कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पर्यटकलाई ढाका टोपी [तस्बिरहरु]

आश गुरुङ

लमजुङ — चेक गणतन्त्रबाट मनास्लु पदमार्ग घुम्न आएका १० वर्षीय जोन बुवा डेभिड र आमासँगै चक्रीय अन्नपूर्ण पदमार्ग हुँदै बेंसीसहर झरे । बेंसीसहर नगरपालिका-७, मनाङे चौतारामा बुधबार बिहान प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले अबिरको टीका र बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले ढाका टोपी लगाइदिँदा उनी मख्ख थिए । उनले किन लगाइदिएका हुन् भनी भेउ पाउन सकेनन् ।

‘हामी त मनास्लु घुमेर फर्कियौं । बाटोमै यस्तो स्वागत हुन्छ भन्ने सोचेको पनि थिएन,’ जोनका बुवा डेभिडले भने, ‘हाम्रो परिवारलाई नेपालीले भव्य स्वागत गरेकोमा धन्यवाद भन्छु ।’ उनले बुधबार ४४ औं विश्व पर्यटन दिवसबारे यहीं आएर थाह पाएको बताए ।

दक्षिण अफ्रिकाबाट आएकी केम नेपाली ढाका टोपी लगाउन पाउँदा निकै खुसी थिइन् । सँगै आएकी कमलालाई पनि छेउबाट आफूतिर तानेपछि उपस्थितले उनलाई पनि ढाका टोपी लगाइदिए । ‘पहिलोपटक नेपाल आएकी हुँ । नेपाली स्वागत देखेर हामी खुसी छौं । यो खुसी हामी हाम्रो देशमा पुगेर परिवारलाई बाँड्नेछौं,’ उनले भनिन् ।

होटल व्यावसायी संघको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय र बेंसीसहर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आउने पर्यटकलाई पर्यटन तथा उद्योग कार्यालय प्रमुख मिताकुमारी थापा, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, पूर्वअध्यक्ष एवं होटल व्यावसायी रामकुमार श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछानेलगायतले फूलका गुच्छाले पर्यटकलाई स्वागत गरे ।

४४ औं विश्व पर्यटन दिवसको अवसरमा बुधबार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङले बेंसीसहरस्थित पर्यटक शुल्क तथा सूचना केन्द्रमा कार्यक्रम गरी पर्यटकको स्वागत गरेको छ । चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकलाई खादा र अबिरको टीका लगाएर स्वागत गरिएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताए ।

एक्यापले आयोजना गरेको अन्तरक्रियामा गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले कोभिडपछि सोचेअनुरुप पर्यटकको आगमन हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानकेन्द्रित हुनुपर्नेमा जोड दिए । पर्यटन तथा उद्योग कार्यालयले आयोजना गरेको अन्तरक्रियामा गण्डकी प्रदेशसभा सदस्य डा. टकराज गुरुङले पर्यटकलाई आकर्षित गराउन पूर्वाधारको आवश्यक पर्ने र यसका लागि निजी क्षेत्रले भन्दा सरकारले पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित : आश्विन १०, २०८० १८:०९
प्रतिक्रिया
पठाउनुहोस्