२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुनकोशी-मरिण डाईभर्सनले खोल्ने सम्भावनाका ढोका

नेपालका सबै राष्ट्रिय प्राथमिकताका आयोजनाको मूख्य चुनौती हो - राजनीतिक अस्थिरता । अस्थिरताको चेपटामा सुनकोशी- मरिण आयोजना पर्न नदिन सचेत हुनुपर्छ ।

मधेस प्रदेशको राजधानी जनकपुरबाट करिब आधाघण्टा पश्चिमतर्फ महेन्द्र राजमार्ग हुँदै बर्दिबास पुगिन्छ । महेन्द्र राजमार्गलाई छाडेर बर्दिबासबाट उत्तरतर्फ वीपी राजमार्ग हुँदै करिब एक घण्टाको यात्रापछि पुगिन्छ, सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढी ।

सुनकोशी-मरिण डाईभर्सनले खोल्ने सम्भावनाका ढोका

बीपी राजमार्गलाई छाडेर सिन्धुली बजारको बाटो हुँदै पुनः उत्तर–पश्चिमतर्फ मदन भण्डारी राजमार्गबाट करिव बीस मिनेटको बाटो तय गर्दा पुगिन्छ, नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन ।

मुख्यतः यस आयोजना अन्तर्गत सुनकोशी र तामाकोशीको पानी सुनकोशी गाउँपालिकाको कानढुङ्ग्रीबाट कमलामाई नगरपालिकाको वडा नं २, कुसुमटारनजिक मरिण खोलामा खसालिन्छ । सो ६७ हजार लिटर प्रतिसेकेण्ड कोशीबाट झारिएको पानीबाट तराईका धनुषा,महोत्तरी, सर्लाही, बारा, रौतहट लगायत आधा दर्जन जिल्लाका करिब १ लाख २२ हजार हेक्टर जमिन सिंचित हुने आँकलन गरिएको छ ।

यो एक बहुउद्देश्यीय आयोजना समेत हो । यसका लागि सरकारले ४६ अर्ब १९ करोड रकम विनियोजन गरेको छ । यो १३ दशमलव ३ किमी लामो सुरुङबाट बहने पानीबाट ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने आँकलन गरिएको छ । यो कामका लागी ग्लोबल टेण्डर मार्फत् चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज कम्पनीले कामको जिम्मा लिएको छ ।

संभावनाहरू

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको वडा नं २ को कुुुसुमटारमा सुनकोशीको पानी उच्च वहाव सहित खसालिने हुदाँ सो क्षेत्रलाई प्राकृतिक स्वीमिङ पुल वा प्राकृतिक तालको रुपमा विकास गर्न सकिन्छ । प्राकृतिक तालको रुपमा विकास गर्दा त्यहाँ र्‍याफ्टिङ डुंगासयर, वाटर साईक्लिङ आदिजस्ता सम्भावनाका बाटो खुल्छन् ।

अर्को मननयोग्य कुरा के छ भने नेपालको पूर्वदेखि पश्चिमसम्म विस्तारित नेपालको चुरे क्षेत्र र भित्री मधेस हुँदै गुज्रने १२०० किमी लामो मदन भण्डारी राजमार्ग पनि यसै डाईभर्सन हुँदै जान्छ । यो डाईभर्सनको बाटोे हुँदै वागमती प्रदेशको राजधानी हेटौंडा पुग्न करिब ३ घण्टा लाग्द । यस सुनकोशी मरिण डाईभर्सनकै छेउबाट मदन भण्डारी राजमार्ग गुज्रनुले पनि यस पर्यटकीय क्षेत्रले विशेष महत्त्व बोक्दछ ।

यसो हुुदाँ प्राकृतिक माछापालन व्यवसाय पनि फस्टाउने प्रचुर सम्भावना रहन्छ । यसको माध्यमबाट थोरैबहुत आम्दानीको बाटो खुल्न सक्ने सम्भावना पनि बढी छ । संभावनाको रुपमा देखिएको अर्को क्षेत्र हो होटल तथा रिसोर्ट व्यवसाय । होटल तथा रिसोर्टकोको सुरुवातको त्रिपक्षीय फाइदा हुन्छ , रोजगारीकोे अवसर, पर्यटकीय दृष्यावलोकनको संभावना तथा स्थानीय उत्पादनको खपत । त्यसकारण सेवामुखी बजारको नेपालमा धेरै अवसर छ ।

दोस्रो कुरा मदन भण्डारी राजमार्ग यो डाईभर्सन हुँदै जाने हुदाँ , होटल तथा रिसोर्ट चल्ने सम्भावना छ । मदन भण्डारी राजमार्गको हेटौंडा खण्ड नजिक फुर्केचौर भन्ने स्थानमा नेपाली सेनाले बनाउँदै गरेको तराई-काठमाडौं जोडने द्रुतमार्ग (फास्ट ट्रयाक ) भेटिन्छ । त्यहाँ (फास्ट ट्रयाक )बाट लगभग ४५ मिनेट देखि १ घण्टाको अवधिमा काठमाडौं उपत्यका पुगिन्छ । यो (फास्ट ट्रयाक ) हाल बन्दै गरेको अवस्थामा छ । यस डाईभर्सनको महत्वलाई दृष्टिगत गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्न सकिन्छ ।

बर्दिबास हुँदै सिन्धुली भित्रिएर बिदा मनाउन तथा घुम्न आउने भारतीय पर्यटकलाई पनि यो छोटो दूरी पर्दछ, किनकी सिन्धुलीदेखि भारतीय सीमानासम्मको दूरी लगभग ६० किलोमिटर मात्र छ । सो ६०–७० किलोमिटरको ओहोरदोहोरको दूरी मोटरमा लगभग एकै दिनमा तय गर्न सकिन्छ ।

यहाँबाट खसालिएको पानीबाट केवल मधेस प्रदेसका जिल्लाहरु मात्र हैन यसबाट सिन्धुली जिल्लाको उत्तर–पश्चिमी बेल्ट (मरिण फाँट ) का ठूल्ठूला इकाईहरुको उत्पादनमा समेत प्रचुरता ल्याउन सकिन्छ । यो क्षेत्रमा धान , गहूँ , मकै लगायतको बालीको प्रचुरता हाल पनि छ । यस क्षेत्रमा सिन्धुली जिल्लाको मरिण र हरिहरपुरगढी गाँउपालिका पर्दछन् । यही स्थान आसपास नेपालकै ऐतिहासिक महत्त्व बोकेको हरिहरपुरगढी किल्ला पनि रहेको छ । त्यो भन्दा अलिक पर पुगेपछि मकवानपुर जिल्लाको मकवानपुरगढी पुगिन्छ ।

यसैक्रममा सोही डाईभर्सनको माथि रहेको जंगली उकालो बाटो हुँदै नेपालकै ऐतिहासिक महत्त्व बोकेको सिन्धुली गढी सम्मका लागि हाईकिङ रुटको विकास गर्न सकिन्छ । लाग्छ यसका लागि उति धेरै रकम विनियोजन र खर्च गर्नु पर्दैन । किनकी हाईकिङ भनेकै उच्च पहाडी उकालो तथा भिरालो बाटोमा तय गर्ने हो ।

अर्को सम्भावनाको रुपमा लिन सकिन्छ, उत्पादित विद्युत्‌लाई । यहाँबाट करिब ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको छ । उत्पादित करिब ३१ दशमलव ७ मेगावाट मध्येबाट सिन्धुली जिल्लामा खपत हुने विद्युत् करिब ११ देखि १२ मेगावाट हो । सोबाट सिन्धुली जिल्ला लोडसेडिङमुक्त जिल्लाको रुपमा चिनिन सक्छ । आन्तरिक खपतभन्दा बढी या उभ्रिएको विद्युत् राष्ट्रिय ग्रीडमा जडान गरी आयस्रोतको दायरा फराकिलो गर्न सकिन्छ । यो दिगो संभावना हो । । विद्युत् उत्पादनबाट वार्षिक करिब ५५ करोड रुपैयाँ आम्दानी हुनसक्ने अनुमान छ । कालान्तरमा यस विद्युत् आयोजनाबाट शेयर निस्कासन गरी यहाँका स्थानीयलाई अझ बढी जिम्मेवार बनाउन समेत सकिन्छ ।

सम्भव हुदाँ त सुनकोशीको पानीलाई यसै टनेलको मध्यमबाट सीधा सिन्धुलीमा साईफनिङ गराएर फिल्टर पश्चात सिन्धुलीकै सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी आयोजनामा कनेक्सन गराउँदा सिन्धुली सदरमुकाम सिन्धुलीमाढीको पानीको समस्यालाई सदैवका लागि टार्न सकिन्छ ।

चुनौतीहरू

नेपालका सबै राष्ट्रिय तथा राष्ट्रिय प्राथमिकताका आयोजनाको मूख्य चुनौती हो , राजनीतिक अस्थिरता । सो को चपेटामा यो आयोजना पनि नपर्ला भन्ने आधार छैन । यसको लक्षण गत वर्षको लागि करिब सात अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी यसको एक संकेत मात्र हो । दोस्रो कुरा यसै राजनैतिक संक्रमणकाल वा राजनीतिक अस्थिरता कै कारण निर्माण सम्पन्न ढिलो हुने कुरालाई पनि एक चुनौतीका रुपमा हेर्न सकिन्छ । तसर्थ, संक्रमणकालीन राजनीतिक तरलतालाई नीतिगत एवं कार्यगत तवरले कम गराई मुलप्रवाहीकरण गर्नु आवश्यक देखिन्छ ।

सुरुङ खन्ने काम सम्पन्न हुन लाग्दासम्म पनि बाँधको काम भर्खरै सुरुवात हुनु पनि कार्य एकरुपताको कमी वा ढिलाईको एक उदाहरण हो । बाँधको काम सुरु भएपनि स्थानीय र ठेकदारबीच द्वन्द्वको सुरुवात हुँदै गएको अवस्था छ । कालान्तरमा यस्ता सनातिना मामिलाहरुले समग्र परियोजनालाई समेत प्रभाव पार्न सक्छन् । सुरुङ भित्रको उर्वरता नभएको सेतोमाटो सीधा मरिण खोलामा फाल्दा जलचर प्राणीको पारिस्थितिक प्रणालीमा ह्रास हुने सम्भावना रहन्छ । यसबाट तत्कालको समयमा माछाको उत्पादनमा हृास हुने अवस्था देखापर्न सक्छ भने माछा मारेर जीवन निर्वाह गर्ने समुदायको पेशा समेत संकटमा पर्न सक्छ । अर्काे समस्या हो खोलामा बग्ने लेदो माटो । खोलामा बहने लेदो माटो पनि स्वास्थ्यका दृष्टिले पक्का पनि राम्रो मान्न सकिन्न । यसले वातावरणमा पार्ने प्रतिकूल प्रभावको पनि लेखाजोखा गर्नु आवश्यक छ ।

भौगोलिक, इन्जिनियरिङ्ग र प्राविधिक चुनौतिको लेखाजोखा तथा त्यहाँ काम गर्ने जनशक्तिलाई परिचालन का हिसाबमा पनि विविध समस्या तथा चुनौती पनि हुन सक्छन् । यसका खतिर यहाँको स्थानीय तहसँग समन्वय गरेर जानु आवश्यक छ ।

हाल सुनकोशीको पानी खसालिने नदी मरिण खोला सानो छ , कालान्तरमा जब सुनकोशीको पानी यसको मरिण खोलामा झारिन्छ तब, यस नदीको बहाब बढी हुने स्वभाविक हो यसै कारणले नदीको बाटो परिवर्तन भएर क्षति हुन सक्ने सम्भावनामा बढ्न सक्छ । अझ थप त यो समस्या वर्षा मौसममा बढी हुन्छ जुनबेला पानीको बहाब उच्च हुन्छ ।

नेपालको इन्जिनियरिङ परियोजनाको बेजोड उदाहरण हो सुनकोशी मरिण डाईभर्सन । यो केवल एक मात्र हैन बहुआयामिक छ । यसको अधिकतम उपयोगबाट वार्षिक नेपालमा करिब २६ अर्ब बराबरको कृषि उत्पादनमा बढोत्तरी हुने अनुमान गरिएको छ । यसका लागि सिंचाइको सहज पहुँच अभिबृद्धि हुनु अति आवश्यक छ ।

यसर्थ यस्ता बहुआयामिक राष्ट्रिय गौरवका आयोजनाहरुको समयमा नै सम्पन्न हुँदा समग्र देशकै विकासको आधारशीला तय हुन्छ ।

(लेखक सिन्धुली बहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन्)


प्रकाशित : वैशाख २५, २०८१ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?