२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सागपातमा कसरी रुचि बढाउने ?

हाल कतिपय आमाले हरियो साग उसिनेर, पिनेर त्यो झोललाई पिठोमा मिसाई रोटी बनाएर पनि खुवाउने गरेका छन् । यो एकदम राम्रो तरिका हो ।
सुनिता गाइसी

हामी स्वादको पारखी बन्दै छौं । हेर्दा आकर्षक, खाऊँखाऊँ लाग्ने खानेकुरा खान चाहन्छौं । विशेषतः बालबालिकाहरू बजारमा पाइने प्याकेटमा राखिएका खानेकुरा औधी मन पराउँछन् । घरमा बन्ने खानेकुरामा उनीहरूको त्यति रुचि हुन्न । व्यस्त जीवनशैलीका कारण अभिभावक पनि बजारिया खानेकुरामा सहजता खोज्छन् । यहाँसम्म कि बच्चालाई स्कुलमा टिफिन पठाउन पसलमा गएर चाउचाउ, बिस्कुट किन्दै गरेको दृश्य पनि नौलो लाग्दैन अब । 

सागपातमा कसरी रुचि बढाउने ?

कुन उमेर समूहका मानिसले कस्ता खानामा ध्यान दिने भनेर विचार गर्नुपर्छ । विशेष त बालबालिका र वृद्धवृद्धाले खानामा ध्यान दिनु जरुरी छ । हुर्कंदै गरेका बालबालिकाको शारीरिक र मानसिक विकासका लागि विभिन्न पौष्टिक पदार्थको आवश्यकता पर्छ । उनीहरूको खाना स्वस्थकर, सन्तुलित हुन जरुरी छ । खानामा मौसमअनुसारको फलफूल र हरिया तरकारीहरू समावेश गर्नुपर्छ । हरियो तरकारीले बालबालिकाको शारीरिक विकासमा विशेष भूमिका खेल्छ ।

आजकालका बालबालिका विभिन्न कार्टुन भिडियो हेर्दै हुर्केका हुन्छन् । उनीहरूलाई खाना खुवाउन पनि अभिभावकहरू मोबाइल प्रयोग गर्छन् । हाल युट्युबमा बालबालिकाले सागपात खाएका विभिन्न रमाइला भिडियो पनि पाइन्छ । यस्ता भिडियो देखाइ सागप्रति सकारात्मक बनाउन सकिन्छ । जुन कुरा भन्दा उनीहरू मान्दैनन्, भिडियोबाट सजिलै बुझ्न सक्छन् ।

सागपात खानुपर्छ मात्र नभनी उनीहरूलाई साग तरकारीबारे जानकारी दिनु आवश्यक छ । फुर्सदमा खेतबारी लैजाने र तरकारी, बालीनालीबारे जानकारी दिने गर्नुपर्छ । विकसित देशमा बालबालिकालाई बिदाको समयमा कृषि फार्म लैजाने, माटो खेल्न दिने, आफैं तरकारी, फलफूल टिप्न दिने गरेको देखिन्छ । अभिभावकले आफ्ना बालबालिकाहरूलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान दिनुपर्छ जसले गर्दा उनीहरूले उमेर बढेसँगै माटोलाई पनि बुझ्ने गर्छन् ।

मानव सभ्यताको सुरुवाती समयमा हाम्रा पुर्खाले जंगलमा पाइने विभिन्न सागपात, कन्दमूलकै प्रयोग गर्थे । कतिपय खानेकुरा वा सागपात विषालु भए, मृत्यु पनि हुने गर्थ्यो । यसरी खान हुने हो कि होइन भन्ने ठहर हाम्रा पुर्खाहरूले नै गरेका थिए । बालबालिकालाई सानैदेखि हरियो सागपात खुवायौं भने उनीहरूमा रोगसँग लड्ने क्षमताको विकास हुनुका साथै शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छन् । हामीलाई पनि पहिलेभन्दा अहिले सागपात निकै मन पर्छ । यसका फाइदाबारे पढ्ने, सुन्ने गरेकाले नै हो । विज्ञहरूका अनुसार २० वर्षपछि मानिसको स्वाद थाहा पाउने क्षमता आधा नै घटेको हुन्छ, त्यसले गर्दा पनि हामीलाई पहिलेको तुलनामा सागपात मीठो लाग्छ ।

हाल कतिपय आमाले हरियो साग उसिनेर, पिनेर त्यो झोललाई पिठोमा मिसाई रोटी बनाएर पनि खुवाउने गरेका छन् । यो एकदम राम्रो तरिका हो । त्यसैले बालबालिकालाई सानैदेखि घरमा बनेको खानेकुराका साथै मौसम अनुसारको फलफूल र सागपात खुवाउन विशेष पहल गर्नुपर्छ । उनीहरू त जे देख्यो त्यति खान खोज्छन् तर अभिभावकले नै कुन कुरा सही वा गलत भनी बेलैमा जानकारी दिनुपर्छ ।

अलि बुझ्न सक्नेलाई सागपातको महत्त्व र फाइदाबारे बुझाउँदै खुवाउन कोसिस गर्नुपर्छ । परिवारका सदस्यले दैनिक सागपात नछुटाई प्रयोग गरे उनीहरूमा बानी पर्दै जान्छ । आँखालाई पनि स्वस्थ राख्ने भएकाले बालबालिकालाई हरियो सागपातप्रति बेलैमा मोह जगाउन सक्नुपर्छ ।

– गाइसी ख्वप कलेजमा प्राध्यापन गर्छिन् ।

प्रकाशित : चैत्र १२, २०८० ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?