर्शन केबलकार प्रालिले जनाएको हो । वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गराउने कम्पनीको तयारी छ ।

२३ वर्षपछि पाथीभरामा केबलकारको सुरसार

अध्ययन, अनुमति र निर्माणका लागि कम्पनी छनोट भएकाले अब काम थालिने कम्पनीका कार्यकारी निर्देशक ईश्वरी पौडेलले बताए । कम्पनीले सरकारबाट ३० वर्षका लागि अनुमति लिएको छ । सरकारले केबलकारका लागि ४.९७ हेक्टर जमिन दिने निर्णय पनि गरिसकेको छ । कम्पनीले त्यति नै जमिन सरकारलाई रजिस्ट्रेसन पास गरेर फिर्ता गरेको छ । सरकारले फुङलिङ नगरपालिका–११ फावाखोलाको जमिन उपलब्ध गराएको र आफूहरूले त्यसैसँग जोडिएको फुरुम्बुमा जग्गा खरिद गरेर सरकारलाई दिएको पौडेलले जानकारी दिए । ‘सरकारलाई जग्गा बुझाएपछि ३० वर्षे काउनडाउन सुरु भयो,’ उनले भने, ‘त्यसैले निर्माण थालिहाल्छौं ।’

पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केबलकार बनाउन लागिएको हो । यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ७ मा अनुमति दिएको कम्पनीले जनाएको छ । यसअघि फुङलिङ नगरपालिकाले २०७५ जेठ १४ मा अनुमति दिएको थियो । १२ लाख रुपैयाँ राजस्व लिएर ४० वर्षका लागि दिएको उक्त अनुमति पछिल्लो कानुनले खारेज गरेको हो । २०७५ असार २० गते प्रकाशित राजपत्रको २७ ‘क’ मा रज्जुमार्ग केबलकार सम्बन्धी नीति, कानुन र मापदण्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहने उल्लेख छ ।

यसअघि केबलकारका लागि अनुमति स्थानीय तहले दिने उल्लेख थियो । राजपत्रमा यो कानुन प्रकाशन भएपछि पुनः मन्त्रालयबाट अनुमति लिइएको पौडेलले बताए । ‘पछिल्लो कानुनअनुसार नगरपालिकाको स्वतः खारेज भएपछि मन्त्रालयबाट अनुमति लियौं,’ उनले भने । कम्पनीले हरेक १० वर्षमा नवीकरण गर्नुपर्नेछ । २ अर्ब ५५ करोड लागत रहेको आयोजनाको निर्माण दुई वर्षमा सकिने पौडेलको भनाइ छ । ‘१८ महिनामा केबलकार कुद्ने बनाउँछौं,’ उनले भने, ‘पार्किङ स्थल, सटरलगायतका संरचना बनाउन दुई वर्ष लाग्छ ।’

केबलकार निर्माणको क्रममा १ हजार १८ वटा ठूला रुख काटिने डिभिजन वन कार्यालयले जनाएको छ । यसको अनुमति मन्त्रालयले दिइसकेको कार्यालयका एक कर्मचारीले बताए । एक घण्टामा एक हजार जना यात्रु आउजाउ गर्न सक्ने गरी लट्ठा, डब्बालगायत सामग्री अस्ट्रियाको कम्पनीले व्यवस्था गर्ने भएको छ । काफ्लेपाटीदेखि मन्दिरसम्म १७ वटा टावर बन्नेछन् ।

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र । तस्बिर : आनन्द गौतम/कान्तिपुर

प्रकाशित : चैत्र १७, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?