कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा १२ वर्षपछि बाक्लो हुस्सु

मंगलबार यहाँको न्यूनतम तापक्रम १४.४ डिग्री सेल्सियस र भिजिबिलिटी ५० मिटरभन्दा कम थियो

सुनसरी — धरानमा मंगलबार बिहानदेखि लागेको बाक्लो हुस्सुले चिसो बढाएको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ । हुस्सुले ‘भिजिबिलिटी’ ५० मिटरभन्दा पनि कम थियो । तीनतिर पहाडले घेरिएको र एकातिर तराईको चारकोसे जंगलसँग जोडिएको धरान भौगोलिक बनावटअनुसार हुस्सु वा भुइँकुहिरो अत्यन्तै कम लाग्ने क्षेत्र मानिन्छ ।

धरानमा १२ वर्षपछि बाक्लो हुस्सु

विगतका हिउँदमा बिहान केहीबेर पातलो हुस्सु लागे पनि दिनमा घाम लाग्ने गरेको थियो । धरानस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार २०६५ सालको पुसमा दुई सातासम्म यहाँ बाक्लो हुस्सु लागेको थियो । ‘यतिबेला तराईमा शीतलहर चल्नु सामान्य हो । तर लामो समयपछि धरानमा पानीको वाष्फीकरणसहितको बाक्लो हुस्सु लाग्नुमा पश्चिमी न्यून चापीय प्रणालीको असर मुख्य कारण हो,’ कार्यालयका सहायक मौसमविद् अखिलेश चौरसियाले भने । उनका अनुसार मंगलबार धरानको न्यूनतम तापक्रम १४.४ डिग्री सेल्सियस थियो ।

नेपाल उड्डयन प्राधिकरण, धरान उपमहानगरपालिका र एक निजी संस्थाले पटक–पटक गरेको पर्यावरण र वातावरणीय भौगोलिक सर्वेको प्रतिवेदनमा यहाँ हुस्सु नलाग्ने, यदि लागिहाले भिजिबिलिटीसहितको पातलो मात्र लाग्ने उल्लेख थियो । चौरसियाले भने, ‘धरानको भूगोल तराईसँग मिल्दोजुल्दो भएकाले तराईको शीतलहर उत्तरतर्फ सर्दै जाँदा हुस्सुको रूप लिएको हो । तर यो शीतलहर भने होइन । शीतलहर तराईको मौसमी गतिविधि हो । धरानमा शीतलहर चल्दैन, हुस्सुको रूप मात्र लिएको देखिन्छ ।’

जलवायु तथा मौसम विज्ञानअनुसार सामान्यतया भू–सतहको माथि रहेको आद्र्र हावा अत्यधिक चिसो भएपछि जलकणको समूहमा परिणत भई धुन्धको रूपमा बसिरहेको हुन्छ । त्यसैलाई कुहिरो वा हुस्सु लागेको भनिन्छ । बादलको निर्माण प्राय: तातो हावामाथि गई चिसो हुने कारणले हुन्छ । चौरसियाले भने, ‘तर यिनीहरूको निर्माण धरातलीय सतहको नजिक विकिरण परिचालन तथा तातो र चिसो हावाको सम्मिश्रणबाट हुने गर्छ । धरानमा देखिएको हुस्सु एक किसिमको बादल नै हो । जुन सामान्य बादलभन्दा विपरीत धरातलसँग जोडिएर भिजिबिलिटी कम गराउँछ ।’

जलकणसहितको हुस्सु दिनभर वा केही हप्तासम्म आकाशलाई ढाकेर बसेमा सूर्यको किरण जमिनसम्म आउन छेकिने र यस्तोमा जलकणको व्यास सय माइग्रेनभन्दा कम हुने बताए ।

प्रकाशित : पुस २८, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?