चैते रोपाइँको चटारो

लक्ष्मी गौतम

पाँचथर — पाँचथरका किसानलाई यतिखेर चैते धान रोप्ने चटारो छ । यो बेला रोपिने धान असार अन्तिममा पाक्छ । मध्य बर्खामा पाकेको धान साउनदेखि सुरु हुने सबै खालका चाडपर्व मनाउन प्रयोग गर्न सकिने भएकाले महत्व साथ रोपिने किसानहरु बताउँछन् ।

रोपाइँका लागि खेतमा निस्केका पुरुष कोही मल छर्न कोही जोत्न, कोही हिलोआली गर्न, कोही दाँते लगाएर गह्रा सम्माउन, कोही फ्याउरी लगाएर हिलो माटो मिलाउने व्यस्त भेटिन्छन् । महिलालाई बीऊ काढ्न र गह्रासम्म बीऊका मुठा पुर्‍याउन अनि तयार पारिएको माटोमा छुपुछुपु धान रोप्न भ्याइनभ्याइ छ ।

पाँचथरको फिदिम नगरपालिका फिदिम-२ को होक्मा खोला नजिकैको फाँटमा गोरु नारेर हिलोमाटो तयार गरिरहेका कृष्ण तामाङले चैते धान रोप्ने किसानलाई स्थानीय, प्रदेश र संघीय सरकारसँगै कृषि ज्ञान केन्द्रजस्ता सरोकारवाला निकायले वास्ता नगरेको गुनासो गरे । पाँचथरको फिदिम नगरपालिकासँगै हिलिहाङ मिक्लाजुङ, तुम्वेवा र कुम्मायकका फाँटमा चैते धान रोपिन्छ । पाँचथरसँगै कोशी प्रदेशका तराई र हिमाली जिल्लामा समेत यो धान रोपिन्छ ।

प्रकाशित : चैत्र १४, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्

नापी सर्वेक्षक र लेखापढी व्यवसायीबाट थप साढे ९ लाख नगद र १६ लाखको चेक बरामद

कान्तिपुर संवाददाता

काठमाडौँ — जग्गा कित्ताकाट गरिदिने भन्दै सेवाग्राहीबाट लिएको १ लाख ७५ हजार रुपैयाँ घुससहित पक्राउ परेका मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेष कार्कीको साथबाट अख्तियारले थप साढे ९ लाख रुपैयाँ नगद र १६ लाख रुपैयाँको चेक बरामद गरेको छ ।

नापी सर्वेक्षक कार्कीलाई घुस लिँदालिँदै मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । सोही क्रममा नापी सर्वेक्षकसँग मिलेर घुस डिल गर्ने कार्कीलाई पनि अख्तियारले त्यही क्रममा पक्राउ गरेको थियो ।

त्यसको थप अनुसन्धान गर्ने क्रममा उपरकोटी र कार्कीको साथबाट थप नगद र चेक बरामद भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । प्रवक्ता दाहालका अनुसार कार्कीको साथबाट स्रोत नखुलेको थप ७ लाख ६९ हजार ५ सय नगद र १६ लाख रुपैयाँको चेक तथा नापी सर्वेक्षक उपरकोटीको साथबाट थप १ लाख ८५ हजार ३ सय ८८ रुपैयाँ भेटिएको हो ।

ती सबै नगद र चेकको स्रोत नखुलेको उनले बताए । लेखापढी व्यवसायी कार्की मुक्तिनाथ कानुनी सेवाका प्रमुख हुन् । सेवाग्राहीलाई जग्गा कित्ताकाट गराइदिनु प्रलोभनमा नापी सर्वेक्षक उपरकोटीले कार्कीमार्फत घुस डिल गरेका थिए । त्यसको सूचना पाएपछि अख्तियारको टोली नापी कार्यालयमा पुगेको थियो । त्यसक्रममा नगद १ लाख ७५ हजार रुपैयाँ फेला परेकोमा अनुसन्धानका क्रममा अरु नगद र चेक पनि भेटिएको हो ।

प्रकाशित : चैत्र १४, २०७९ २०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×