कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

उपसभामुखको अनधिकृत पत्रबारे विज्ञको टिप्पणी : ‘मानव तस्करी नै हो’

उपसभामुखविरुद्ध संसद्को कार्यव्यवस्था परामर्श समितिमा प्रश्न, शुक्रबारै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी 

काठमाडौँ — उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषय मानव तस्करीकै प्रकृति भएको घटनासँग मिल्दोजुल्दो रहेको सुरक्षाविज्ञले टिप्पणी गरेका छन् । अवकाश प्राप्त नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू, पूर्वप्रशासक र कानुनी मामिला जानकारहरूले उपसभामुखको पत्रमाथि छानबिनसमेत हुनुपर्ने बताएका हुन् ।

उपसभामुखको अनधिकृत पत्रबारे विज्ञको टिप्पणी : ‘मानव तस्करी नै हो’

पूर्वडीआईजी हेमन्त मल्लले उपसभामुख रानाको भनाइहरूलाई पटक–पटक हेर्दा फरक–फरक विषय बाहिर आएको बताए । ‘त्यसैले उनका भनाइहरू र गर्नै नमिल्ने पत्राचारको विवरण हेर्दा मानवतस्तरीकै प्रकृति हो । हामीले हेर्दा मानव तस्करीकै तरिका यही हो,’ उनले भने ‘यसलाई अब नेपाल प्रहरीले अनुसन्धान सुरुआत गर्नुपर्छ ।’

उपसभामुखविरुद्ध संसद्को कार्यव्यवस्था परामर्श समितिमा प्रश्न उठेको छ । शुक्रबारै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । आफूसँगै पाँच जना एक कार्यक्रममा अमेरिका जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो सारिदिन अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेकी थिइन् ।

अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भए पनि पछि ‘लेनदेन मिलेको’ भन्दै यो विषय रास्वपाले तीन महिनाअघिदेखि गुपचुप राखेको छ । संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको थियो । यो कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई आफूसँगै लग्न प्रक्रिया अघि बढाइएकी थिइन् । जबकि संसद्का पदाधिकारी, सांसद र कर्मचारीको समेत भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्र मन्त्रालयले गर्छ । तर, अनधिकृत व्यक्तिहरूको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैंले पत्र लेखेकी थिइन् ।

लैंगिक समानता, महिला अधिकार र सशक्तीकरणमा काम गर्ने अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था सीएसडब्लूको वार्षिक सत्रमा भाग लिन उपसभामुख रानाले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि आफूसँगै कार्यक्रममा सहभागी हुन जान लागेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी हुन् । तर, उपभामुखको पत्रमा दूतावास विश्वस्त नभएकाले पाँच जनाले भिसा पाएनन् ।

यसबारे उपसभामुखको चर्को अलोचना भइरहेको छ भने, रास्वपा भने मौन छ । प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले घटनाको प्रकृतिलाई हेर्दा मावन तस्करी उद्योगको अनुसन्धान गर्न सकिने प्रस्ट पारे । ‘अनुसन्धानपछि मानव तस्करीको प्रयास हो वा होइन भन्ने थाहा हुन्छ । प्रहरीले अनुसन्धान गर्छ,’ उनले भने, ‘उहाँ जस्तो व्यक्तिले यसरी पत्राचार गर्न हुन्थ्यो वा हुन्न भन्ने विषय पनि महत्त्वपूर्ण हो ।’

पूर्वगृह सचिव खेमराज रेग्मीले उपसभामुखले गरेको पत्राचारलाई गलत भन्दै यसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान हुनुपर्ने बताए । ‘यो पदीय दुरुपयोगको पराकाष्ठा हो । नियत पनि असल देखिएन । असम्बन्धित व्यक्तिहरूलाई पठाउनका लागि पत्राचार अख्तियारको दुरुपयोग हो,’ उनले भने, ‘अख्तियारको दुरुपयोग भनेको भ्रष्टाचारको विषय हो । भ्रष्टाचारमा अख्तियारले कारबाही गर्नुपर्छ । पैसा लेनदेनको कुरा पनि सुनिएको छ, पैसा नलिए पनि अनाधिकृत रूपमा मानिसहरू पठाउने र कानुनको दुरुपयोग गर्नु भ्रष्टाचारै हो ।’ यस्तै, अधिवक्ता ओमप्रकाश अर्यालले उपसभामुखको अनधिकृत पत्राचारलाई अपराध उन्मुख कार्य भएको टिप्पणी गरे । ‘त्यो अपराधको उद्योगचाहिँ हो कि होइन भन्ने कुरा अनुसन्धानमा गरे पनि थाहा हुन्छ । तर, यो अपराध उन्मुख कार्य हो,’ अर्यालले भने, ‘ अनुसन्धानपछि उपसभामुखले मानव तस्करी हुन्छ भन्ने देखियो भने यो राज्यविरुद्धकै अपराध पनि हुन सक्छ । त्यसकारण अध्ययन र अनुसन्धान गर्नुपर्ने विषय हो ।’

उपसभामुखविरुद्ध संसद्को कार्यव्यवस्था परामर्श समितिमा प्रश्न उठेको छ भने शुक्रबारै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले सभामुख देवराज घिमिरेको नेतृत्वमा रहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिएका थिए । ‘उपसभामुखले अनधिकृत व्यक्तिलाई भिसा सिफारिस गरेको सम्बन्धमा सभामुखलाई जानकारी गराउँदै यसबारेमा छलफल गर्नुपर्ने आवश्यक छ,’ खतिवडाले बैठकमा आफूले सभामुखलाई भनेको कुरा जानकारी दिँदै भने, ‘यो

संसद्को नियम र गरिमाविपरीत उपसभामुखबाट काम भएको देखियो ।’ खतिवडाले उक्त टिप्पणी गरिरहँदा उपसभामुख राना पनि समितिको बैठकमा उपस्थित थिइन् । खतिवडालाई सभामुख घिमिरेले यस विषयमा आफूले पनि बुझ्नुपर्ने भन्दै जानकारी पाएपछि बोल्ने जवाफ दिए । ‘सभामुखज्यूले यो विषय गम्भीर भएकाले कार्य व्यवस्था परामर्श समितिको अर्को बैठकमा छलफल गर्न सकिने बताउनुभयो,’ खतिवडाले भने । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसांसदलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बाँस्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका छन् ।

एमालेका प्रमुख महेश बर्तौलाले उपसभामुखको विषयमा सभामुखले बुझ्ने भनेको उल्लेख गर्दै घटनाले लज्जित पारेको टिप्पणी गरे । ‘सभामुख र उपसभामुख भनेको संसद्को मुख्य जिम्मेवार हुन् । उनीहरूमा उच्चतम नैतिकता, स्वच्छता र गरिमा हुनुपर्छ । उनीहरूले संस्थाको नेतृत्व गर्ने हो,’ उनले भने, ‘उपसभामुख कार्यक्रममा नजाने भन्ने होइन । तर सम्बन्ध नै नभएको व्यक्तिलाई आफ्नो लेटरप्याड प्रयोग गरेर पदीय मर्यादालाई घटाउने काम गरेको छ । उपसभामुखको पदीय आचारणा नभएको भन्ने कुरा उठाएको छ । सार्वजनिक प्रश्न उठाएपछि सम्बन्धित व्यक्तिले यसबारेमा प्रस्ट पार्नुपर्छ । संस्थाको गरिमामाथि हिलो छ्याप्ने काम कदापि गर्नु हुँदैन ।’

सत्तारूढ दल कांग्रेसकी ईश्वरी न्यौपाने पनि उपसभामुखले पदीय हैसियत भुलेर पत्राचार गरेको बताइन् । ‘उपसभामुखले मेरो किर्ते हो पनि भन्नुभएको छैन । उहाँले साइकल चलाएर भाइ आयो र त्यसपछि सिफारिस गरे भन्नुभएको छ । साथै, उहाँले गरिबका लागि सेवा गर्न खोज्दा पाइएन पनि भन्नुभयो । उपसभामुख पदमा बसेपछि आफ्नो लेटरप्याडमा यसरी दूतावासमा चिठी लेख्नु कसरी कति उचित हो ? उहाँ संवैधानिक परिषद्को सदस्य पनि हो,’ उनले भनिन्, ‘यस विषयमा सभामुखको पनि ध्यानाकर्ष भएको छ भने राज्य व्यवस्था समितिमा पनि उजुरी परेको छ । आइतबारबाट संसद् चल्दै छ, यो विषय कसरी उठ्छ भन्ने हेर्न बाँकी छ ।’

यस्तै, रास्वपाका प्रमुख सन्तोष परियारले उपसभामुखले अन्तर्वार्ताको मितिका लागि गर्नुभएको प्रयासलाई राजनीतिक रूपमा उचाल्न नहुने बताए । ‘अप्ठेरोमा परेका लागि सहयोग गरेको देखियो । उही कार्यक्रममा जाने भनेर सहयोग गरिएको हो । भिसा इन्टरन्भुका लागि समय पाउन गाह्रो भएको कारणले गर्दा उहाँले एउटै कार्यक्रममा जाने भएर सहजीकरण मात्र गरिएको हो,’ उनले भने, ‘यसलाई अर्कै रूपमा हेर्न मिल्दैन । तर यसलाई जति उचाल्न खोजिएको छ, त्यो ठीक होइन । एउटा घटना र परिघटनालाई लिएर यसरी उचाल्न थालियो भने हाम्रो राजनीतिक र देश सही दिशामा जाँदैन ।’

‘करुणा भावले सहयोग गर्न खोजेको हो’

उपसभामुख रानाले दूतावासमा पठाएको विवादित पत्रबारे शुक्रबार स्पष्टीकरणसहितको विज्ञप्ति गर्दै आफूविरुद्ध ‘नियोजित कदम’ चालिएको बताइन् । आफूले करूणा भावले उक्त पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि विवादित बनाउन खोजिनुको पछि नियोजित कदम रहेको उल्लेख गरेकी छन् । ‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झन्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ । मलाई नजिकबाट चिनेहरू मेरो स्वभावसँग जानकारै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ उपसभामुख रानाले भनेकी छन्, ‘आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौं लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवनमाथि लान्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु ।’ गत वर्ष २०२३ मार्चमा यूएनसीएसडब्लूको सम्मेलनसँगै समानान्तर रूपमा आयोजना भएको एनजीओसीएसडब्लू ६७ औं ‘कमिसन अन द स्टाटस अफ वुमेन’ मा आफूलगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरेको उल्लेख गर्दै उनले अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकोले आफूले पत्र लेखेको उल्लेख गरेकी छन् ।

प्रकाशित : श्रावण ५, २०८१ ०५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×