कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

किरात गोल्डकपमा खचाखच दर्शक [तस्बिरहरु]

लक्ष्मी गौतम

पाँचथर — घरेलु मैदान, वरिपरि बाँस प्रयोग गरेर बनाइएका अस्थायी प्याराफिट । ती प्याराफिटमा नअटेर मैदानको भित्ता हुँदै नजिकको घरका छतसम्म कोचाकोच दर्शक । पाँचथरको फिदिममा शनिबार सम्पन्न किरात गोल्डकपले पाइरहेको दर्शकको निरन्तरको उत्साहजनक सहभागिता र साथले खेलप्रति पूर्वका दर्शकको क्रेजलाई प्रस्ट पारेको छ ।

२०७५ सालसम्म फिदिममा बर्सेनि फाल्गुनन्द र पाँचथर गोल्डकप गरेर दुईवटा ठूला प्रतियोगिता आयोजना गरिन्थे । २०७५ को वर्षामा बजारमा अवस्थित फिदिम माविको खेल मैदानको पर्खाल भत्कियो । ०७६ पछि कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै कुनै पनि प्रतियोगिता आयोजना भएनन् । भत्केको खेल मैदानको पुनः निर्माण र स्तरोन्नतिले गति लिन सकेन । ५ वर्षसम्म खेलकुद गतिविधि शून्य थिए । यो वर्ष त्यही मैदानलाई फुटबल खेल्न हुनेसम्म स्तरवृद्धि गरेर प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किरात गोल्डकपको आयोजना गरियो । निकै लामो समयपछि सदरमुकाममा आयोजित प्रतियोगिगताले उद्घाटन चरणदेखि नै दर्शकको साथ राम्ररी पाएको छ ।

फुटबल सुरु हुनुअघि दूधे बालक च्यापेका आमासँगै ज्येष्ठ नागरिक र प्रौढ खेल हेर्न मैदान पुग्छन् अनि हतारहतार गर्दै बाँसका प्याराफिटमा आफ्नो सिट सुरक्षित गरे ।खेलमा नेपालको ए डिभिजन लिगमा खेल्ने खेलाडीसँगै मित्रराष्ट्र भारतको दार्जिलिङसम्मका फुटबल क्लबको सहभागिता रहेकाले आफूहरुको मन खेलतर्फ तानिएको दर्शकहरु टिप्पणी गर्छन् । मैदानमा फुटबल हेर्न साढे ६ हजार जना क्षमताको अस्थायी प्याराफिट बनाइएको छ । त्यो बाहेक मैदानको भित्तामा रहेको स्थायी प्याराफिट र बारीका डिलसम्म गरी २ हजार दर्शक अटाउँछन् । प्रायःदैनिक जसो सबै ठाउँ खाली हुँदैनन् । यतिले नपुगेर मैदान नजिकैको घरका छतबाट समेत दर्शकले फुटबल हेरेर मनोरञ्जन लिए । यसपटक आयोजित किरात गोल्डकपको फाइनलमा शनिबार करिब ८ हजार दर्शकले फुटबल हेरेको गोल्डकपका अर्थ सचिव प्रज्वल बाँस्कोटाको दाबी छ ।

प्रकाशित : मंसिर २३, २०८० २०:१२
प्रतिक्रिया
पठाउनुहोस्