कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सगरमाथामा सधैं नेपाली झन्डा [तस्बिरहरु]

सुरज कुँवर

कालापत्थर — पृथ्वीकै अग्लो सगरमाथामा मानव पाइला पुगेको ७० वर्ष पुगिसकेको छ । यो अवधिमा ८ हजार ८ सय ४८ मिटर उचाईको चुचुरोमा नेपालीसहित सयौं मुलुकका आरोहीले थुप्रैपटक झन्डा फहराए । आरोहण सकिएसँगै ती झन्डाको पनि काम सकिन्छ । त्यहाँ रहँदैनन् । छुटफुट झन्डा पनि हावाको तीव्र वेगले उडाइहाल्छन् ।

वर्षमा वसन्त, ग्रिष्म–वर्षा, हेमन्त र शिशिर गरी चार सीजन संचालन हुने आरोहण सकिएपछि सुनसान हुने विश्वकै यो अग्लो शिखर पछिल्ला वर्ष जलवायु परिवर्तनको चपेटामा परेको छ । सेताम्य हिउँ पग्लेर काला चट्टान ठिंग उभिएका छन् । हिमनदीमा पानी छैन । हिमतालको आकार घट्दो छ । सेतो हिमाल चुचुरोको टुप्पोमा झन्डा फहराउने सपना बोकेर सगरमाथा आधारशिविर पुग्ने आरोहीहरु काला पहाड देखेर खिन्न हुन्छन् ।

मानवीय क्रियाकलापका कारण बढ्दो तापक्रमले हिमालमा हिउँ पग्लिने क्रम नथामिएपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा विश्वकै नजर तान्न झन्डोत्तोलन गरे । प्रधानमन्त्रीले ५६ सय मिटर उचाईमा रहेको कालापत्थरमा राष्ट्रिय झन्डा फहराए । सगरमाथाले मानव पाइला पुगेको ७ दशकपछि सधैं फहराइरहने राष्ट्रिय झन्डा पाएको छ । त्यहाँ नेपाल पर्वतारोहण संघले आफ्नो स्थापनाको ५० वर्ष पुगेको छेको पारेर झन्डा राखेको हो । अध्यक्ष निमा नुरु शेर्पाका अनुसार नेपालकै सबैभन्दा उचो स्थानमा राखिएको राष्ट्रिय झन्डामार्फत अब सगरमाथासँगै नेपालको पनि विश्वभर प्रचार हुने छ । ‘जति पनि सगरमाथाका तस्बिर सार्वजनिक छन् ती अधिकांश कालापत्थरबाट खिचिएका हुन्, अबका दिन आरोही हुन् वा पर्यटकले खिच्ने फोटो/भिडियोमा सगरमाथाको अघिल्तिर एउटा राष्ट्रिय झन्डा पनि फहराइरहने छ । जसले नेपाललाई पनि विश्वमा प्रचार गर्ने छ,’ उनले भने ।

झण्डै तीन महिना लगाई आरोही स्पीड काजी शेर्पाले काठमाडौंबाट निर्माण सामग्रीसहित त्यहाँ झन्डा पुर्‍याएका हुन् । उनका अनुसार हेलिकप्टरबाट फलाम डन्डीलगायत निर्माण सामग्री काठमाडौंबाट ओसारिएको थियो । संघका कोषाध्यक्ष मुक्ति पाण्डेका अनुसार झन्डा राखिएको स्थानमा सन् २००९ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित २४ सदस्यीय मन्त्रिपरिषद्‌को बैठक बसेको थियो ।

जलवायु परिवर्तनले नेपालमा पारेको असर विश्वलाई देखाउन १४ वर्षअघि मन्त्रिपरिषद्‌को बैठक बसेको स्थानलाई चिनाउन र जलवायु परिवर्तनले हिउँ पग्लिने प्रणालीमा पुर्‍याएको नकारात्मक असरबारे संसारको ध्यान खिच्न राष्ट्रिय झन्डा राख्ने निर्णय भएको कोषाध्यक्ष पाण्डेले बताए ।

त्यसताका कालापत्थरमा कृत्रिम अक्सिन मास्क लगाएर प्रधानमन्त्रीसहित २४ जना मन्त्रीको बैठक कालापत्थरमा भएको थियो । यसपटक कृतिम अक्सिजनसहित पुगेका प्रधानमन्त्री दाहालले अर्को साता दुबईमा हुने जलवायुसम्बन्धी कोप-२८ सम्मेलनमा नेपालले जलवायुवित्तको पहुँचमा भोगिरहेको समस्या, विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रसमक्ष नेपालबारे पैरवी गर्ने बताए ।


प्रकाशित : मंसिर ७, २०८० २०:३९
प्रतिक्रिया
पठाउनुहोस्