३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

जनकपुर देखी काठमाडौं हाँस्छ

मधेश राजनीतिमा अफवाहहरू परिघटित भइदिँदो रहेछ । मधेशी राजनीतिकर्मीहरू यतिविघ्न राष्ट्रवादी देखिनुपर्ने हुन्छ कि कसकहाँ चिया खाऊँ भनेर काठमाडौंको मर्जी खोज्छन् ।
चन्द्रकिशोर

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भयो । छुट्टिएर निस्किनेहरूले संघीय सरकारमा रेड कार्पेट स्वागत पाए । उसो त एक वर्ष पहिला उपेन्द्रलाई यसैगरी चमत्कारी सहकार्यको कथा उन्दै हात समाएर प्रतिनिधिसभाको मूल ढोकाबाट छिराइएको थियो ।

जनकपुर देखी काठमाडौं हाँस्छ

यो समसामयिक राजनीतिको दुई लघुकथा मात्र होइन । यो स्थापित सत्ताले खेल्दै आएको खेलको हिस्सा हो । यस्ता लघुकथा अनन्त छन् । त्यसैले यो एक्लो उपेन्द्रको आँसु होइन, योभित्र महन्थ ठाकुर, राजेन्द्र महतो लगायतकाहरूको आर्तनाद मिसिएको छ ।

यतिखेर को सरकारमा गए, को बाहिरिए भनेर काठमाडौंमा बढी चर्चा छ । उपेन्द्र यादव केहीअघिसम्म जसजसका लागि डार्लिङ थिए, तिनीहरूले नै यिनको पिठ्युँमा चाकु हाने । तिनको राजनीतिक चाल, चरित्र र चेहरामाथि प्रश्न गर्ने अनेकौं ठाउँ छन् । मूल सवाल हो ठूला, पुराना एवं सत्तारूढ दलले आफ्नै गठबन्धनका दललाई विभाजित गर्नु उचित हो ? यो प्रश्न काठमाडौंमा जति घनिभूत रूपमा उठ्नुपर्ने, त्यति उठेन । कुन व्यक्ति वा समूहले स्वेच्छाले कस्तो निर्णय लिन्छ, त्यो उसको सरोकार हो । तर दल फोड्न तमाम व्यूह रच्ने र प्रक्रियागत अनुकूलताको काम स्वयं सत्ता प्रतिष्ठानले गर्छ भने त्यो आलोच्य हो । यसको औचित्य पुष्टि ती उत्प्रेरकहरूले गर्न सकिरहेका छैनन् । यो प्रवृत्ति नेपाली राजनीतिक चेतनाको प्रतिविम्बन होइन ।

उपेन्द्रको टुटफुटलाई एकछिन थाती राखेर फराकिलो क्यानभासमा हेरौं । ०७२ मा तेस्रो मधेश आन्दोलनलाई गुरुत्व र गरिमा दिने शक्तिहरू कहाँ छन् ? कसरी उनीहरू कमजोर बने, बनाइयो ? ठूला दलहरूले लोकतन्त्र ल्याउनमा गरेको योगदानको उचित मूल्यांकन गर्न मन सानो बनाउनु पर्दैन । तर यो पनि बुझ्नुपर्छ कि मजबुत प्रान्तीय अभ्यास र सार्थक समावेशीकरण, पहिचानको महत्त्व र सुशासनको प्रत्याभूति दिन नसक्ने यिनीहरूको जयजयकार नै लोकतन्त्र भक्ति होइन । वर्चस्वशालीहरूले सामाजिक न्यायको आन्दोलनलाई खरानी बनाएर लोकतन्त्र बलियो भयो भनेर अलाप्नु पर्दैन ।

मधेश राजनीतिमा अफवाहहरू परिघटित भइदिँदो रहेछ । मधेशी राजनीतिकर्मीहरू यतिविघ्न राष्ट्रवादी देखिनुपर्ने हुन्छ कि कसकहाँ चिया खाऊँ भनेर काठमाडौंको मर्जी खोज्छन् । उपेन्द्रलाई मधेशी नेताहरूभन्दा खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बढी भरोसायोग्य लाग्थ्यो । कहिले समाजवादी मोर्चा त कहिले राष्ट्रवादी मोर्चा बनाउने मृग मरीचिकामा भौंतारिइरहे । यतिखेर उनको स्वप्नभंग भयो । सोचे, फेरि अभ्यर्थना गर्दा यी ‘मालिक’ हरू प्रसन्न हुन्छन् र तथास्तु भन्छन् । केही भएन । यी उपेन्द्रलाई रेडकार्ड त ओलीजीले ०७६ मै देखाइदिएका थिए । वर्चस्वशालीहरूको मनसाय बुझ्न नसक्नु उपेन्द्रको कमजोरी हो ।

उपेन्द्र प्रभावित सामाजिक मन्थनले राजनीतिक जागरुकतालाई विविधता प्रदान गर्‍यो । एउटा नयाँ समतावादका लागि माहोल तयार गर्‍यो । सँगसँगै राजनीतिक आकांक्षीहरूको एउटा भोको समूहलाई सतहमा ल्यायो । पहिलो संविधानसभामा उनको हैसियत अग्लिएदेखि नै उनको राजनीतिक चरित्र र संरचनामा तीव्र बदलाव आयो । प्रादेशिक अभ्यासपछि त ‘शीघ्र धनी बनौं’ वर्गलाई आकर्षित गर्‍यो, जसमा राज्य लुटमा हिस्सा लिने अधीर उत्साह थियो । उनले प्रादेशिक अभ्यासका लागि वास्तविक परिवर्तनको प्रतिनिधित्व गर्न सकेनन् । फगत पुराना शोषणकारी नेतृत्व परिवर्तनको प्रतिनिधित्व गर्छन् । तिनका छेउछाउ उस्तै प्रशस्ति गर्ने, प्रदक्षिणा गर्नेर प्रसाद चढाउनेहरूले वृत्त बनाउन पुगे । यसका बावजुद मधेशको एउटा वर्गमा तिनीप्रतिको उन्माद छ, दुबोझैं फेरि मौलाउँछन् भनेर आस गर्दै नारा लगाएको सुनिन्छ– उपेन्द्र यादव जिन्दावाद !

मधेश राजनीतिबाट उदाएका राजनीतिक शक्तिहरू एक खास प्रकारको लक्ष्य र दृष्टिकोण लिएर स्थापित भए, आन्दोलन गरे र निर्वाचनमा होमिए । तर सत्ताको कामुक गल्लीमा टिकिराख्न आफ्नो सपना र संकल्पबाट नै सम्झौता गरे । यो सजिलो छ– एक खास सपना देखाएर संघर्ष गर्न उक्साउनु, तर कठिन छ– त्यही सपनाको सर्तमा सत्ता राजनीतिको नव्यव्याकरण लेख्नु । त्यसैले यो राजनीतिक प्रतिबद्धता होइन । यो राजनीतिक सुविधाको समय हो । यो राजनीतिक पलटीमार युग हो । पलटु बन्ने भूमिकामा कहिले को त कहिले को रहन्छ, तर यो क्रम रोकिएको छैन ।

मधेशबाट राजनीतिक अवसरवादको जो नयाँ अध्याय लेखिएको छ, त्यसले व्यक्ति विशेषलाई सत्ताशय्यामा लडीबुडी गर्न जुर्‍यो तर यसबाट मधेश आन्दोलनको सम्मान कमजोर भएको छ । जो हिजो सामाजिक न्याय र राष्ट्रिय ऐक्यबद्धताको संघर्षमा समर्पित थिए, तिनीहरू भोक र तिर्खा मेट्न जनकपुरधामस्थित ‘मधेश भवन’ को भोजमा चोक्टा लुछ्नमा समर्पित देखिए । आखिर वर्चस्ववादी सत्ताको रेशमी सहर काठमाडौं यही र यस्तै चाहन्थ्यो । सिंहदरबार यतिखेर हाँस्दै छ जनकपुर माथि ! काठमाडौं चाहन्छ, प्रदेशहरूमा उसकै कठपुतली नाचून् । उसकै भाषा बोलून् । जनकपुरको सत्ताका आफ्नै सीमितता छन्, तर पनि राजनीतिक तथा सामाजिक बदलावको भाषालाई जनकपुरले जसरी अहिंस्रक र समावेशी बनाइराखे त्यो आजको राजनीतिमा दुर्लभ छ ।

यतिखेर राजनीतिमा वाचा र नाराहरूको उमेर बिहानदेखि बेलुकासम्म पनि छैन । तर पनि हेर्नुछ, आउँदा दिनमा कसैले भन्लान्, सावधान मधेशमा उपेन्द्र यादव छ ? वा फेरि पर्याप्त राजनीतिक प्रदूषण फैलाएको आरोपमा उनको राजनीतिक गाडीलाई सडकमा ओर्लिने योग्यता नै समाप्त घोषित गरिन्छ । सम्भव छ फेरि कुनै राजनीतिक नाराको छाता ओढेर ‘पानीलाई लाठीले हिर्काउने राजनीति’ मा अल्झाइराख्न कामयाव भइदिउन् । लाठीको सन्दर्भ निस्किएपछि यही लाठी कुनै दिन मधेश आन्दोलनको प्रतीक एवं सामर्थ्य थियो । हिजो जो लाठी लिएर गाउँबाट सदरमुकाम घेर्न आउने विभिन्न उमेर समूहका नागरिकहरू आफ्नो मनमस्तिष्कमा समुद्रका छालजस्तै उठ्दै गरेका सवालहरूलाई लुकाउन सकेन ।

करिब पैंतालीस वर्षपहिला एउटा हिन्दी चलचित्र बन्यो– मि. नटवरलाल । त्यसमा अभिनेता अमिताभ बच्चन गाउँका बच्चाहरूलाई एउटा गीत सुनाउँछन्– ‘मेरे पास आओ, मेरे दोस्तों, एक किस्सा सुनो...’ नायक जंगलबाट गुज्रिरहेको थियो । अचानक एउटा सिंह सामुन्ने आयो । बच्चाहरूले सोधे– ‘फिर क्या हुआ ?’ नायक भन्छन्– ‘मुझे मारकर बेसरम खा गया ।’ डराएका बच्चाहरू सोध्छन्– ‘लेकिन आप तो जिन्दा है ।’ यसमा नायक जवाफ फर्काउँछन्– ‘ये जीना भी कोई जीना है लल्लू ।’ आज मधेश राजनीतिको अवस्था फिल्मी कथामा सिंहले खाइसकेपछि पनि ज्युँदा अभिनेता अमिताभ बच्चनजस्तै हो ।

यो सब देखेर सुनेर मधेश स्तब्ध चकित छ । उसले स्वयंलाई सिंहको मुखमा पुगेर पनि ज्युँदो अभिताभ बच्चनको ‘छवि’ मा पाएर न त हाँस्न सकिरहेको छ, न रुन नै । ऊ चुप छ । ऊ न भन्न सक्ने स्थितिमा छ, न त मान्न सक्ने स्थितिमा नै छ कि ‘ये भी कोई जीना है लल्लू !’

अहिलेको आवश्यकता मधेश राजनीतिको काल्पनिकीमै परिवर्तन ल्याउनु हो । यस्ता नेता र नारा चाहिएको छ, जसले विगतका साझा गल्ती र कमजोरी पुनर्विचार गर्दै, उदीयमान आकांक्षा र उकुसमुकुसलाई व्यवस्थापन देओस् । मधेश आन्दोलन आफ्नै विरोधाभासमा फसेको छ । मधेशलाई बुझ्ने र बुझाउने प्रक्रियामै संकट अन्तर्निहित छ ।

कुनै बखत जनकपुर काठमाडौंकै हाराहारीमा शक्तिकेन्द्र बन्दै थियो, बाँकी छ प्रदेश संघका पिछलग्गु बनेर निरीह देखिन्थे । आज जनकपुरमा कसले नेतृत्व गर्छ, त्यो मूल प्रश्न होइन । काठमाडौं आफ्नो मनपरी लिपिबद्ध गर्दै गइरहेको छ । यता जनकपुर थकित, गलित र भ्रमित छ । स्मरण रहोस्, जनताको स्मृति निकै गहिरो र न्याय असाध्यै निष्पक्ष हुन्छ ।

प्रकाशित : जेष्ठ ३, २०८१ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?