ऐतिहासिक मुद्राहरूको प्रदर्शनी [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — नेपाल मुद्रा संकलक संघले तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी आयोजना गरेको छ । बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा जारी मुद्दा प्रदर्शनी बुधबार सकिँदैछ । राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो ।

प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ। पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको संघको महासचिव समेत रहेका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले जानकारी दिए ।

नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो । नेपाल राष्ट्र बैंकको स्थापना नभए पनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी ५, १० र १०० रूपैयाँका नोट प्रकाशन भएको इतिहास रहेको आयोजक समितिका सदस्य राजु श्रेष्ठले जानकारी दिए । मुद्राको इतिहास रक्षाका लागि पनि मुद्रा संकलन महत्त्वपूर्ण हुने जनाइएको छ।

प्रदर्शनीमा भारतका मुद्रा संकलकको पनि सहभागिता रहेको छ। गत वर्ष भारतको कोलकातामा पनि यस्तै प्रदर्शनी गरिएको आयोजक समितिका अर्का सदस्य चन्द्ररवि श्रेष्ठले जानकारी दिए। संघमा हाल तीन सय ५९ सदस्य सक्रिय रहेका छन्। जसले निरन्तररूपमा मुद्रा संकलन गर्ने गरेको जनाइएको छ। प्रदर्शनीमा मुद्रा किनबेच गर्नसमेत पाइने छ। पुराना मुद्राको निश्चित मूल्य नतोकिने भएकाले आपसी समझदारीमा किनबेच गर्न सकिने आयोजक समितिले जनाएको छ ।


प्रकाशित : चैत्र १५, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

प्राकृतिक चिकित्सालयका थेरापी उपकरण एक वर्षदेखि अलपत्र

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका, ४ तातोपानीमा प्राकृतिक चिकित्सालय खोल्न ल्याइएका तातोपानी थेरापी उपकरणहरू एक वर्षदेखि अलपत्र छन् ।

नेपालमा पहिलो पटक प्राकृतिक तातोपानीसँग जोडेर तातोपानी कुण्ड व्यवस्थापन समितिले सौना स्नान, थेरापी र योगालाई जोडेर ‘तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय’ अघिल्लो वर्ष संञ्चालनमा ल्याइएको थियो ।

अघिल्लो वर्ष नै मसाज थेरापी, हाईड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेचुरोप्याथिक थेरापी र अकुपंचरका उपकरण ल्याइएको थियो । तर कानुनी अड्चन देखिएको भन्दै ती उपकरण थन्क्याएर राखिएको छ ।

‘प्राकृतिक तातोपानीमा नेपालकै पहिलो तातोपानीमा आधारित प्राकृतिक अस्पताल खोल्न विभिन्न उपकरण ल्याई सेटअप गर्ने क्रममा थियौं । कानुनी प्रकृयामा अल्झन आएपछि रोकिएको अवस्था छ । उपकरणहरु प्लास्टिकले छोपेर राखेका छौं,’ तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य कुमार केसीले धुलाम्मे भएका प्लास्टिकले छोपेका थेरापी उपकरणहरु देखाउँदै भने, ‘लाखौं मूल्यका यी उपकरण चलाउन प्राकृतिक चिकित्सक पनि ल्याएका थियौं । छिटै नयाँ प्रकृयाबाट चलाउने तयारीमा समिति जुटेको छ ।’

संस्था दर्ता ऐन अर्न्तगत दर्ता भएको तातोपानी कुण्ड व्यवस्थापन समिति मार्फत प्राकृतिक सामुदायिक चिकित्सालय संञ्चालन तयारी भइरहँदा समिति भ्याटमा दर्ता हुन र समितिको विधानको उद्देश्यमा प्राकृतिक/प्रविधि चिकित्सालय संञ्चालन गर्ने सम्बन्धी बुँदा थप्न बेनी नगरपालिकाले सुझाएपछि अभियान प्रभावित भएको थिायो ।

‘भ्याट समेतमा अल्झेको सबै कानुनी अल्झन सकिएको छ । अब छिट्टै थन्किएका तातोपानी थेरापीका सामग्री उपयोगमा आई प्राकृतिक चिकित्सालय संञ्चालन आउने छ,’ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भने, ‘अब कुण्ड व्यवस्थापन समितिको अधिवेशन गरी विधान र प्रबन्ध पत्र संशोधनपछि यही आर्थिक वर्षमा चिकित्सालय संञ्चालन गर्ने योजनामा छौं ।’


तातोपानी कुण्ड व्यवस्थापन समितिले परम्परागत प्राकृतिक तातोपानी पोखरीमा डुबुल्की लगाउँदै आएको उपचार विधिमा योगा थेरापी, मसाज थेरापी, हाईड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेचुरोरोप्याथिक थेरापी र अकुपंचर विधिबाट पनि उपचारका लागि ल्याइएका सबै थेरापीका उपकरण थन्क्याएर राखिएको हो ।

जवकि प्राकृतिक चिकित्सालय खोल्न आर्थिक वर्ष ०७७/०७८ मा संघीय सरकारको अघिल्लो आर्थिक वर्षमा ५० लाख र थेरापीका उपकरण खरिद गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको ५० लाख बजेट खर्च भइसकेको छ ।

बेनी नगरपालिकाका मेयर सुरत केसीका अनुसार त्रुटि सच्याएर प्रक्रियागत रुपमा आए नगरपालिकाले चिकित्सालय संञ्चालन गर्न अनुमति दिनेछ ।

यद्यपि सबै प्रक्रिया पूरा गरी सकेसम्म छिटो प्राकृतिक अस्पतालबाट सेवा सुरु गर्ने योजनामा आफूहरू रहेको सचिव खड्काले बताएका छन् ।

प्रकाशित : चैत्र १५, २०७९ १६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×