२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

पढ्दा किन निद्रा लाग्छ ?

हामी दैनिक क्रियाकलापमा मात्र व्यस्त भइरहँदा आफ्नै दुनियाँबारे मात्र चिन्तन गर्छौं । हामीलाई कतिपय अवस्थामा आफ्नो जीवन मात्र अस्तव्यस्त र उजाड लाग्छ । तर विभिन्न किताब अध्ययन गर्दा हाम्रो सोचाइ फराकिलो बन्दै जान्छ ।
सुनिता गाइसी

एउटा आहान छ, ‘कि पढेर जानिन्छ कि त परेर जानिन्छ’ । यीमध्ये कुनचाहिँ अवस्था राम्रो होला ? पढेर जान्दा भविष्यलाई आफूले चाहेको दिशामा लान सकिन्छ तर भोगेर वा परेर जानुन्जेल जीवनको अधिकांश समय व्यतीत भइसकेको हुन्छ ।

पढ्दा किन निद्रा लाग्छ ?

परेर जानेका मानिसहरूले अरूलाई अर्ती दिन त सक्छन्, जानेका कुरा आफैंमा लागू गरेर सक्दो प्रतिफल पाउन भने सक्दैनन् । त्यसैले पढेर जान्नु बढी महत्त्वपूर्ण हुने गर्छ । तैपनि पढाइलाई लिएर विभिन्न मानिसका फरकफरक अनुभव हुन सक्छन् ।

कतिपय मानिस ‘मलाई निद्रा लागेन भने किताब हेर्छु, त्यसपछि त निदाइहाल्छु’ भन्ने गर्छन् । कोही भनिरहेका हुन्छन्, ‘आज त साँच्चै पढ्छु भनी किताब लिई बसेको, एकैछिनमा निद्रादेवीको काखमा पो पुगेछु ।’ यसको अर्थ हो– अध्ययनका लागि धैर्य चाहिन्छ । हामी प्रायः दिनभरिको काम सकेर बेलुका आराम गर्ने हिसाबले पढ्न बस्छौं । दिनभरिको कामले थाकेको शरीरले आराम खोजिरहेको हुन्छ ।

प्रायः मानिस ओछ्यानमा बसी आराम गर्दै पढ्ने सोच्छन् तर यसरी बस्दा शरीरले आराम पाउँछ र चाँडै निद्रा लाग्छ । यही बुझेर एक विद्वान्ले भनेका छन्, ‘सुख पाउनु छ भने विद्यालाई त्याग, विद्या पाउनु छ भने सुखलाई त्याग ।’ विद्या आर्जन गर्नु सजिलो कुरा होइन, यसका लागि विशेष त्याग नै चाहिन्छ । शारीरिक काम गर्नेहरू पढ्न सजिलो मान्छन्, ‘किताब हातमा लियो, पढ्यो, के गाह्रो छ र ?’ भन्ने गर्छन् । तर, पढ्नेहरूलाई मात्र थाहा हुन्छ– पढ्न झनै गाह्रो हुन्छ । शारीरिक कार्य केही सीमित समयका लागि गरिन्छ तर मानसिक कार्यले हर समय मानिसलाई तनाव दिइरहेको हुन्छ ।

पढ्नका लागि पनि भित्री मनदेखि नै इच्छा जगाउनु जरुरी हुन्छ । पाठ्यपुस्तक पढ्दा धेरैलाई निद्रा लाग्न सक्छ, अरू पत्रिका वा कथा–उपन्यासका किताब पढ्दा भने निद्रा लाग्दैन । धेरै समयसम्म एउटै विषय पढ्न बस्दा निद्रा पनि लाग्छ, साथै पढेको कुरा पनि दिमागमा घुस्दैन । एउटै विषय पढ्न घण्टौं समय छुट्याउनु भनेको समय मात्र बर्बाद गर्नु हो । त्यसको साटो एउटा विषय पढ्दा अल्छी लागेमा एकछिन अर्को वा अर्को विषयको पुस्तक पढ्ने गर्नुपर्छ । यसो गरेमा समयको सदुपयोग हुने गर्छ, एकै समयमा विभिन्न विषयको ज्ञानसमेत प्राप्त हुन्छ ।

हाम्रो मन अत्यन्तै चञ्चल हुन्छ । यस्तो चञ्चल मनलाई नियन्त्रण गरी अध्ययनतिर लैजानुपर्छ । कुनै–कुनै समय अध्ययनको विषयवस्तु मन नपरेर पनि पढ्दा निद्रा लाग्छ । यस्तो समस्याबाट बच्नु छ भने पढ्दा मिति, नाम इत्यादि कापीमा टिप्दै पढ्नुपर्छ । पढाइलाई आफ्नो दैनिक क्रियाकलापकै एउटा अंग ठान्नुपर्छ । कुन समय पढ्ने भन्ने निश्चित गर्नुपर्छ । धेरैको बानी परीक्षाअगाडि मात्र रातरातभरि पढ्ने हुन्छ जसले गर्दा तीमध्ये कतिपय विद्यार्थी परीक्षाका बेला बिरामी पर्ने गर्छन् । त्यसैले परीक्षाको निकै अगाडिदेखि नै सबै विषय समय मिलाएर अध्ययन गर्न थाल्नुपर्छ । यसले परीक्षामा पर्ने मानसिक तनावबाट जोगाउने गर्छ ।

समय मिलाउन सके किताब पढ्दा मानसिक समस्या कम हुने हुन्छ । हामी दैनिक क्रियाकलापमा मात्र व्यस्त भइरहँदा आफ्नै दुनियाँबारे मात्र चिन्तन गर्छौं । हामीलाई कतिपय अवस्थामा आफ्नो जीवन मात्र अस्तव्यस्त र उजाड लाग्छ । तर विभिन्न किताब अध्ययन गर्दा हाम्रो सोचाइ फराकिलो बन्दै जान्छ । पढाइले मानिसलाई जीवन जिउने कला सिकाउने गर्छ । कतिपयले भनेको सुन्ने पनि गरिन्छ, ‘त्यो पुस्तक पढेपछि त मेरो सोचमा परिवर्तन आयो ।’

आधुनिकताको पछ्यौरीले ढाक्दै गएको हाम्रो समाजलाई नयाँ गतितर्फ लैजान र आफ्नो भाषासंस्कृति जोगाउन पनि अध्ययन जरुरी छ । अध्ययनले मानिसमा सकारात्मक सोचको सञ्चार गर्ने गर्छ । त्यसैले अभिभावकहरूले आफ्ना बालबालिकालाई अध्ययनतर्फ प्रेरित गर्नुपर्छ, उनीहरूका अगाडि आफू पनि कुनै किताब पढ्न बस्नुपर्छ । बालबालिका आमाबुबा वा परिवारका सदस्यहरूले गरेका कामकुराको नक्कल गर्ने हुन्छन् । आफ्ना बालबालिकाले पढेनन् भन्नुभन्दा उनीहरूका अगाडि बसेर आफूले पनि पढ्ने वातावरण बनाउनु जरुरी छ ।

पढाइको सुरुआत आफूलाई रुचि लाग्ने पुस्तकबाट गर्नुपर्छ । मन नलागी–नलागी, जबर्जस्ती पढ्न बस्नुभन्दा केही समय आफूलाई मनपर्ने काममा व्यस्त गराएर पढ्न बस्नुपर्छ । कतिपय अध्ययनशील मानिस ‘मैले त त्यो पुस्तक एकै रातमा सिध्याएँ’ भन्छन् । कतिपयचाहिँ ‘मैले पनि पढ्छु भनेको तर दुई–तीन महिना भयो, पढ्न समय नै मिलेन’ भनी बहाना बनाउने गर्छन् । पढ्नलाई चाहना, इच्छा र जाँगर हुनुपर्छ ।

अनि जहाँसुकै, जुनसुकै समयमा पनि पढ्न सकिन्छ । विदेशीहरू आफ्नो ब्यागमा किताबहरू बोकेर हिँड्ने गर्छन् । उनीहरू पहाड चढ्दाको थकाइ मार्दै पनि किताब पढ्न सुरु गर्छन् । उनीहरूको पढ्ने संस्कृति निकै राम्रो मानिन्छ । हामीचाहिँ यदि कोही यसरी पढ्न बसेमा ‘कति पढन्ते हुनुपर्ने’ भनी जिस्काउँछौं । अचेल कतिपय स्कुल–कलेजले ‘लाइब्रेरी आवर’ भनी आन्तरिक मूल्यांकनका लागि अंक नै छुट्याउने गरेका छन् जसका कारण विद्यार्थी पुस्तकालयमा बसी निश्चित समय पढ्न बाध्य हुन्छन् ।

हरेक मानिसले पढ्ने बानी बसाउनुपर्छ । विद्यार्थीले पाठ्यसामग्री र अन्यले कथा–उपन्यासका साथै समसामयिक विषयका पुस्तक पढ्ने गर्नुपर्छ । अध्ययनले जीवनमा नसोचेको सन्तुष्टि दिन्छ । अध्ययनले जीवनको हरेक समस्या सामना गर्न सिकाउँछ ।

-गाइसी समाजशास्त्रकी अध्यापक हुन् ।

प्रकाशित : पुस २५, २०८० ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?