कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उर्लाबारी युवक मृत्यु प्रकरण : गिरीलाई एक लाख धरौटीमा छाड्न आदेश

देवनारायण साह

मोरङ — उर्लाबारी-५ का ३१ वर्षीय प्रविण बास्तोलाको शंकास्पद मृत्यु भएको प्रकरणमा प्रतिवादीमध्ये थप एक जनालाई जिल्ला अदालत मोरङले सोमबार एक लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उर्लाबारी-६ का रमेश गिरीलाई एक लाख धरौटीमा छाड्ने आदेश गरेको अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले बताए । आइतबार प्रहरीको सम्पर्कमा आएका गिरीलाई नियन्त्रणमा लिई प्रहरीले सोमबार जिल्ला अदालतमा उपस्थित गराएका थिए । अदालतले बयान लिएपछि न्यायाधीश लामिछानेले धरौटीमा छाड्ने आदेश दिएको सूचना अधिकारी धमलाले बताए । गिरीकै घरमा बास्तोलाको पुस ४ गते राती हत्या भएको थियो ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राई गिरी आफैं प्रहरीको सम्पर्कमा आएपछि आइतबार नियन्त्रणमा लिएको बताए । उक्त घटनामा संलग्न रहेका अझै तीन जना फरार छन् । फरार रहेका उर्लाबारी ६ का राजेश रणपहेली, सुदीप परियार र दीपेश पौडेलको खोजी कार्य भइरहेको र उनीहरु पनि चाँडै पक्राउ पर्ने राईको भनाई थियो ।

उक्त घटनाको सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षडयन्त्र गरेको भन्दै परिवारजन विरोधमा उत्रेपछि प्रहरीले गत मंगलबार ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । प्रहरीले मिसिलसाथ उपस्थित गराएका उर्लाबारी-६ का रिकेश शिवा भन्ने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्न र होटल सञ्चालक कुमार राईलाई ३ लाख धरौटीमा छाड्ने जिल्ला न्यायाधीश लामिछानेको इजलासले बिहीबार आदेश दिएको थियो ।

प्रकाशित : फाल्गुन १७, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?