२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कापी किताबसँगै दाउराको भारी

नियमित विद्यालय जान पाउँदैनन् छात्राहरु
मेनुका ढुंगाना

अछाम — मंगलसेन नगरपालिका–५ की १४ वर्षीया मनिसा भाट कक्षा ६ मा पढ्छिन् । ८ वर्षको उमेरमा विद्यालय भर्ना भएकी उनी अहिले पनि नियमित विद्यालय जान पाउँदिनन् । घरको कमजोर आर्थिक अवस्थाको असर मनिसामा पनि परेको छ । उनका ७ जना भाइबहिनी छन् । विद्यालयको शुल्क, शैक्षिक सामग्री किन्न सक्ने अवस्था नभएपछि उनको १६ वर्षीय दाजु ८ कक्षा पूरा नगरी कामको खोजीमा भारत गए । घरमा भएका ६ भाइबहिनीलाई परिवारले नियमित विद्यालय पढाउन सक्ने अवस्था छैन ।

कापी किताबसँगै दाउराको भारी

बिरामीले थला परेका उनका ६१ वर्षीय बुवाले परिवारको लागि आर्थिक जोहो गर्न नसकेको वर्षौं भइसक्यो । ३८ वर्षीया आमा बिन्द्रादेवी भाटको काँधमा सबै छोराछोरको जिम्मेवारी छ ।

घरको र खेतीपातीको काम गर्न आमा एक्लैले नसक्ने भएकाले मनिषा उनलाई सघाउन नियमित विद्यालय जान सक्दिनन् । ‘दाउरा बेचेरै हाम्रो गुजारा चल्छ । आमा एक्लै घरको काम भ्याइनभ्याइ हुन्छ । अनि म कुल छोडीदिन्छु,’ उनले भनिन्,‘भाइबहिनी सानै छन् । उनीहरुको रेखदेख पनि गर्नुपर्छ । स्कुल गएको दिन भाइ र म झोलासँगै दाउराको भारी लिएर बेच्न जान्छौं । त्यतैबाट स्कुल जान्छु ।’

ढकारी गाउँपालिका–८ पल्साताकी सरिता भण्डारी १३ वर्षकी भइन् । उनकी आमाको मृत्यु भएको ३ वर्ष भयो । त्यहीबेलादेखि सरिता नियमित विद्यालय जान सकेकी छैनन् । विद्याल गएर अक्षर चिन्नै थालेको बेला आमाको मृत्यु भएपछि घरको काममा बुवालाई सघाउन थालिन् । घास, दाउरा, मेलापात र घरभित्रको कामको जिम्मेवारी पनि सरितामाथि नै आइलाग्यो । घरको काम गर्न नसकेपछि छोरीलाई गत वर्ष नै विद्यालय छोड्न लगाएको उनका ६१ वर्षीय बुवा हरिबहादुर भण्डारीले बताए । ‘३ छोरा, ३ बुहारी छन् । उनीहरु आफ्नो तरिकाले बम्बैमा बसेका छन् । घरमा म एक्लै भएँ,’ उनले भने,‘छोरीले मुस्किलले ३ कक्षा पास गरेकी हो । घरको कामले स्कुल जान नसकेपछि अघिल्लो वर्षदेखि नै पढाइ छाडिसकिन् ।’ कमजोर आर्थिक अवस्था र घरमा अरु कोही नभएपछि बाध्यताले छोरीको पढाइ रोकिएको उनले बताए । ‘हल गोरु र एक भैंसी छ । बुवा पनि दमको बिरामी हुनुहुन्छ । बुवाले घरको काम एक्लै गर्न सक्दैन भन्नुहुन्छ । पढाउनलाई आर्थिक अवस्था पनि कमजोर छ,’ १३ वर्षीय सरिताले भनिन्,‘म स्कुल जान थालेपछि पढाउन सक्दिन भनेर बुवाले झन् धेरै चिन्ता लिन थाल्नु भयो । त्यसपछि मैले स्कुल जानै छोडी दिए ।’ आफ्नो उमेरका सबै विद्यालय जाने बेला उनी भने गोठालो जान्छिन् । अरु विद्यालयबाट घर फर्किने बेला उनी गाइवस्तु चराएर घर फर्किन्छन् । ‘पढ्न त मलाइ पनि मन छ नि । बिहानबेलुका हामी बुवाछोरीले छाक टार्न त सकेका छैनौं । कसरी पढ्नु ?,’ उनले भनिन्,‘स्कुलमा भर्ना हुने, पढ्न जान नपाउने भएपछि बरु स्कुल नै जाँदैन भनेर छोडी दिएँ ।’

घरको आर्थिक अवस्था र जिम्मेवारीको भारीले पढाइबाट वञ्चित भएका मनिसा र सरिता प्रतिनिधि पात्र मात्रै हुन् । संख्यात्मक हिसाबले सामुदायिक विद्यालयमा छात्राहरुको संख्या धेरै भए पनि उनीहरु नियमित विद्यालय जान भने पाउँदैनन् । । सामुदायिक विद्यालय पढ्ने गरिब र विपन्न वर्गका विद्यार्थीप्रति सरोकारवालाको ध्यान नगएको मंगलसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख जगत रावलले बताए । ‘आर्थिक अवस्था राम्रो भएकाले सहरका विद्यालय र निजी विद्यालयमा पढाउँछन् । निम्न र मध्यम वर्गीय परिवारले पनि छोरालाई सकिनसकी निजीमै पढाउन खोज्ने र छोरीलाई सामुदायिक विद्यालयमा भर्ना मात्रै गरिदिन्छन्,’ उनले भने,‘गरिबी त मुख्य कारण नै हो । छोरीका लागि पनि शिक्षामा लगानी गर्नुपर्छ भन्नेमा अभिभावकको दायित्व छैन । गुणस्तरीय शिक्षाका लागि अभिभावकको चासो छैन । शिक्षकले आफ्नो जिम्मेवारी पुरा गरेको देखिदैन । हेर्दा सामान्य लाग्ने तर कसैको भविष्यसँग जोडिएको विषयमा जनप्रतिनिधिको ध्यान छैन ।’ सामुदायिक विद्यालयलाई छात्राहरु भर्ना हुने थलोको रुपमा मात्र हेर्न थालिएको उनले बताए । ‘हालै आएको नतिजामा पनि धेरैजसो विद्यालयमा राम्रो स्थानमा आउने छात्र मात्रै छन् । छात्राहरुले प्रतिस्पर्धा नै गर्न नसकेको देखिन्छ,’ उनले भने,‘घरको काम सकेपछि मात्रै स्कुल जान पाउने नत्र घरको काममा नै खटिनुपर्ने बाध्यता धेरैजसो छात्राहरुलाई छ ।’

प्रकाशित : जेष्ठ ६, २०८१ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?