कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ का औद्योगिक समस्याबारे मन्त्रालयका अधिकारीको ध्यानाकर्षण

विराटनगर — प्रदेश १ का उद्योगी व्यवसायीले उद्योग–व्यापर क्षेत्रका समस्याबारे उद्योग मन्त्रालयका उच्च पदाधिकारीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका छन्।

प्रदेश १ का औद्योगिक समस्याबारे मन्त्रालयका अधिकारीको ध्यानाकर्षण

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का पदाधिकारीले उद्योग सचिव चन्द्रकुमार घिमिरेसमक्ष उद्योग क्षेत्रमा देखिएको समस्याबारे जानकारी गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष टीकाराज ढकालले श्रमिक विदेशिने क्रम र कोभिड–१९ महामारीका कारण विदेशी श्रमिकसमेत काममा लगाउन नपाएकाले औद्योगिक क्षेत्र समस्यामा परेको बताए ।

नेपालभित्र आत्मनिर्भर हुने उद्योगलाई प्रोत्साहन गर्न जोड दिए । विदेशी कामदार ल्याउन नसक्दा इँट्टाभट्टा उद्योग, प्लाइउडलगायत उद्योगहरु बन्द हुने अवस्थामा पुगेको ढकालले बताएका थिए । भन्सारमा जाँचपास भइसकेका मालबाहक सवारी साधन बीचमा पर्ने बाटोमा फेरि जाँच गर्ने प्रवृत्ति रोक्न आग्रह पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले ठूलो परिमाणको कार्गो भित्र्याउन रेलमार्गको सुविधा उपलब्ध हुने व्यवस्था गर्न माग गरे । त्यसो गरे लागत कम पर्ने उनको भनाइ थियो ।

जग्गाको मूल्य अत्यधिक बढेकाले उद्योग स्थापना गर्न समस्या भएको उनले बताए । उद्योग खोल्नका लागि लिजमा जग्गा उपलब्ध गराउनुपर्ने बोहोराले बताए ।

उद्योग सचिव घिमिरले रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्रमा टेवा पुगेको बताउँदै रेमिट्यान्सबाट आयातकर्ता र जग्गा कारोबारीलाई फाइदा पुगेको उल्लेख गरे ।

उनले रेमिट्यान्ससँगै उत्पादनमूलक उद्योगलाई प्राथमिकता राखेर मुलुकको आर्थिक विकासमा टेवा पुराउनुपर्ने बताए । कार्यक्रमा झापा, मोरङ, सुनसरी, ताप्लेजुङ लगायत जिल्लामा रहेका महासंघका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित : पुस २५, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?