हामी स्वादको पारखी बन्दै छौं । हेर्दा आकर्षक, खाऊँखाऊँ लाग्ने खानेकुरा खान चाहन्छौं । विशेषतः बालबालिकाहरू बजारमा पाइने प्याकेटमा राखिएका खानेकुरा औधी मन पराउँछन् । घरमा बन्ने खानेकुरामा उनीहरूको त्यति रुचि हुन्न । व्यस्त जीवनशैलीका कारण अभिभावक पनि बजारिया खानेकुरामा सहजता खोज्छन् । यहाँसम्म कि बच्चालाई स्कुलमा टिफिन पठाउन पसलमा गएर चाउचाउ, बिस्कुट किन्दै गरेको दृश्य पनि नौलो लाग्दैन अब ।
एउटा आहान छ, ‘कि पढेर जानिन्छ कि त परेर जानिन्छ’ । यीमध्ये कुनचाहिँ अवस्था राम्रो होला ? पढेर जान्दा भविष्यलाई आफूले चाहेको दिशामा लान सकिन्छ तर भोगेर वा परेर जानुन्जेल जीवनको अधिकांश समय व्यतीत भइसकेको हुन्छ ।