कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आँखाको ज्योति फर्किंदाको खुसी

तस्बिर : मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा ९ सय ९ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । दिवंगत थाई राजा भूमिबोल अदुल्यादेजको स्मृतिमा आयोजित ४ दिने निःशुल्क आँखा उपचार शिविरमा दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बिरामीको उपचार गरिएको थियो ।

सीमावर्ती भारतीय गाउँ र सहरका बिरामीले पनि शल्यक्रिया गराएका थिए । ३ महिला र २ पुरुषको एकै पटक दुवै आँखा शल्यक्रिया गरेर ज्योति फर्काइएको छ । यी ५ जनाको समयमै शल्यक्रिया नगरे आँखाको ज्योति गुम्ने जोखिम भएपछि एकै पटक गरिएको हो । ‘सामान्य अवस्थामा गरिँदैन,’ वरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइतले भने, ‘तर उनीहरूको गर्ने पर्ने थियो ।’

राजकीय थाई गुम्बा, थाई राजदूतावास र लुम्बिनी स्वर्णभूमि फाउन्डेसनको आयोजनामा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख डा. सन्दुक रुइत नेतृत्वको २४ सदस्यीय स्वास्थ्यकर्मी टोलीले शल्यक्रिया गरेको हो । सबै बिरामीलाई अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रिया गरिएको थियो । शिविरबाट एकल, असहाय र दैनिक ज्याला मजदुरी गर्ने लाभान्वित बनेका छन् । ‘चुलोचौको गर्नै धौ धौ थियो’ कपिलवस्तुको शुद्धोदन गाउपालिका सानो सिसहनीया भानमति पालले भने, ‘दाहिने आँखा शल्यक्रिया गरेर देख्न पाउँदा खुसी छु । अब अर्को वर्ष बाँया आँखा पनि यहीँ आएर शल्यक्रिया गर्छु ।’

थाइल्यान्डको माडीडोल विश्वविद्यालयका प्राध्यापक डा. पोन्चाईको नेतृत्वमा पनि १५ सदस्यीय स्वास्थ्यकर्मीको टोली आएको थियो । रकम अभावमा मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेकालाई शिविर लक्षित गरिएको थियो । शल्यक्रियाका लागि बिरामी छान्न आयोजित तीन दिने शिविरमा ३ हजार ३४७ जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा १२ देखि ७५ वर्षसम्मका व्यक्तिको उपचार गरिएको थियो ।

प्रकाशित : मंसिर २५, २०८० १३:२४
प्रतिक्रिया
पठाउनुहोस्