कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बदलिएको विराटनगरका साक्षी

जितेन्द्र साह

विराटनगर — विराटनगर मेनरोडको फुटपाथ, नरिवलको बोट र झिंगुर राम । मुख्य बजार क्षेत्रका यी तीनबीच गहिरो र मार्मिक सम्बन्ध छ । राम झन्डै साढे ६ दशकदेखि महानगरको आरोह–अवरोहका साक्षीसमेत हुन् ।

बदलिएको विराटनगरका साक्षी

किशोरावस्थामा महानगरमा पाइला राखेका रामले यहीँबाटै धेरै परिवर्तन देखे, भोगे । ट्राफिक प्रहरी कार्यालय छेउको आन्तरिक राजस्व कार्यालय अघिल्तिरको अग्लो नरिवलको फेदमा बसेर उनी अहिले पनि जुत्ताचप्पल मर्मत गर्छन् । यसअघि उक्त कार्यालयको ढोकाभन्दा दक्षिणपट्टिको पर्खालसँग टाँसिएर लहरै राम र उनका आठ जना साथी बस्थे । तीन महिनाअघि महानगरपालिका कार्यालयले फुटपाथको अवरोध हटाउने अभियानले उनीहरूको उठीबास भयो । महिना दिनसम्म भौंतारिँदै हिँडे । बसेर काम गर्न उपयुक्त थलो पाएनन् ।

मुख्य बजार क्षेत्रमा बसेर मात्र गुजारा हुने भएपछि राम र साथीहरूले राजनीतिकर्मी एवं नागरिक समाजसमक्ष हारगुहार गरे । त्यसपछि महानगरपालिकाले आवागमनमा अवरोध हुन नदिने सर्तमा उनीहरूलाई सडकको पश्चिमोत्तर कुनामा बूढो नरिवलको रूख भएका ठाउँमा बस्न अनुमति दियो । फुटपाथ ओगटिँदा नराम्रो देखिएकाले बजार क्षेत्रकै उपयुक्त थलोमा बस्ने प्रबन्ध मिलाउनेबारे पनि गृहकार्य भइरहेको महानगरले जनाएको छ ।

जुत्ताचप्पल मर्मत गर्ने श्रमिकमा सबैभन्दा जेठा राम यही बूढो नरिवलको छहारीमा बसेर ग्राहक कुर्छन् । ‘नरिवल खसिहाले पनि टाउको नफुटोस् भनेर छाताको जोगाड गरेको हुँ,’ ७३ वर्षीय रामले भने । यो रूख र उनीबीचको सम्बन्ध भने निकै पुरानो छ । अढाई दशकअगाडि कार्यालयभित्र र बाहिर भएको वृक्षरोपणमा उनी पनि सहभागी थिए । ‘रोपेको दुई वर्षसम्म यो नरिवलको बोटमा मैले पनि पानी हालेको छु,’ उनी खुसी हुँदै भन्छन्, ‘अहिले यसकै छहारीमा बस्न पाएको छु ।’ त्यतिखेर नरिवलका चार र आँपका तीन बिरुवा रोपिएको रामले सम्झिए । आँप र नरिवलका एक/एक बोट भने पछि काटिए । ‘सिजनमा आँप र नरिवल खसेका बेला टिपेर खान्छौं पनि,’ उनले भने, ‘ईश्वरको कृपाले अहिलेसम्म टाउकामा नरिवल खसेको छैन ।’

जुत्ताचप्पल बनाउनु राम र उनका साथीको पुर्ख्यौली पेसा हो । २०१३/१४ सालदेखि विराटनगरलाई कर्मथलो बनाएका उनी भारत विहारको दरभंगा मजेदुलारपुरका हुन् । रामभन्दा अगाडि उनका दाजु जुठी राम रोजगारीका लागि विराटनगर आएका थिए । उनको निधन भएको २२ वर्ष भयो । उनले पनि जुत्ताचप्पल मर्मतकै काम गरे । सरोचियामा डेरा बस्ने राम विराटनगरको विकासको पनि साक्षी हुन् ।

‘पहिलोपटक यो बजार क्षेत्रमा पाइला राख्दा अगाडि तीन वटा टिनका घर र बाँकी झुपडी मात्र थिए, वरिपरि भाङको झाडी देखिन्थ्यो,’ उनले सम्झिए, ‘चापाकल र धारा थिएनन्, वरिपरि तीनवटा इनार थिए, त्यसैको पानी खान्थ्यौं ।’ त्यतिखेर जुत्ता पालिस गर्दा उनी १० पैसा पाउँथे । दैनिक अधिकतम ५ रुपैयाँसम्म आम्दानी हुन्थ्यो । अहिले जुत्ता पालिस गरेको ४० रुपैयाँ लिन्छन् र दैनिक ७ सय रुपैयाँसम्म आम्दानी गर्छन् ।

वर्षमा एकपटक घर जाने रामका लागि यो महानगर सबथोक हो तर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथमा नबस्न उर्दी जारी गर्दा उनको मन पोल्छ । दुई दशक अवधिमा आफूहरूलाई बजार क्षेत्रको यो थलोबाट दुईपटक हट्न भनिएको उनले बताए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेकै बखत पनि महानगरपालिकाले हटाउन खोजेको उनले सम्झिए । ‘विराटनगर आएको मौकामा गिरिजाबाबुलाई हामीले निवासमै भेटेर पेसाबाट विस्थापित हुन लागेको पीडा सुनायौं,’ उनले भने, ‘उहाँले घरमै चिया खुवाउनुभयो । महानगरका हाकिमलाई भनेर उठिबास हुन नदिने बताउनुभयो ।’

फुटपाथमा बसेर काम गर्नु बाध्यता भएको राम बताउँछन् । ‘बजार क्षेत्रबाहिर हाम्रो व्यवसाय चल्दैन,’ उनी भन्छन्, ‘उहिलेदेखि यही थलोमा बसेको हुनाले सबै पुस्तासँग घनिष्ठता भएको छ, उहाँहरूले हामीलाई भेट्ने स्थायी ठेगाना यही हो । यहाँबाट हटायो भने भगवान्कै भरमा जीवन चल्छ ।’ रामको विहारस्थित घरमा वृद्ध श्रीमती लीलादेवीबाहेक कोही छैन । एक्ली छोरीको बिहे भइसकेको छ । रोजीरोटी जोडिएको हुनाले रामको तनमन विराटनगरमै रमाउँछ । ‘हातगोडा चलुन्जेल कर्मभूमि छाड्दैनौं,’ उनी भन्छन्, ‘अन्तिम बेला मात्र घर फर्कने हो, त्यतिन्जेल कर्म नै जीवन हो ।’

प्रकाशित : फाल्गुन १६, २०७७ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?