कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भारतीय उद्धार टोली सिमलताल घुमाउने क्षेत्रमा केन्द्रित

चितवन — नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको कल्भर्ट नाघेर आएको लेदोमा बगी सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको खोजीमा भारतबाट आएको प्राविधिक टोलीले आफ्नो खोजी कार्यलाई दुर्घटनास्थलको तीन किलोमिटर क्षेत्रमा केन्द्रित गरेको छ । भारतीय टोली आइतबारदेखि खोजीमा जुटेको हो ।

भारतीय उद्धार टोली सिमलताल घुमाउने क्षेत्रमा केन्द्रित

पहिलो दिन टोलीले नेपाली सुरक्षाकर्मीहरुसँग मिलेर त्रिशूली नदीको सिमलतालदेखि केराबारीसम्म र नारायणी नदीको देवघाटदेखि काब्रेघाटसम्म खोजी गरेको थियो । सोमबार बिहान नौ बजेदेखि दिउँसो २ बजेसम्म सिमलतालदेखि घुमाउने केराबारीसम्म तीन किलोमिटर दूरीमा चार पटक खोजी गरेको थियो । त्यसपछि हिजो नै पाँच बजेदेखि साँझ डेढ घण्टासम्म सोही क्षेत्रमा दुई पटक खोजेको थियो ।

पानीभित्रका वस्तुहरूको आकार आकृति संकेत गर्ने उपकरण सोनारसहित भारतीय टोली खोजीमा खटेको छ । नदीमा मोटरबोटमा बसेर सोनारको सहयोगले टोलीले खोजी गरी रहेको छ । मोटरबोटमा रहेको ल्यापटपमा आउने संकेतहरू उनीहरूले विश्लेषण गरी रहेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सिमलताल घुमाउने क्षेत्रमा खोजी गर्दा भारतीय टोलीले केही शंकास्पद वस्तु रहेको अनुमान गरेको बताए ।

‘त्यसैले आज मंगलबार बिहान साढे आठ बजेबाट घटनास्थल सिमलताल घुमाउने केराबारी क्षेत्रमै भारतीय टोली एनडीआरएफ र हाम्रो टोलीको संयुक्त खोजी सुरु हुँदैछ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने । सिमलताल दुर्घटना भएको ११ दिन बितेको छ । असार २८ गते शुक्रबार बिहान सबेरै साढे तीन बजे तिर सिँदुरेगैरामा कल्भर्ट नाघेर आएको लेदोमा बगेर दुईवटा यात्रु बस त्रिशूलीमा खसेका थिए ।

दुईवटा बसमा ६५ जना यात्रु थिए । बस त्रिशूलीमै पुगे पनि एउटा बसका तीनजना यात्रु आफैं पौडी खेलेर बाँच्न सफल भएका थिए । त्रिशूलीमा हराएका दुई बस र अरु ६२ जना यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले खोजी सुरु गरेको थियो । खोजीमा क्रममा सिमलतालभन्दा धेरै तल नारायणी नदीको तट र त्रिवेणी गण्डक बाँध क्षेत्रबाट चार महिलाका सहित २५ शव फेला परेका छन् ।

तिमध्ये सोमबार साँझसम्म तीन महिलासहित १९ वटा शव दुर्घटनाग्रस्त बसका यात्रुको भएको पुष्टि भएर आफन्तले सनाखत गरेका छन् । बाँकी ६ वटा शवको सनाखत भएको छैन । बसमा नौ भारतीय पनि थिए । जसमध्ये पाँचजनाको शव फेला परेको छ । खोजी टोलीले दुर्घटनास्थलभन्दा १०३ किलो मिटर तल पनि शवहरू भेटाएको छ । तर गोताखोर र नेपालमा उपलब्ध प्रविधि सोनारसम्म प्रयोग गरेर खोजी गरे पनि बस भेटिएनन् ।

सरकारले आग्रह गरेबमोजिम सात दिनसम्म खोजी गर्ने भनेर भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)का १२ सदस्यीय टोली शनिबार चितवन आएर आइतबारदेखि खोजीमा जुटेको हो । उनीहरूसँग चारजना गोताखोर र तीनवटा सोनार क्यामेरा छन् । नेपाली टोलीले पनि सोनार प्रयोग गरेको थियो । भारतीयहरुको सोनार नेपालले प्रयोग गरेकोभन्दा एडभान्स र प्राविधिक अनुभवी भएका कारणले खोजीमा सफल्ता मिल्ने अपेक्षा छ । तर त्रिशूली नदीको तेज भेलले खोजी कार्य प्रभावित भएको छ ।

प्रकाशित : श्रावण ८, २०८१ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×