कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वात्स्यायनलाई पोखरामा नागरिक अभिनन्दन

दीपक परियार

पोखरा — कार्टुनिस्ट दुर्गा बराल 'वात्स्यायन'लाई शनिबार पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । उनी ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्ममय तथा सामाजिक संघसंस्थाले उनलाई विशेष अभिनन्दन गरेका हुन् ।

नदीपुरस्थित उनको घरबाट सुरू भएको रथयात्रा बगर, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । बाजागाजासहितको रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरे । समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे ।

अभिनन्दन समारोहमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायनलाई 'व्यंग्यचित्रका बादशाह'को उपमा दिए । 'समाजका विकृति, विसङ्गति, राजनीतिका विकृति, विसङ्गतिको विरूद्धमा कार्टुनको माध्यमबाट कसैले युद्ध छेडेका छन् भने त्यो वात्स्यायनले छेडेका छन्,' उनले भने, 'प्रजातन्त्र प्राप्तिको इतिहासमा कार्टुनको माध्यमबाट उनले जति योगदान अरूले पुर्‍याएका छैनन् ।' पोखरालाई पानी रंगको पाठशालाको रूपमा स्थापित गर्न वात्स्यायनको योगदानको उनले चर्चा गरे ।

साहित्यकार सरूभक्तले वात्स्यायन कला क्षेत्रमा निरन्तर साधनाले ऋषित्व प्राप्त गरको व्यक्ति भएको बताए । 'उनी चित्रकला जगतका मूर्धन्य कलाकार हुन्,' सरूभक्तले भने, 'अन्य कलाकारका व्यंग्यचित्रमा वात्स्यायनको प्रभाव देखिन्छ ।' वात्स्यायनलाई उनले पोखरामा जन्मिएका विश्वस्तरीय कलाकारको संज्ञा दिए ।

समारोहमा वात्स्यायनले चित्रकलाका सुरूआति दिनदेखिका आफ्ना संघर्ष गाथा सुनाए । उनले काठमाडौंबाट पोखरा फर्किएर इगल आई आर्ट स्टुडियो खोल्नु सम्पूर्ण कलायात्राको 'टर्निङ प्वाइन्ट' भएको बताए । अभिनन्दनले आफूलाई थप जिम्मेवारीबोध गराएको बताउँदै सक्ने अवस्थासम्म कला सिर्जनालाई निरन्तरता दिने उल्लेख गरे । 'यो अभिनन्दन पाएर आफूलाई सौभाग्शाली सम्झिएको छु,' उनले भने, 'पोखराले गर्दा सबैथोक पाएँ ।'

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले वात्स्यायनलाई अभिनन्दन गर्न पाउँदा पोखरा नै धन्य भएको बताए ।


प्रकाशित : चैत्र ४, २०७९ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकारप्रति लगाएको आरोप पुष्टि गर्न सभामुखलाई महासंघको चुनौती

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएका छन् । 

शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न नवनिर्वाचित देवराज घिमिरेललाई भेट्न गएको थियो । उक्त क्रममा सभामुख घिमिरेले 'पत्रकारहरू र संघ बिक्रीमा रहेको' भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

महासंघको विज्ञप्तिमा भनिएको छ, 'सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।'

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको विज्ञप्तिमा भनिएको छ । सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक आधिकारिक धारणा नआएको पनि महासचिव पुरीले बताएका छन् । महासंघले सभामुख घिमिरेलाई आरोप पुष्टि गर्न वा आरोप फिर्ता लिन आग्रहसमेत गरेको छ ।

'महासंघ जननिर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

सभामुखबाट अभिव्यक्ति तत्काल फिर्ता नभए कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य महासंघले बताएको छ ।


प्रकाशित : चैत्र ४, २०७९ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×