कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पहिरोमा एकै परिवारका ७ जना

दीपक परियार

पोखरा — दिनभरि बिहेमा बाजा बजाएर बिहीबार राति घर फर्किएपछि ४६ वर्षीय कुलबहादुर परियार माइती आएका छोरीज्वाइँसँग गफिँदै थिए । पोखरा महानगरपालिका–१९ तल्लाकोट ठाँटीमा ढुंगा र माटोको कच्ची घर पछाडि सानो पहिरो थुप्रिएको थियो । पानीको मूल पलाएको थियो । त्यही पहिरो सफा गर्ने ज्वाइँससुराको योजना पूरा हुन पाएन । राति १० बजे आएको पहिरोले कुलबहादुरसहित एकै परिवारका ७ जनालाई पुर्‍यो ।

पहिरोमा एकै परिवारका ७ जना

उनकी पत्नी ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्ष्मी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र प्रभाका श्रीमान् २५ वर्षीय अस्मित परियार घरभित्रै पुरिए । पहिरोको आवाज सुनेर बाहिर निस्किएकी उनको भन्दा तल्लो घरमा बस्ने भाउजू ५६ वर्षीया राधिका परियारको लडेर ज्यान गयो । कुलबहादुरका छोरा १७ वर्षीय पवन परियारको भने सकुशल उद्धार भयो । सामान्य घाइते भएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि शुक्रबार ‘डिस्चार्ज’ गरिएको छ ।

कुलबहादुरको टिनले छाएको दुई कोठे कच्ची घरसँगै जोडिएको छ, दाइ सुवर्ण र भाउजू कोपिला परियारको घर । तलपट्टि अर्का दाइभाउजू भोजबहादुर र राधिकाको घर छ । लगातारको वर्षाले बुधबार नै उनको घरमाथिको मकैबारीबाट सानो ढिस्को खसेर करेसासम्म आइपुगेको थियो । त्यही पहिरो सोहोर्न पोखराबाट छोरी प्रभा र ज्वाइँ अस्मित आएका थिए । आफ्नै सासू र देवरको परिवारलाई आँखै अगाडि गुमाएकी कोपिलालाई बिहीबार रातिको एक–एक दृश्य सम्झना छ । उनलाई भेट्न पुग्नेलाई भक्कानिँदै सुनाउँछिन् ।

बिहीबार दिउँसो ४ बजेबाटै घनघोर पानी पर्न थालेपछि भोलिपल्ट पहिरो सफा गर्ने सल्लाह भएको थियो । राति ९ बजेतिर ज्वाइँ अस्मित उनीसँग छाता माग्न आइपुगे । घर माथिबाट पहिरो आउँछ कि आउँदैन भनेर हेरेर फर्किए । ‘ज्वाइँले पहिरो आउँदैन, आयो भने माथिकै गह्रामा थुपुक्क बस्छ, भगवान्ले हामीलाई रक्षा गर्नुहुन्छ भन्नुभएको थियो,’ कोपिलाले भनिन्, ‘मैले रातभर सुत्नुहुन्न, चनाखो हुनुपर्छ, ढोका खोलेर सुत्यो भने पहिरो आइहाल्यो भने पनि दगुर्न सजिलो हुन्छ भनेकी थिएँ ।’ त्यस्तो पहिरो आएर घर नै पुर्ला भन्ने अनुमान आफूहरूले नगरेको उनले सुनाइन् ।

पहिरो आउनुभन्दा १० मिनेट अगाडि मात्र उनी देवरको घरबाट आफ्नो घरमा आएकी थिइन् । रात छिप्पिँदै जाँदा पानी झन्झन् दर्कंदै थियो । उनका श्रीमान् सुवर्ण कोठाभित्र थिए । उनी पिँढीमा बसेर मोबाइल चलाइरहेकी थिइन् । एक्कासि गुडुडुडुडु आवाज आयो । जमिन थर्कियो । भुइँचालो पो आयो कि भनेर बाहिर निस्कँदा पहिरोले देवरको घर पुरिरहेको थियो । देवरको घरसँग जोडिएको पट्टि उनको घरको भित्तामा पुतुतुत्त धूवाँ छुटेर आयो । उनका श्रीमान् सुवर्ण ‘कान्छा कान्छा’ भन्दै भाइलाई बचाउन निस्कँदा निस्कँदै पुरिसकेको थियो ।

उनले हारगुहार मागिन् । राधिकाका छोरा कुमार तल्लो घरबाट आए । काका कुलबहादुरका छोरा पवनलाई आधा पुरिएको अवस्थामा भेटे । पहिरोलाई पन्छाएर बाहिर निकाले । तत्कालै स्थानीय जम्मा भए । नजिकै रहेका वडा सदस्य विकास आचार्यले सुरक्षा निकायलाई सम्पर्क गरे । एक्स्काभेटर अपरेटर किशोर गौतमलाई बोलाए । नजिकै रहेका गौतम एक्स्काभेटर लिएर आए । उनी आउँदा घरको नामोनिसान थिएन । उनले माटो पन्छाएर घरको गारो देखिने बनाए । त्यतिञ्जेल सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीको टोली पनि आइपुग्यो । परिवारका ५ जना एकापट्टि र कुलबहादुरकी आमाको शव अर्कोपट्टि भेटियो । ‘उहाँहरू एकै ठाउँमा बसेर कुराकानी गरिरहनुभएको हुनुपर्छ । हजुरआमा ट्वाइलेट गएपछि भाइ (पवन) ले ढोका लगाउन जाने बेलामा पहिरो आएछ,’ कुमारले भने, ‘अरूलाई पुर्‍यो, भाइलाई हुत्याएर बाहिर ल्यायो ।’

कोपिला र उनका श्रीमान् बिहीबार सधैं सुत्ने कोठामा नसुतेर अर्को कोठामा सुतेका थिए । पहिरो आइहाल्यो भने भाग्नुपर्छ भनेर भित्र, बाहिर बत्ती बालेर राखेका थिए । ‘म पनि यो कोठामा भएको भए मेरो पनि मृत्यु हुने रहेछ,’ पहिरो पसेको कोठा देखाउँदै उनले भनिन्, ‘सासू, देवर देवरानी, लाउलाउ र खाउखाउ भन्ने उमेरका छोराछोरी, ज्वाइँलाई त्यस्तो हुँदा म बाँचेको सार भएन, बाँचेर पनि खुसी छैनौं ।’ उनको देवरको परिवारमा अब छोरा पवन र जेठी छोरी मुना मात्रै छन् । मुना अध्ययनको सिलसिलामा जापानमा छिन् । स्याङ्जा अर्जुनचौपारीका अस्मित श्रीमतीसहित पोखराको नदीपुरमा बस्न थालेको १०–१२ दिन मात्र भएको थयो । उनी किराना पसलमा काम गर्थे । प्रभाले मन्टेसरीमा पढाउन थालेकी थिइन् । स्थानीयले कुलबहादुरको परिवारलाई बुधबारदेखि नै त्यहाँ नबस्न भनेका थिए । अर्काको घरमा जान अप्ठेरो लागेको र त्यस्तो किसिमको पहिरो आउला भन्ने नलागेकाले घरमै बसेको कोपिला बताउँछिन् ।

घरपछाडिबाट पानी रसाएको देखेपछि वडा सदस्य विकास आचार्य र आफूले समेत कुलबहादुरलाई त्यहाँ बस्नु खतरा हुने बताएको स्थानीय मीनराज ढुंगानाले बताए । ‘घर भएको ठाउँसम्म भूभाग भएकाले केही हुँदैन भन्ने मनस्थिति भएछ,’ उनले भने, ‘यसरी पहिला पहिरो नआएकाले पनि केही नहोला भन्ने सोच आएको हुनुपर्छ । तर ठूलो पहिरो आउनेपूर्व संकेत सानो पहिरो थियो ।’

कुलबहादुरको घरको आडैमा मानबहादुर लामिछाने क्षेत्रीको दुई तले पक्की ढलान घर छ । उनको घरभित्र ढोका फोरेर डहरमा पहिरो पसेपनि अन्य भौतिक र मानवीय क्षति पुगेको छैन । बिहीबार राति बाहिर केही भइहाले थाहा पाउन सजिलो होला भनेर उनले बत्ती जोड्दै थिए । उनले हेर्दाहेर्दा पहिरो खसेर कुलबहादुरको घर पुर्दै आफ्नै घरतिर सोझिएको देखे । ‘ढलान घर भएकाले बाँच्न सक्यौं, ढुंगा माटोको कच्ची घर भएको भए हामीलाई पनि पहिरोले लैजान्थ्यो,’ उनले भने । पहिरो आएपछि उनले घरभित्रको सामान आफन्तकोमा सारेका छन् । शुक्रबार पहिरोमा पुरिएर कास्कीकै अन्य दुई स्थानमा थप ४ जनाको निधन भएको छ । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको निधन भएको हो । मादी गाउँपालिका–११ तल्लो साप्लेमा पहिरोमा पुरिएर एक जना बेपत्ता छिन् । स्थानीय आरती ओझाको घर पहिरोले पुरिँदा उनकी छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भतिज ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । रूपा गाउँपालिकाका सुवेदी बिदाको समयमा फुपूको घरमा आएका थिए । ४० वर्षीया आरतीको ढाडमा चोट लागेको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बिहीबार राति १ बजे मादी गाउँपालिका–११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया मैतीकुमारी गुरुङको निधन भएको छ । उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, कास्कीको तथ्यांकअनुसार यो मनसुनमा मात्रै बाढीका ४, पहिरोका २४, डुबानका ६ र कटानका ३ घटना भएका छन् । यी विपद्मा १३ जनाले ज्यान गुमाएका छन् । ६ जना घाइते भएका छन् । ६ वटा घरमा पूर्ण र १० घरमा आंशिक क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट ३ मृतकका परिवारलाई २ लाखका दरले ६ लाख र अन्य विपद् प्रभावितलाई १ लाख ५ हजार रुपैयाँ प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन कोषमा १७ लाख ७१ हजार २५० र प्रदेश सरकारतर्फ १० हजार ८० हजार रुपैयाँ मौज्दात छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विपद् प्रभावित व्यक्तिको राहत र उद्धारमा कुनै कसर बाँकी नराखेको बताए ।

प्रकाशित : असार २९, २०८१ ०५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×