कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

उपेन्द्र यादवको उतारचढाव

पाठक पत्र

केन्द्र सरकारमा उपेन्द्र यादवको बर्हिगमन भएसँगै मधेश प्रदेश सरकारबाट जसपा विस्थापित हुने अवस्थामा पुगेको छ । जसपा नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी हट्ने भएका छन् । उनीहरूका मन्त्रीहरूले आइतबार नै राजीनामा बुझाएका छन् । अब मधेशमा सीके राउतको जनमत पार्टीको नेतृत्वमा एमाले र माओवादीसहितको सरकार बन्ने निश्चित भएको छ ।

मुलुक संघीयतामा गएर मधेश प्रदेश सरकार बनेपछि त्यहाँ उपेन्द्र यादवको पार्टी सरकारको नेतृत्वमा थियो । अब जसपाबिना नै प्रदेश सरकार बन्ने भएको छ । केन्द्रमा पनि ऊ सत्ताबाहिर रहनेछ । यसको अर्थ हो अब बिस्तारै–बिस्तारै मधेशमा उपेन्द्र यादव र जसपाको उपादेयता कम हुँदै गएको छ । जसपालाई टक्कर दिने नयाँ पार्टी र नेताहरू मधेशमा जन्मिँदैछन् । जनमत पार्टीले मात्रै मधेश प्रदेशमा १३ सिट जितेको छ ।

राउतले गएको आम चुनावमा सप्तरीमा उपेन्द्र यादवलाई पराजित गरिदिए । त्यसबाट पनि मधेशमा यादवको वजन कसरी घट्दै छ भन्ने प्रस्ट हुन्छ । सप्तरीका जनताले हराएका यादवलाई ठूला पार्टीहरूको दयामायाले बल्लबल्ल बाराबाट जिताएर इज्जत बचाइदिएका थिए ।

कुनै बेला यादवको तत्कालीन मधेशी जनअधिकार फोरम मधेशमा निकै प्रभावशाली थियो । मधेशी जनताले निकै विश्वास गरेका थिए यादवमाथि । तर आम जनताले यादवको दलबाट सन्तोषजनक भूमिका निर्वाह भएको महसुस गर्न सकेनन् । मधेश सरकारमा नेतृत्व गर्दा पनि गरिबी र बेरोजगारी झनै बढ्न पुग्यो ।

मधेश सरकार आफैं भ्रष्टाचारको आहालमा डुब्न पुग्यो । केन्द्र सरकारमा बसेका उपेन्द्र यादव सधैं सत्तावरिपरि बस्न र विदेश घुम्नमै मस्त रहे । जनभावनाविपरीत आफ्नो छोरालाई विराटनगरको मेयरमा उठाए तर जनताले हराइदिए । आफ्नो पार्टी बचाउन बेलाबेलामा अन्य पार्टीसँग एकता गर्ने तर आफ्नो स्वार्थ सिद्ध हुनासाथ ठूला र समकक्षी नेतालाई पाखा लाउने प्रवृत्ति उनमा देखियो । त्यही कारण जसपा फुट्न पुग्यो । यादवको उतारचढाव शिक्षा लिन लायक छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : जेष्ठ १, २०८१ ०५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×