केही समयअघि मात्रै पुनर्निर्माण सकिएको रानीपोखरीमा लेउ लागेर कुरुप बनेको छ । समय समयमा सरसफाइ नहुँदा पोखरीमा लेउ र फोहर जम्मा भएको थियो । जनस्तर तथा सामाजिक सञ्जालहरुमा व्यापक विरोध हुन थालेपछि महानगर प्रहरीले जाल प्रयोग गरी पानी माथिको लेउ हटाउन सुरु गरेको छ । 'अहिले हामीले पानीमाथि तैरिरहेको लेउमात्र निकाल्दै छौं । जरैबाट लेउ निकाल्न धेरै गाह्रो छ । हामीसँग अहिले त्यस किसिमको उपकरण पनि छैन ।’ लेउ निकाल्न खटिरहेका एक नगर प्रहरीले बताए । हिजो(आइतबार) र आज (सोमबार) गरी दुई दिनदेखि नगर प्रहरीहरु पोखरीको सफाइमा खटिरहेका छन् ।
बिहीबार थारु जातिको मुख्य पर्व माघी काठमाडौं लगायत देशभर मनाइएको छ । हरेक वर्ष माघको पहिलो दिन थारु जातिले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौं लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका डेढ दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यबानेश्वरमा बुधबार दिउँसो विरोध प्रदर्शनका लागि कपाल मुन्डन गर्ने क्रममा कम्तीमा १५ जना नेविसंघ कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो ।
प्रतिनिधिसभा विघटनको विरोध गर्दै मंगलबार युवाहरुले काठमाडाैंको माइतीघर मण्डलामा 'म्याग्निफाइङ ग्लास' लिएर नेपालको संविधानका धाराहरु पढेर प्रदर्शन गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलनरत अनेरास्ववियूले बिहीबार प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको अनेरास्ववियू आबद्ध विद्यार्थीहरुले बिहीबार काठमाडौं उपत्यकाका प्रदर्शनीमार्गको आरआर क्याम्पस, मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पससहित देशभर ओलीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा प्रहरीले खोस्ने प्रयास गरेको थियो ।
मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदुषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको छ । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको उहान, पाँचौमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।
राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाका लागि भन्दैमा शुक्रबार राप्रपाले काठमाडौंमा विशाल र्याली आयोजना गरेको छ । भृकृटीमण्डपबाट सुरु भएको र्याली रत्नपार्कमा पुगेको छ ।
नेकपा (दाहाल–नेपाल) समूहले मंगलबार प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंलगायत देशभरि नै समूहले शक्ति प्रदर्शन गरेको छ । काठमाडौंमा उपत्यकामा बिहान साढे ११ बजेदेखि विभिन्न ठाउँबाट जुलुुस सुरु भएका हुन् । टेकु, नयाँबानेश्वर, कुपन्डोल, लैनचौर र नक्शाल, , बागबजार, रत्नपार्कबाट जुलुस भएका थिए ।