२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

बाघ स्याहार्दै पार्वती

तस्बिर : मनोज पौडेल

दुई वर्षयता बर्दिया राष्ट्रिय निकुञ्जकी सिनियर गेम स्काउट पार्वती आचार्यको दिनचर्या बाघको स्याहारसुसारमै बित्दै आएको छ । उनी बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुर सेक्टर कार्यालयअन्तर्गत उद्धार केन्द्रमा रहेका दुई बाघको हेरचाहमा खटिएकी छन् । यी तिनै भाले र पोथी बाघ हुन्, जसले निरन्तर मानिसमाथि आक्रमण गरेको भन्दै निकुञ्जले समस्याग्रस्त बाघको रुपमा पहिचान गरेर थुनेको हो ।

पोथी बाघ १४ महिना र भाले बाघ साढे दुई वर्षदेखि यहाँ छन् । गत वर्ष बर्दिया मधुवन नगरपालिकाको ओरालीमा एक महिलालाई आक्रमण गरेर मारेपछि समस्याग्रस्त घोषणा गरेर पोथी बाघलाई नियन्त्रणमा लिई यहाँ ल्याइएको थियो । भाले बाघले पनि २०७८ मा गेरूवा गाउँका स्थानीयलाई आक्रमण गरी मारेपछि समस्याग्रस्त घोषणा गरेर निकुञ्जले नियन्त्रणमा लिएको हो ।

ठाकुरबाबा–९ ठाकुरद्वाराकी ३७ वर्षीया आचार्यले निकुञ्जका विभिन्न निकायमा काम गरेको १५ वर्ष भयो । पछिल्लो जिम्मेवारी उद्धार केन्द्रको हो । उनी मुख्य र सहायक गेटका साँचो आफैंसँग राख्छिन् । बाघ हेर्नेदेखि अनुसन्धान गर्नेसम्मका मानिस आउँदा उनैले ताला खोलेर देखाउने गर्छिन् । ‘२४ सै घण्टा ड्युटीमा खटिनुपर्छ,’ उनले भनिन्, ‘त्यही पनि यसो समय मिल्यो भने वनजंगल घुम्न निस्किन्छु ।’ दरबन्दीअनुसारका कर्मचारी नहुँदा आफूले अतिरिक्त काम गर्नुपरेको उनले सुनाइन् ।

बाघलाई दिन बिराएर आहारा दिनुपर्छ । एक पटकमा १५ केजी राँगाको मासु उनीहरुको आहारा बन्ने गरेको छ । उनी रम्मापुरबाट १८ किलोमिटर टाढाको भुरीगाउँ पुगेर आहारा संकलन गर्छिन् । ‘एक पटकमा ५०/६० केजीसम्म मासु ल्याउँछु,’ उनले भनिन्, ‘मासु डिफ्रिजमा राखेर पुर्‍याइदिन्छु ।’

हरेक साता/१० दिनमा बाघ थुनिएका खोर सफा गर्न पुग्नैपर्छ । फलामे बारसहितको खोर दुई भागमा बाँडिएको छ । एउटामा बाघलाई आराम गर्न र अर्कोमा आहारा खुवाउन प्रयोग गरिएको छ । ‘बाघ फुत्त निस्केर आराम गर्ने कोठामै लगेर आहारा खान्छ,’ उनले भनिन्, ‘त्यसैले आराम गर्ने कोठा सफा गर्न ज्यादै सकस पर्छ ।’ मान्छेको सुइँको पाउँदासम्म एउटा कोठाबाट बाघ अर्को कोठामै निस्कँदैन । ‘कहिलेकाहीं त कुरेको कुर्‍यै हुन्छु,’ उनले भनिन्, ‘आहारा खाने कोठामा पुगेपछि बस्ने कोठामा आउने ढोका नै बन्द गर्छु ।’ यसरी बाघ बस्ने कोठा सफा गर्ने गरेको उनले बताइन् ।

यहाँको ड्युटीमा खटिँदा सुरूसुरूमा त बाघको गर्जनले आफूलाई तर्साउने गरेको पार्वतीले सुनाइन् । ‘अहिले त बानी परिसक्यो,’ उनले भनिन्, ‘बाघको गर्जनसँग घुलमिल हुन थालेकी छु ।’ खोर सफा गर्न तीन जना सहयोगी छन् । ‘झम्टिनै खोज्छ,’ उनले भनिन्, ‘पन्जाले ढोकामा हानेर पनि तर्साउँछ ।’ तर, दिनदिनै बाघसँग रमाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको उनले बताइन् । ‘कति मान्छेले लाखौं खर्च गर्दा पनि बाघ हेर्न पाउँदैनन्,’ उनले भनिन्, ‘बाघको स्याहारको जिम्मेवारीमा खुसी छु ।’


प्रकाशित : श्रावण १०, २०८० १०:४१
प्रतिक्रिया
पठाउनुहोस्