कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

फाइभ जी इन्टरनेट सेवाको पर्खाइ

नेपालले पूर्ण क्षमताको फोर जी देशव्यापी विस्तार गरिसक्दा अरू मुलुकमा थप नयाँ पुस्ताको मोबाइल इन्टरनेटको प्रयोग सुरु भइसकेको हुन्छ । अहिले फाइभ जी चल्ने मोबाइल डिभाइस नै न्यून छ भनेर व्यावसायिक सेवा थाल्न नै ढिला गर्नु युक्तिसंगत हुँदैन ।
सम्पादकीय

विश्वमा द्रुत गतिको मोबाइल इन्टरनेट ‘फाइभ जी’ को व्यावसायिक सेवा सुरु भएको पाँच वर्ष बितिसकेको छ । प्रविधिमा समुन्नत कतिपय मुलुक छैटौं पुस्ताको (सिक्स जी) सेवाका लागि जुटिरहँदा हामीकहाँ भने फाइभ जीकै व्यावसायिक सुरुवात कहिले हुन्छ भन्ने टुंगो छैन । 

फाइभ जी इन्टरनेट सेवाको पर्खाइ

नेपाल टेलिकमले चार वर्षअघि नै दूरसञ्चार प्राधिकरणबाट फाइभ जी परीक्षणका लागि फ्रिक्वेसीसहित अनुमति पाएको थियो । परीक्षण प्रतिवेदन नै अहिलेसम्म प्राधिकरणले पाएको छैन । छिमेकी मुलुकहरूले नै तीव्र रूपमा फाइभ जी सेवा विस्तार गरिरहेका बेला नेपाल भने अझै अलमलमै रहनु उदेकलाग्दो छ ।

दूरसञ्चार प्राधिकरणले २०७७ चैतमै नेपाल टेलिकमलाई फाइभ जी परीक्षण गर्ने अनुमति दिएको थियो । परीक्षणका लागि प्राधिकरणले बढीमा एक वर्षसम्मका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी टेलिकमलाई निःशुल्क उपलब्ध गराएको थियो । परीक्षणमा प्रयोगकर्तालाई निःशुल्क फाइभ जी चलाउन दिनुपर्ने, परीक्षण अवधि सकिएपछि फ्रिक्वेन्सी फिर्ता लिने, परीक्षणका लागि स्वीकृति दिएको तीन महिनासम्म पनि उपकरण आयात र जडानको प्रगति नदेखिए प्राधिकरणले स्वीकृति फिर्ता लिन सक्नेजस्ता प्रावधानसहित फाइभ जी कार्यविधि बनाइएको थियो ।

तर दुई वर्षपछि २०७९ माघ २२ मा मात्र टेलिकमले थालेको परीक्षणमा पनि विज्ञहरूले संशय गर्दै आएका छन् । टेलिकम काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट फाइभ जी परीक्षण थालेको घोषणा गरेको थियो । तर फाइभ जी सुविधा भएका मोबाइल प्रयोगकर्ताले टेलिकमको परीक्षणको सुइँको समेत पाएनन् । पछि टेलिकमले पोखरा र वीरगन्जमा पनि आन्तरिक परीक्षण भएको दाबी गर्दा धेरैले विश्वास गरेनन् । परीक्षण कसरी भयो, त्यसको अनुभव कस्तो रह्यो, नतिजा के आयो भन्ने प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छ्रैन । प्राधिकरणले भने फाइभ जीको व्यावसायिक सेवा विस्तारमा जान ढिला भइरहेको निष्कर्षसाथ टेलिकमसँग पत्राचार गरेरै प्रतिवेदन मागेको छ । उता आफूहरूलाई परीक्षण अनुमति नदिएर असमान व्यवहार गरिएको गुनासो गर्दै आएको निजी सेवाप्रदायक एनसेलले फाइभ जी भिजनका रूपमा नयाँ डेटा प्लान सार्वजनिक गरिसकेको छ ।

फाइभ जी इन्टरनेटको पछिल्लो पुस्ता हो । पहिलो पुस्ता वान जी आएको साढे चार दशक हुनै लागेको छ । विश्वमा फोर जी सेवा सुरु भएको पनि डेढ दशक नाघेको छ । तर फोर जीको व्यावसायिक सेवा सुरु पनि नेपालमा निकै ढिला गरी भएको थियो । फोर जीका कारण अहिले स्मार्टफोन सानो कम्प्युटरसरह अवस्थामा पुगेको छ । यसले काम गर्ने शैलीमा रूपान्तरण ल्याएको छ । मोबाइलको एपमार्फत डिजिटल कारोबार गर्ने संख्या नेपालमै तीव्र रूपमा बढिरहेको छ । खरिद वा कुनै सेवा लिन घण्टौं लाइन बस्नुपर्ने, धाउनुपर्ने अवस्था बदलिँदै छ । तीव्र गतिको इन्टरनेट (फाइभ जी) ले डिजिटल व्यवहारमा थप परिवर्तन ल्याउन सक्छ, नयाँ अवसरहरू सिर्जना गर्न सक्छ । फाइभ जीले व्यवसायमा सघाउने भएकाले मुलुककै अर्थतन्त्रमा प्रभाव पार्न सक्छ ।

अहिले नेपालमा थ्री जी इन्टरनेटकै प्रयोगकर्ता उल्लेख्य छन् । गत वर्ष साउनसम्म थ्री जी प्रयोगकर्ताको संख्या ७७ लाख १८ हजार २ सय ८४ थियो । थ्री जीबाट फोर जीमा सर्नेको संख्या तीव्र रूपमा बढिरहेको छ । फाइभ जी सेवा विस्तारमा अघि बढ्दै जाँदा सञ्चालनमै रहेको फोर जी सेवाको थप विस्तार र गुणस्तर सुधारलाई भुल्नु हुँदैन । मुलुकभर फोर जी सेवा विस्तार गरिसकेर मात्र फाइभ जीमा जाने सोचियो भने नेपाल मुलुकसँगको प्रतिस्पर्धामा उति पछाडि छुट्छ ।

नेपालले पूर्ण क्षमताको फोर जी देशव्यापी विस्तार गरिसक्दा अरू मुलुकमा थप नयाँ पुस्ताको मोबाइल इन्टरनेटको प्रयोग सुरु भइसकेको हुन्छ । अहिले फाइभ जी चल्ने मोबाइल डिभाइस नै न्यून छ भनेर व्यावसायिक सेवा थाल्न नै ढिला गर्नु युक्तिसंगत हुँदैन । फोर जीका सन्दर्भमा पनि सेवा सुरु भएपछि नै त्यसको सुविधा भएको मोबाइलको संख्या ह्वात्तै बढेको थियो । त्यसैले सरकारले आवश्यक पूर्वाधार तयार गरिदिएर मुख्य ठूला सहर हुँदै फाइभ जीको व्यावसायिक सेवा थालनी गरेर जतिसक्दो चाँडो विस्तार गर्दै अघि बढ्नुपर्छ ।

प्रकाशित : जेष्ठ ११, २०८१ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×