कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार सयको बीउ, एक लाखको साग

धनकुटा — ६ रोपनी क्षेत्रफल भएको टाहार बारीमा रायोको साग भरिएको छ । छथर जोरपाटी गाउँपालिका–६ मझुवाकी नेत्रकुमारी विष्टलाई सागको मुठा बाँध्दै डोकोमा राखेर बिक्रीको तयारी गर्न भ्याइनभ्याइ छ । उनले महिना दिनमा १ लाख रुपैयाँको साग बेचिसकिन् । ४ सयको बीउबाट उनले यति आम्दानी हात पारेकी हुन् ।

चार सयको बीउ, एक लाखको साग

माघ दोस्रो सातादेखि बेच्न थालेकी विष्टले सुरुमा मुठाको २ रुपैयाँका दरले नै १ हजार ८ सय मुठा साग बेचेको सुनाइन् । सोचेभन्दा उल्लेख्य उत्पादन भएकाले कम मूल्यमा बेच्नुपरेको उनको भनाइ छ ।

‘अन्य तरकारीको दाँजोमा रायोको सागबाट बर्सेनि राम्रै आम्दानी हुन्छ,’ उनले भनिन्, ‘असिनाले क्षति नपुगेको भए आम्दानी अझ बढ्थ्यो ।’ सुरुमा २ रुपैयाँ मुठा बेचे पनि पछिल्लो महिनामा प्रतिमुठा ६ रुपैयाँमा बिक्री गरेको विष्ट बताउँछिन् । उनी जस्तै छिमेकी दुर्गाबहादुर थापाले पनि १ लाख रुपैयाँभन्दा बढीको साग बेचे ।

दुई सातापहिले असिनाले साग बालीमा सामान्य क्षति पुर्‍याए पनि अत्यधिक माग बढेकाले मनग्गे आम्दानी भएको उनको भनाइ छ । किसान दलबहादुर थापाले पनि ५० हजारभन्दा बढीको साग बेचेको बताए । मझुवा गाउँबाट यस वर्ष हालसम्म कम्तीमा १० लाखको रायोको साग बिक्री भइसकेको किसानले जानकारी दिए ।

छथर जोरपाटी गाउँपालिका–१ स्थित फलाटे गाउँबाटै यस वर्ष २५ लाख रुपैयाँको साग बिक्री भएको छ । २५ घर रहेको उक्त गाउँका प्रायः बासिन्दा तरकारी खेतीमा निर्भर छन् ।

सागबाट मात्रै औसत प्रतिघर १ लाखभन्दा बढी आम्दानी हुने गरेको स्थानीय युवराज कार्कीले बताए । कार्कीले तीन रोपनी क्षेत्रफलमा रायोको साग लगाएका छन् । यसबाट डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र १६, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?