कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

५६ अर्ब अर्थात् २९ प्रतिशत विकास खर्च असारमै : झरीमा कालोपत्र, सातामै अलपत्र

सरकारले गत वर्ष ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा १ खर्ब ९१ अर्ब ७३ करोड रुपैयाँ मात्र खर्च

पाल्पा,  गुल्मी र  जुम्ला — आर्थिक वर्षको अन्तमा हतार–हतारमा गरिएका विकास निर्माणका काम साता नबित्दै भत्कन थालेका छन् । त्यसको एउटा उदाहरण असार अन्तिम साता सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डमा गरिएको कालोपत्र हो । कालोपत्र गरिएको तीन दिनमै उप्किएको छ । तिनाउ गाउँपालिका–३ दोभान बजार क्षेत्रमा सडक डिभिजन कार्यालयअन्तर्गत ठेक्का लागेको कालोपत्र रूखको बोक्रा जस्तै उप्किएको हो । 

५६ अर्ब अर्थात् २९ प्रतिशत विकास खर्च असारमै : झरीमा कालोपत्र, सातामै अलपत्र

यो सडकको निर्माण जीवन ब्रदर्स कन्स्ट्रक्सनले गरेको हो । सडक डिभिजनका कर्मचारी र निर्माण व्यवसायीको लापरबाहीले तीन दिनमै कालोपत्र उप्किएको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । ‘झरीमा कालोपत्र नगर्न आग्रह गर्दागर्दै काम भयो,’ उनले भने, ‘कर्मचारी र निर्माण व्यवसायीले हाम्रो कुरै सुनेनन् ।’

घाम लागेका महिनामा निर्माण व्यवसायीले काम नगर्ने, सम्बन्धित निकायले पनि काम गर्न दबाब नदिने र बिल भुक्तानीका लागि पानी पर्न सुरु भइसकेपछि असार अन्तिममा काम गर्दा कालोपत्र नटिक्ने समस्या भएको हो । यसै वर्ष मर्मत गरेको सिद्धार्थ राजमार्गको दोभानदेखि राम्दीसम्मका अन्य स्थानमा समेत कालोपत्र उप्किन सुरु भइसकेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा असार २८ मा झरी परिरहेका बेला कालोपत्र गरिँदै । तस्बिर : माधव अर्याल/कान्तिपुर

भालुखोला, धेरैनी, पीपलडाँडा, सीता पहाडलगायत स्थानमा मर्मत गरिएका सडकम पनि भत्किन सुरु भइसकेको छ । सिद्धार्थ राजमार्गको दोभान बजार क्षेत्रका साथै तानसेनको लामडाँडामा पानी परेका बेला कालोपत्र गरेपछि स्थानीयले विरोध जनाएका थिए । असार २५ देखि २८ सम्म पानी परेको समयमा कालोपत्र गरेपछि स्थानीयले सडक डिभिजनका कर्मचारीको लापरबाही भएको गुनासो गरेका हुन् ।

‘घाम लागेका महिना खाल्डा बनाएर राख्ने काम भयो,’ तानसेन–७ का जयबहादुर थापाले भने, ‘वर्षा लागेपछि बल्ल कालोपत्रको काम गर्दा समस्या देखिएको छ ।’ मर्मत गरिएकामा ‘सरफेस’ नमिलेको स्थानमा पानी जमेको र पानी परेपछि आत्तिएर काम गर्ने श्रमिक हिँडेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले बताए ।

कालोपत्र बिछ्याएर रोल गरिसकेको स्थानमा पानी परे पनि केही नहुने तर पानी जम्ने अवस्था आयो भने बग्ने बनाउनुपर्ने भएकाले निर्माण व्यवसायीलाई पुनः काम गर्न लगाइने सडक डिभिजनले जनाएको छ । ‘काम नै पूरा भएको छैन,’ सूचना अधिकारी गौतमले भने, ‘बिग्रेका स्थानमा पुनः काम गराउनेछौं ।’

कालोपत्र गरेको तीन दिनपछि असार ३१ मा उप्किएको पिच । तस्बिर : माधव अर्याल/कान्तिपुर

सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई समयमै काम गर्न पटक–पटक चेतावनी दिने गरेको जनाएको छ । ‘हामीले समयमै काम गर्न ताकेता पनि गरेको हो,’ सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले भने, ‘अटेरी गर्दै असार अन्तिम सातामा काम गर्दा समस्या देखिएको हो ।’

सडक डिभिजनअन्तर्गत पाल्पाकै रामपुर–बेलडाँडा–मित्याल सडकको मित्याल बजार नजिकै १ हजार ४ सय मिटर ग्राभेल पनि हालेको भोलिपल्टै बगेको छ । यसको जनप्रतिनिधिका साथै स्थानीयले विरोध जनाउँदै आएका छन् । तीन वर्षदेखि काम नगरेको चण्डी निर्माण सेवाले असारमा वर्षा सुरु भइसकेपछि ग्राभेल गरेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । निस्दी गाउँपालिकामा पनि सडक डिभिजनअन्तर्गत तीनवटा ठेक्काका काममा लापरबाही भएको स्थानीयले गुनासो गरेका छन् ।

गुल्मीमा पनि काम नसकिँदै बिग्रियो कालोपत्र

गुल्मीमा हतार–हतार कालोपत्र गरिएको तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक काम नसकिँदै भत्किएको छ । गत जेठ–असारमा कालोपत्र भएको उक्त सडकको तम्घास बजारदेखि सिस्नेखोलासम्मको साढे २ किलोमिटर खण्ड काम सम्पन्न नहुँदै भत्केको हो ।

७ करोड ५५ लाख ४२ हजार १३१ रुपैयाँ लागतमा उक्त सडक ठेक्का लागेको १० वर्षमा कालोपत्र भइरहेको हो । ठेक्का भएको लामो समयसम्म कालोपत्र हुन नसकेको यो सडक आर्थिक वर्षको अन्त्यमा वर्षाकै बीच कालोपत्र गरेपछि भत्किएको स्थानीयको आरोप छ ।

निर्माण सम्पन्न नहुँदै भत्किएको तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक ।

ठेकेदार कम्पनी लोहनी एन्ड ब्रदर्सले २०७१ असार ३१ मा ठेक्का सम्झौता गरेको उक्त सडकको कालोपत्र गरिएको खण्ड उप्केको छ भने छेउमा गाडेका ‘डेलिनेटर पोस्ट’ उखेलिएका छन् । पानी परिरहेकै समयमा पिच गरेकाले एकैदिनमा पानीले सडक बगाएको रेसुंगा नगरपालिका–६ का सूर्यबहादुर सोमैले बताए । ‘पानी परिरहेको समयमा पिच गरिरहेको थियो, उही दिन नै बगाएर लग्यो,’ उनले भने, ‘बगाएपछि फेरि पिच गर्छ होला भन्ने लागेको थियो, तर अहिलेसम्म गरिएको छैन ।’

सडकको बीच–बीचमा खाडल परेका छन् भने कालोपत्र बगेको छ । पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सच्चितानन्द चौधरीले वर्षात्को समय भएकाले कुनै ठाउँमा खाल्डाखुल्डी परेको हुन सक्ने बताए । कालोपत्र गर्दागर्दै उप्किएको सडक भने ठेकेदारले टालटुल पारेको उनको भनाइ छ । ‘उप्किएको भाग त मर्मत गरिसक्यो, बाँकी वर्षात्को पानीले केही खाल्डाखुल्डी भएको हुन सक्छ,’ उनले भने, ‘जतिसुकै राम्रो काम गरे पनि यो वर्षात्को बेला भएकाले फिनिसिङ आउँदैन ।’ तर सडकको काम चित्तबुझ्दो नलागेकाले मौसममा सुधार आएपछि फेरि मर्मत गर्ने उनको भनाइ छ । सदरमुकाम रेसुंगा नगरपालिकाभित्रकै सडक निर्माण नहुँदै भत्केपछि सडकले भुक्तानीसमेत रोकेको पूर्वाधार विकास कार्यालय प्रमुख चौधरीले बताए ।

बर्खामै गुणस्तरहीन कल्भर्ट भत्काउँदा जुम्लामा मजदुरको मृत्यु

गुणस्तर नपुगेको भन्दै गत असार २१ मा जुम्ला पातारासी गाउँपालिका–१ डलिगाड खोलामा निर्माणाधीन कल्भर्ट भत्काउँदा स्थानीय ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भयो । घाइते भएका सोही वडाका अन्य तीन जना उपचारपछि घर फर्किएका छन् ।

कर्णाली सरकारको १७ लाख रुपैयाँको ठेक्कामा एम्स बिल्डर कम्पनीले ६ मिटरको कल्भर्ट बनाइरहेको हो । कल्भर्ट भत्काउँदा मजदुर दुर्घटनामा परेपछि अहिले काम रोकिएको छ । योजनाको अन्तिम अनुगमनमा लागि पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर पदमप्रसाद देवकोटा आफैं पुगेका थिए ।

‘क्र्याक देखिएपछि नयाँ बनाउनुपर्छ भनेर हटाउने क्रममा घटना घट्यो, वर्षाले गर्दा निर्माणको काम रोकिएको छ,’ इन्जिनियर देवकोटाले भने, ‘सामग्री ठिकै प्रयोग गरेको थियो, एकैदिनमा रातारात ढलान गर्दाखेरि रडहरू (फलामे डन्डी) मिलाउन जानेनछ । डिजाइन देखाएर ढलान गर्नुस् भनेका थियौं । तर छिटोछिटो गर्ने हिसाबले प्राविधिक नबोलाएर काम अघि बढाउँदा घटना भएको हो ।’

गत आर्थिक वर्षमा एम्स विल्डरले पातारासीमा दुई पुल बनाएको थियो । दुई वटै पुलमा समस्या आएपछि भत्काएर नयाँ बनाउन लगाइएको थियो । जप्ना खोलामा बनाएको साढे ५ मिटर लामो कल्भर्ट भत्काउन लगाएको २० दिनपछि पातारासी–१ को कल्भर्ट निर्माणको अनुगमन गरिएको थियो ।

‘निर्माण व्यवसायीकै खर्चमा फेरि पिच गराउँछौं’


रामहरि पोखरेल, महानिर्देशक-सडक विभाग

हरेक वर्ष असार लागेपछि त्यसमा पनि पानी पर्दापर्दै सडक कालोपत्र किन गर्नुहुन्छ ?

पानी परिरहेका बेलामा सडक मर्मत नगर्न भनेका छौं । कालोपत्र पनि नगर्न भनेका छौं । मौसम अनुकूल भएको खण्डमा मात्र सडक मर्मत र कालोपत्र गर्न भनेका छौं । बर्खामा पुलसमेत ढलान नगर्न भनेर सम्बन्धित कार्यालयहरूमा पत्र लेखेर पठाएका छौं ।

काठमाडौंको लगनबाट टेकु निस्कने सडकमा केही दिनअघिमात्र गरिएको कालोपत्र उप्किएको अवस्थामा । तस्बिर : सफलप्रकाश श्रेष्ठ/कान्तिपुर

केहीकेही ठाउँमा यस्तो गरेको पाइएपछि ढलान नगर्न पत्र लेखेर पठाइएको हो । सबै डिभिजन सडक कार्यालय, योजना कार्यालयहरूमा यो जानकारी गराएका छौं । कतिपय निर्माण व्यवसायीले आफैं जोखिम मोलेर काम गरेको पनि हुन सक्छ । सबै तयारी गरिसकेको हुनाले नगर्न भन्दाभन्दै आफैं गर्ने गरेका छन् । त्यस्तो अवस्थामा कालोपत्र उप्किए ठेक्का लिने निर्माण व्यवसायीले फेरि आफ्नै खर्चमा बनाउनुपर्छ ।

तर तपाईंले भने पनि धेरै ठाउँमा बर्खामै कालोपत्र गरिएको छ । त्यस्तो सडक भत्किन पनि थालिसकेका छन्, नगर्न भन्दाभन्दै कालोपत्र गर्नेलाई कारबाही गर्नुहुन्छ ?

पानी परिरहँदा सडक कालोपत्र गरिए पनि त्यो टिकाउ हुँदैन । तापक्रम मिलाएर मात्र कालोपत्र गर्नुपर्छ । पानी पर्दापर्दै कालोपत्र गर्नु गलत हो । यस्तो अवस्थामा कालोपत्र गरिएको सडक उप्किए फेरि निर्माण व्यवसायीकै खर्चमा पिच गर्न लगाइन्छ । जरिवाना गराएर भए पनि फेरि काम गराइन्छ । यदि काम नगरे ठेक्का तोडेर अघि बढिन्छ । अहिलेसम्म कतैबाट पनि कालोपत्र उप्किएको खबर सडक विभागमा आइसकेको छैन ।

बर्खामै सडक कालोपत्र गर्ने प्रणालीमा कहिले सुधार हुन्छ ?

भुक्तानी प्रणाली परिवर्तन नभएसम्म यस्ता समस्या आइरहन्छन् । तालिका बनाएर काम हुनासाथ भुक्तानी दिन सकिए धेरै समस्या हल हुने थियो । काम गरेअनुसार हामीले भुक्तानी दिन सकिरहेका छैनौं ।

अन्तिम समयमा भुक्तानी लिनका लागि पनि बर्खामा काम गर्ने गरिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । सञ्चारमाध्यममा बर्खामा कालोपत्र गरिएका, कालोपत्र उप्किएका, पानी पर्दापर्दै पक्की पुल ढलान गरिएका समाचार आउँदा विभागले तुरुन्त एक्सन लिने गरेको छ ।

प्रकाशित : श्रावण ३, २०८१ ०५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×