१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुतली बगैंचामा यसरी बन्दैछ संघीय संसद् भवन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सिंहदरबारस्थित पुतली बगैंचामा संघीय संसद् भवन निर्माण भइरहेको छ । २०७९ चैतसम्म निर्माण गरिसक्नुपर्ने समयसीमा पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ ।

संसद् भवनको निर्माणबारे संघीय संसद्का पदाधिकारी र सरकारका अधिकारीले बारम्बार अनुगमन गर्ने तथा कामको प्रगति विवरण लिने गरिरहेका छन् । यसैबीच राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सोमबार भवन निर्माणबारे अनुगमन गर्दै चासो राखेको थियो । समिति सभापति मायाप्रसाद शर्माले संसद् भवन निर्माणबारे जानकारी लिँदै त्यसमाथि समितिमा थप छलफल गरिने जानकारी दिएका छन् । संसद् भवनको निर्माण टुन्दी/सेक कम्पनीले गरिरहेको छ । उसले ठेक्का पाएको समय गत असोजमा सकिएको थियो । त्यतिबेला ६ महिना समय थपेर चैतसम्म निर्माण सक्ने सीमा पाएको छ ।

संघीय संसद्को नयाँ भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्ष, संसदीय समितिका सचिवालय, संसदीय दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना निर्माण भइरहेका छन् । अहिले सिंहदरबारमा दुई ठूला भवन र केही अस्थायी भवनमा संचालन भइरहेको सचिवालय र नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडा तिरेर दुवै सदनका बैठक संचालन भइरहेका छन् । संघीय संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १५ करोड ९ लाख रुपैयाँ भाडा तिरिरहेको छ ।

भवन निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले पाएको छ । भवनका मूख्य संरचना बनिसकेपछि इन्टेरियर डेकोरेसनलगायतका काम बाँकी रहनेछन् । त्यसका लागि थप १ वर्ष समय चाहिने ठेकेदार कम्पनीले विभागलाई जानकारी गराएको अधिकारीले बताएका छन् । सिंहदरबारको पुलती बगैंचामा १ सय ५१ रोपनी क्षेत्रफलमा १२ मूल भवनसहित संसद् भवन निर्माण भइरहेको हो ।


प्रकाशित : माघ ९, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्