कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अजबलालको ‘गजब’ परिवार

३८ जनाको संयुक्त परिवारका युवादेखि पाकासम्म खेतको काममा व्यस्त हुन्छन् । त्यसैको आम्दानीबाट घरजग्गा र सवारीसाधन जोडेका छन् ।
जितेन्द्र साह

गढी, सुनसरी — अजबलालको संयुक्त परिवारमा ३८ जना छन् । परिवारका युवादेखि पाकासम्म खेतको काममा व्यस्त हुन्छन् । परिवारको कुशल नेतृत्व ७५ वर्षीय अजबलालले गरिरहेका छन् । आदिवासी जनजाति समुदायका उनीहरूले झाँगड वा उराँव थर लेख्छन् ।

अजबलालको ‘गजब’ परिवार

सुनसरीको गढी गाउँपालिका–४ घर भएका अजबलालका माइला भाइ ७० वर्षीय जोगीलाल, साइला ५५ वर्षीय गोपीलाल र कान्छा ४० वर्षीय शिवलाल छन् । भाइहरू जेठो दाइसँगको सल्लाहबेगर कुनै काम गर्दैनन् । ‘खेतीको लगानी र आम्दानी खर्चको सबै हिसाब मै राख्छु,’ अजबलालले भने, ‘परिवारमा कसैलाई खर्च चाहिए मसँगै माग्छन् ।’ कृषि कर्मबाटै यो परिवारले २० बिघा खेत र सवारीसाधनका साथै विराटनगरको जामुनगाछीमा घर जोडेका छन् । तालमेलसाथ सबैलाई सन्तुष्ट राख्न सकिए परिवार चलाउन कठिन नहुने उनी बताउँछन् ।

‘एकता जरुरी छ, आपसमा विश्वास, आदर, समझदारी र प्रेम हुनैपर्छ,’ अजबलाल भन्छन् । अचेल उनी भतिजको बिहेको प्रबन्धमा यताउति कुदिरहेका छन् । उनका अनुसार सगोलमा बसेका ३८ जना चारै दाजुभाइ, उनीहरूका श्रीमती, छोरा र उनीहरूका पत्नी तथा सन्तान हुन् । छोरी–ज्वाइँपट्टिका नातानातिना र पनातिपनातिना जोड्दा पुग्ने परिवारको संख्या आफूहरूलाई पनि थाहा नभएको जोगीलाल बताउँछन् । गोपीलालका दुई छोरा र शिवलालका एक छोराको विवाह बाँकी छ ।

अजबलालका स्नातक गरेका जेठा छोरा ४० वर्षीय अमरलाल शिक्षण पेसामा छन् । बाँकी सबै सदस्य सक्रिय किसान हुन् । कृषिमा संलग्न अन्य छोराछोरी, बुहारी र नातिनातिनाले पनि एसएलसी तथा प्रमाणपत्र तहसम्म पढेका छन् । एसएलसी उत्तीर्ण ७ जना बुहारीले खेतीबारीमा हातेमालो गरिरहेको गोपीलाल बताउँछन् । कृषिबाटै परिवारको खर्च चलिरहेको उनको भनाइ छ ।

सप्तरीको थातथलो छाडेर हजुरबुबा सोमा झाँगड यहाँ आएका थिए । ‘हजुरबुबा यहाँ खाली हात आउनुभएको थियो, सपरिवार मिलेर दिनरात पौरख गर्दै यति धेरै जग्गा जोड्न सकेका हौं,’ उनी भन्छन् । यो परिवारले कहिल्यै खेत खाली राखेको छैन । वर्षभरि नगदे, तेलहन, अन्न र तरकारी लगाइरहेको गोपीलालका छोरा ३२ वर्षीय विकास बताउँछन् । उनका अनुसार अहिले पनि २ बिघाबाहेक सबै खेतमा गहुँ, मकै, तरकारी र मसुरोलगायत लगाएको छ । ‘बाँकी दुई बिघामा पनि काम भइरहेको छ,’ उनी भन्छन् ।

विराटनगरदेखि १२ किमि पश्चिममा बस्ने यो परिवारका सबै सदस्य एकै पटक घरमा भेटिँदैनन् । काम विभाजनअनुसार कोही खेतमा त कोही बजारमा हुन्छन् । खानपिन र आराम पनि पालैपालो गर्छन् । ‘बिहे, भोज वा धार्मिक कार्यक्रमको बेलामा मात्रै सबै जना घरमा हुन्छौं,’ अजबलालका कान्छा छोरा ३५ वर्षीय सुकदेवले भने । संयुक्त भान्सा भएको यो परिवारमा एक छाकमा ८ किलो चामल, अढाई किलो दाल र १० किलो जति तरकारी पाक्ने गरेको उनी बताउँछन् । भान्सामा ११ जना महिला खटिन्छन् । ‘केही किन्नु पर्दैन, सबथोक खेतबाटै उत्पादन गर्छौं,’ सुकदेव भन्छन् । उनका अनुसार बिहान ८ बजेभित्र तयार भइसक्ने खाजामा समेत ७ किलो पिठोको रोटी वा त्यति नै परिमाणको च्युरा, भुजा वा चना तयार हुन्छ ।

चौधरी (थारू) बहुल उक्त गाउँपालिकाको जनसंख्या ३७ हजार छ । यीमध्ये २ हजार झाँगड जाति रहेको र अधिकांश किसान भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव बताउँछन् । उनले पालिकाभरि ठूलो संयुक्त परिवार अजबलालकै भएको बताए । ‘उनीहरू समूहमा काम गर्न अभ्यस्त भइसकेका छन्, अहिलेको जमानामा सितिमिति यति ठूलो संयुक्त परिवार कमै होलान्,’ उनले भने ।

कृषिलाई नै कर्म र संस्कृति मानेको यो परिवार अन्य झाँगडभन्दा फरक छन् । झाँगड समुदायका महिलापुरुष हरेक सांस्कृतिक मौकामा सिठीको धुनमा प्रेम, बिहे एवं युवायुवतीको सम्बन्धबारेको लोकगीत गाउँदै मनोरम नृत्य प्रस्तुत गर्छन् । झाँगडले विजयादशमीपछि पूर्णिमाको मेलामा पुगेर नाच्छन् । तर यो परिवार यी सबमा रुचि राख्दैनन् । ‘खेती कर्मबाटै फुर्सद नपाइँदा हामी मेला र भेलामा नाँच्दैनौं,’ अजबलाल भन्छन् ।

पुर्खौंदेखि भदौ पूर्णिमादेखि विजयादशमीसम्म मनाइने कर्मा–धर्मा आफूहरूको ठूलो पर्व भएको अजबलालको भनाइ छ । ‘माघे संक्रान्तिमा गुँडको खिचडी खान्छौं,’ उनी भन्छन्, ‘हाम्रोमा मागी विवाहको चलन छ, बिहेको विधिदेखि अधिकांश चाडबाड अन्य मधेसी समुदायसँग मिल्छ ।’ मिश्रित जातिसँग हुर्केकाले झाँगड समुदायको मौलिक संस्कृतिबारे उतिसारो जानकारी आफूहरूलाई हुन नसकेको अजबलाल बताउँछन् । उनले सुनसरीपछि मोरङमा झाँगडको संख्या बढिरहेको बताए ।

‘अरू जाति र समुदाय रमाइलो गर्न चाडबाड कुर्छन् तर खेतको उत्पादन बेचेर टका (रुपैयाँ) हातमा पर्नबित्तिकै झाँगड समुदायको रमाइलो सुरु हुन्छ,’ उनी भन्छन्, ‘यही जातीय स्वभावका कारणले झाँगड भन्नेबित्तिकै जाँडरक्सी खाएर मातिने र मेलामा नाच्ने जाति भनेर चिनिन्छ, योभन्दा माथि उठ्ने प्रयासमा छौं ।’ अल्पसंख्यक जातिमा सूचीकृत झाँगड (उराँव) सुनसरीबाहेक मोरङ, इलाम, झापा, सप्तरीलगायत जिल्लामा बसोबास गर्छन् ।

प्रकाशित : चैत्र २, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?